नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुँदै – Nepal Press

नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुँदै

काठमाडौं । काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेज परिवार नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्ने भएको छ ।

दशैंको टीकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदानप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ ।

त्यसै गरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।

नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानुपर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।

भियतनाम भ्रमणका लागि कम्पनीले सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिक अप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमाइनेछ ।

पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ ।

भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइनेछ ।

कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भए पनि एकै पटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइनेछ । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *