नेकपा एसका पदाधिकारीमा पुरानै हावी, वरिष्ठ उपाध्यक्षमा ज्येष्ठ कम्युनिष्टको दाबी – Nepal Press

नेकपा एसका पदाधिकारीमा पुरानै हावी, वरिष्ठ उपाध्यक्षमा ज्येष्ठ कम्युनिष्टको दाबी

काठमाडौं । महाधिवेशन सकिएको एक महिनाभन्दा बढी भइसक्दा पनि नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न सकेको छैन । पदाधिकारी टुंगो लगाउन पटकपटक शीर्ष नेताबीच छलफल चल्यो, तर कुरा मिलेको छैन ।

असार १६ देखि २० सम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न १०औं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्वाचित गर्दै ९३ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गरेको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने अख्तियारी सोही कमिटीलाई दिने प्रस्ताव महाधिवेशनको हलबाट पारित भएको थियो ।

महाधिवेशन सम्पन्न भएको एक महिनापछि ३४४ सदस्यीय केन्द्रीय कमिटी त घोषणा गरियो, तर केन्द्रीय पदाधिकारी, सल्लाहकार, आयोग, विभाग र विभिन्न तहका इञ्चार्जको टुंगो लाग्न सकेको छैन ।

‘व्यापक र गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्ने भएकाले पदाधिकारी टुंगो नलगाइएको हो’, महासचिव घनश्याम भुसाल भन्छन्, ‘पदाधिकारी टुंगो लाग्दा अरुले पनि आहा भन्नेखालको होस् भनेर हामीले हतार नगरेको ।’

उनका अनुसार अब बस्ने केन्द्रीय कमिटीको बैठकले पारित गर्ने गरी पदाधिकारीको नामावली तयार हुँदैछ । त्यसअघि पदाधिकारीका आकांक्षीबीचमै छलफल चलिरहेको छ, तर पदाधिकारी टुंगो लगाउने कुरामा विलम्ब हुनुका पछाडि केन्द्रीय सदस्य चयनमा भएको विवाद मुख्य कारण हो । शम्भु श्रेष्ठ, कुसुम कार्की, नागेन्द्र यादवलगायत केन्द्रीय सदस्यहरु यस पटक गुटको कोटामा परेनन् । तीमध्ये यादव एमालेमा प्रवेश गरिसकेका छन् भने कार्कीले नेकपा एस परित्याग गरेका छन् ।

केन्द्रीय सदस्यको लिस्ट माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले तयार पारेपछि काटकुट पार्ने क्रममा साविकका केन्द्रीय सदस्यहरुसमेत छुटे भने वडा कमिटी हैसियतकाहरु गुटका कारण केन्द्रीय सदस्य बने ।

‘भौगोलिक आवश्यकता, कार्यक्षमता र योग्यतालाई मापदण्ड बनाइनुपर्ने थियो’, पार्टीका नेता ताज मियाँ भन्छन्, ‘नेताहरु व्यक्ति छान्ने होडबाजीमा लाग्दा भद्रगोल भयो ।’

केन्द्रीय सदस्य चयनको विषयलाई लिएर उत्पन्न भएको व्यापक असन्तुष्टिलाई हल गरेरमात्रै बाँकी काम अगाडि बढाउनुपर्ने कारण पदाधिकारी टुंगो लाग्न अझै समय लाग्ने उनको भनाइ छ ।

‘अब नेताले खल्तीको नाम ल्याएर कोही पनि पदाधिकारी हुँदैनन्’, मियाँ भन्छन्, ‘केन्द्रीय कमिटीको बैठकमा व्यापक छलफल गरेर, उस्तै परे मतदानमै गएर पदाधिकारीको टुंगो लाग्छ ।’

पदाधिकारी टुंगो लागेपछि मात्रै सल्लाहकार, आयोग, विभाग र इञ्चार्जहरु तोकिने महासचिव भुसालको भनाइ छ । यसअघि विभागका नयाँ प्रमुख र इञ्चार्जहरु नतोकिँदासम्मका लागि अघिल्लो केन्द्रीय कमिटीले दिएको जिम्मेवारी नै यथावत रहने अन्तरपार्टी निर्देशन (अपानि) जारी भइसकेको छ ।

