नारायणगढमा भेटिएको बाघको पाटा गणनामा क्यामेरा ट्रयापिङमा परेकासँग मिलेन – Nepal Press

नारायणगढमा भेटिएको बाघको पाटा गणनामा क्यामेरा ट्रयापिङमा परेकासँग मिलेन

चितवन । चितवनको नारायणगढमा गत साउन २० गते निस्किएको पाटेबाघ बाघ गणनाका क्रममा क्यामेरा ट्रयापिङमा नपरेको बाघ भएको खुलेको छ ।

चितवनको नारायणगढको नारायणी नदी किनारमा बिहान झिसमिसेमा नै मर्निङ वाकमा निस्किएका स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको बाघको रेकर्ड अनुगमन गर्न चितवन राष्ट्रिय निकुञ्जले बाघको पहिचान खोजेको थियो ।

बाघ गणनाका क्रममा निकुञ्ज र यस आसपासका जंगलमा क्यामेरा राखी बाघको पाटाको आधारमा गणना गर्ने गरिन्छ । सोही आधारमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेको तथ्य निकालिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नारायणगढमा साउन २० मा भेटिएको बाघको पाटा क्यामेराको रेकर्डमा नभेटिएको हो।

उनका अनुसार बाघ गणनाको रेकर्ड राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा सुरक्षित रहेको छ । त्यही रेकर्ड हेर्दा नारायणगढमा १६ घण्टासम्म बस्तीबीचमा हरेको रेकर्ड भने नभेटिएको हो ।

बाघ पत्ता लगाउन उसको शरीरको पाटा मिले नमिलेको हेरिन्छ । उनले भने, ‘हाम्रो रेकर्डमा भएको बाघको पाटासँग नारायणगढमा भेटिएको बाघको पाटा मिलेन ।’

उक्त भाले बाघ ५ वर्ष उमेरको रहेको र स्वस्थ रहेको जाँच पछि नारायणगढबाट डार्ट गरेर नियन्त्रणमा लिएको भोलिपल्ट नै निकुञ्जको कोर क्षेत्रमा छोडिएको थियो ।

रेकर्डमा नभेटिए पनि उक्त बाघ गणनामा भने परेको तिवारीले बताए । उनका अनुसार बाघको संख्या गणनामा क्यामरा रेकर्डमा परेका र त्यसको केही प्रतिशत छुट्न सक्ने वैज्ञानिक आधारमा संख्या निर्धारण गरिन्छ ।

सन् २०२२ को बाघ गणनामा चितवनका जंगलका १ सय १५ वटा मात्रै बाघ क्यामरा ट्रयापिङमा परेका थिए । भने देशभर ३ सय ५५ बाघ रहेको तथ्याङ्क निकालिएकोमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका जंगलमा रहेको तथ्याङ्क प्राप्त भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर