एकै दिन ७ फरार प्रतिवादी पक्राउ
डोटी । प्रहरीले सुदूरपश्चिमका विभिन्न स्थानबाट एकै दिन सात जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारी अनुसार सोमबार कैलालीबाट एक र डडेल्धुराबाट ६ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीले चोरी मुद्दामा तीन महिना १९ दिन कैद र ११ हजार पाँच सय रुपैयाँ जरिवाना तोकेका धनगढी उपमहानगरपालिका-५ का २६ वर्षीय हृदय शाही रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अभद्र व्यवहार मुद्दामा दोषी ठहर गरेका डडेल्धुरा, अमरगढी नगरपालिका–५ का ४२ वर्षीय तीर्थ भण्डारी पक्राउ गरेका छन् । निजलाई तीन दिन कैद र १० हजार जरिवाना तोकिएको थियो ।
यस्तै, जुवा मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएका डडेल्धुरा, अमरगढी नगरपालिका-२ का ४१ वर्षीय तेज बहादुर ऐर, अमरगढी-१ का ३९ वर्षीय पूर्ण दमाई र डडेल्धुराकै पर्शुराम नगरपालिका-१२ का ३५ वर्षीय नरेन्द्र बहादुर थापा पनि सोमवारै पक्राउ परेका छन् ।
जुवा मुद्दामै तीन हजार जरिवाना तोकिएका पर्शुराम नगरपालिका-४ का ४४ वर्षीय टेक बहादुर बोहरा र पाँच हजार जरिवाना तोकिएका दाङ जिल्ला, तुल्सीपुर उपमहानगरपालिका-७ का ४० वर्षीय रोमहर्ष भण्डारी रहेका छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।