पदाधिकारीमा हानाथाप

महाधिवेशनले पारित गरेको विधानमा २१ पदाधिकारीको व्यवस्था छ, तर सयभन्दा बढी आकांक्षी हुँदा टुंगो लगाउन अप्ठेरो भएको एक नेता बताउँछन् ।

टुंगो लाग्न बाँकी पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव हुन् । यसबाहेक विधानमा आवश्यकताअनुसार वरिष्ठ नेता तोक्न सकिने भनिएको छ । उक्त पदको संख्या तोकिएको छैन ।

वामदेव गौतम, भीम रावल वा त्यो तहका नेताले पार्टी प्रवेश गरेमा उनीहरुको व्यवस्थापनका निम्ति उक्त पद राखिएको हो । सम्भवतः वामदेव सो पदमा चाँडै नै मनोनीत हुनेगरी नेकपा एसमा सामेल हुनेछन् ।

वरिष्ठ उपाध्यक्षका निम्ति राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । यदि महाधिवेशनमा मतदान भएको भए उक्त पदमा पाण्डेले सहजै जीत हासिल गर्ने अवस्था थियो ।

अध्यक्षमा माधव नेपाल र घनश्याम भुसाल मैदानमा हुँदा वरिष्ठ उपाध्यक्षका दुबै दावेदार माधव पक्षका थिए । अहिले अध्यक्ष नेपाललाई मिलाउन सबभन्दा जटिल भएको विषय नै वरिष्ठ उपाध्यक्षमा हो ।

वरिष्ठ उपाध्यक्षका निम्ति पाण्डे र भुसालबीच चलिरहेको रस्साकस्सीका बीचमा अर्का दावेदार देखिएका छन्, ललित बस्नेत । उनले पहिला ज्येष्ठ कम्युनिष्ट मञ्चमा बसेर काम गर्ने रुचि देखाएका थिए, तर महाधिवेशन हलबाटै पारित गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा नाम परेपछि अहिले वरिष्ठ उपाध्यक्षको दाबी गर्ने अवस्थामा पुगे ।

६ उपाध्यक्षका लागि १० भन्दा बढीको दाबी छ । त्यसमध्ये महाधिवेशन चलिरहेकै अवस्थामा अघिल्लो कमिटीमा सचिव रहेकी रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाइने चर्चा नेताबीच चलेको थियो, तर रामकुमारी उपाध्यक्ष हुँदा अखिल पृष्ठभूमिबाट आएका, रामकुमारीभन्दा सिनियर तत्कालीन सचिव राजेन्द्र राईलाई कुन पदमा व्यवस्थापन गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो ।

उपाध्यक्षका निम्ति घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताको दाबी छ ।

अघिल्लो कमिटीका उपमहासचिव ज्वाला र तुलाधर उपाध्यक्ष भएमा उक्त पदका निम्ति दुई नयाँ अनुहारको व्यवस्थापन हुने अवस्था छ । अघिल्लो कमिटीका सचिवहरु जीवनराम श्रेष्ठ, राजेन्द्र राई, नागेन्द्र चौधरीमध्येबाट उपमहासचिव हुने अवस्था रहन्छ । महासचिवमा दाबी गरेका जगन्नाथ खतिवडा उपमहासचिवमै दोहोरिने सम्भावना छ ।

व्यक्ति चयनमा वरिष्ठ उपाध्यक्षपछि सबभन्दा जटिल बनेको विषय हो, सचिवको । ७ सचिवका निम्ति ५० भन्दा बढी दावेदार छन् । त्यसमध्ये विद्यार्थी नेता सुदेश पराजुलीदेखि सुनसरीका पुराना नेता धर्मराज निरौलासम्म छन् । सचिवको दाबी गर्नेमा मोरङका महेश रेग्मी, सुनसरीका केशव विष्ट, धनुषाका श्रीप्रसाद साह, हेटौंडाकी मेयर मीना लामा, पोखराका मेयर धनराज आचार्य, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी, दिलकुमारी पन्त (दिलु), मदनकुमारी शाह (गरिमा) सहितका छन् ।

अन्य पदको व्यवस्थापन सहज भए पनि वरिष्ठ उपाध्यक्ष र सचिव पदका निम्ति केन्द्रीय कमिटीको बैठकमा मतदान हुने सम्भावना रहेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर