अपर तामाकोशीले घटायो नोक्सानी, विद्युत् बिक्री गरेर कमायो पौने ९ अर्ब
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले खुद नोक्सानी घटाएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अपर तामाकोशी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा छ । जबकि अघिल्लो वर्ष (२०७९/८०) यसै अवधिमा तामाकोशीले ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
आयोजना निर्माण सम्पन्नको अवधि बढ्दै गएपछि आयोजनाको लागत पनि बढेको छ । यसको असर खुद नाफामा परेको छ । खुद नाफामा अझै केही आर्थिक वर्षसम्म असर रहिरहने कम्पनीले जनाएको छ ।
विद्युत् बिक्रीबाट तामाकोशीले ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ कमाएको छ । तामाकोशीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेको हो ।
यसको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । हालसम्म यसको लङ ट्रम लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ भन्दा धेरै छ । यसको सेयर मूल्य प्रतिकित्ता २५४.९० रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।