‘एचक्यूमा प्रभाकरको बमबार्ड’: प्रचण्डलाई चुनौती दिएका आलोक मारिए, को-को पाखा पारिए ?
काठमाडौं । जनयुद्धकालमा माओवादीका कार्यकर्ता ‘एचक्यू’ को निर्णय पर्खिन्थे । हेडक्वार्टरलाई छोटकरीमा माओवादीहरुले ‘एचक्यू’ भन्ने गर्थे । एरिया कमिटी सदस्यलाई एसीएम र जिल्ला कमिटी सदस्यलाई डीसीएम भने जस्तै ‘एचक्यू’ भूमिगतकालीन माओवादीको माथिल्लो निकाय थियो ।
त्यही जनयुद्धकालीन ‘एचक्यू’मा विघटित माओवादी जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमाण्डरले यस पटक ‘बमबार्ड’ गरेका छन् । माओकालमा बमबार्ड दि हेडक्वार्टर भन्ने कम्युनिष्ट शब्दलाई प्रचण्डका डेपुटी कमाण्डरले स्थायी कमिटी बैठकमा लिखित दस्तावेजमार्फत अभिव्यक्त गरेका छन् ।
माओवादी आन्दोलनको इतिहास हेर्दा प्रचण्डको विपक्षमा उभिने वा विपरीत विचार एचक्यूमा लैजानेहरुले कि उनीसँग आत्मसमर्पण गरेका छन् कि त पार्टीको मूलधारबाट अलग पारिएका छन् । अपवादमा एकाधको त ज्यान पनि गएको छ ।
३७ वर्षदेखि निरन्तर नेतृत्व
२०४४ सालमा तत्कालीन नेकपा मशालका महामन्त्री मोहन वैद्यले आफूसहितका नेताहरुको जिम्मेवारी घटुवा गरेर पुष्पकमल दाहाल प्रचण्डलाई शक्तिशाली महामन्त्री बनाए ।
वैद्यले महामन्त्री बनाएदेखि प्रचण्ड नेकपा एकता केन्द्र, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रसम्म आइपुग्दा निरन्तर नेतृत्वमा छन् । पार्टीमा सधैं उनको एकलौटी चल्दै आएको छ ।
माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टी निरन्तर ओरालो यात्रामा लागे पनि सधैं शक्तिमा रहिरहे । माओवादी जति कमजोर बन्दै गए पनि पार्टीभित्र प्रचण्ड भने झनै बलियो बनिरहेका छन् ।
अहिले माओवादी ९ वर्षपछि प्रतिपक्ष कित्तामा आइपुगेको छ । पार्टी नेतृत्व सत्ता केन्द्रित हुँदा पार्टीको जनाधार कमजोर भएपछि प्रचण्डले नेताहरुको कुरा सुनेर पुरानै वर्ग (जनतातिर) फर्किने कार्यक्रमबारे छलफल चलाइरहेका छन् ।
पाँच दिनसम्म भएको पदाधिकारी बैठकपछि बसेको स्थायी कमिटीको बैठकमा प्रचण्डले चर्को आलोचना भोग्न परिरहेको छ । बैठक अहिले पनि जारी छ ।
सत्ताको वरिपरि हुँदा प्रचण्डसँग बोल्न आनाकानी गर्ने नेताहरुले नै अहिले प्रचण्डको विकल्प खोजेर माओवादीलाई नयाँ आधार दिनुपर्ने आवाज पठाइरहेका छन् ।
को को कहाँ उभिए ?
बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई अहिलेसम्म पार्टीको ओरालो यात्रालाई ख्याल गरेर नेतृत्व छाड्नुपर्ने प्रस्ताव अघि सारेपछि माओवादी वृत्त तरंगित छ ।
शर्माको लिखित प्रस्तावमा प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न दबाब बढाएका छन् । निरन्तर माओवादीको नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको जनार्दनको जिकिर छ ।
पूर्वसभामुख ओनसरी घर्ती पनि जनार्दनलाई समर्थन जनाउँदै विधि र पद्धतिको कुरा गर्नेलाई पार्टी विभाजनको आरोप लगाएको भन्दै खरो रुपमा उत्रिइन् । घर्ती उपमहासचिव वर्षमान पुनकी पत्नी हुन् ।
त्यसो त जनार्दनकै प्रस्तावलाई बल पुग्नेगरी अर्का उपमहासचिव पुनले पनि आफ्नो धारणा राखेका छन् । उनले अहिले तत्कालै प्रचण्डको विकल्प खोज्ने अवस्था नरहेको भन्दै कार्यकाल तोक्नुपर्ने बताए ।
‘अध्यक्षले जनयुद्धपूर्वदेखि अहिलेसम्म पार्टीको नेतृत्व गर्नुभएको छ । अहिले नै विकल्प खोज्ने बेला त आएको छैन, तर अब सोच्नुपर्छ’, पुनको भनाइ थियो ।
आठौं महाधिवेशनमा महासचिवको टक्करमा लागेका शर्मा र पुनको अहिले एउटै लाइनमा धारणा आएपछि प्रचण्डलाई दबाब परेको छ । शर्मा र पुनबीच कुरा नमिलेपछि प्रचण्डले महासचिवमा देव गुरुङलाई ल्याएका थिए, तर प्रचण्डले शर्मा र पुनबीच खेलेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउनेगरी छलफल चलाएपछि सशंकित भएर उनीहरु एकै ठाउँमा आइपुगेको बताइन्छ ।
एक पदाधिकारी भन्छन्, ‘जनार्दनजीको प्रस्तावमा धेरैले समर्थन जनाए जस्तो देखिन्छ, तर बोल्न सक्नुभएको छैन । त्यसैले नेतृत्व परिवर्तनकै लागि भए पनि महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभएको छ ।’
उनले माओवादी कस्तो बनाउने भन्ने प्रचण्डको अबको रणनीतिले तय गर्ने सुनाए ।
प्रचण्डलाई चुनौती दिने पाखा पारिए
विगतदेखि नै पार्टी नेतृत्वमा हुँदा आफूविरुद्ध प्रस्ताव ल्याउनेहरुलाई प्रचण्डले पाखा लगाएको इतिहास छ । अब त्यसको भूमरीमा उपमहासचिव शर्मा पनि थपिनसक्ने चर्चा छ ।
त्यसको उदाहारण हो, आलोक (यानप्रसाद गौतम) । प्रचण्डको उत्तराधिकारी आफैंलाई घोषणा गरेर पूर्वी कमाण्डमा एकलौटी गर्न थालेपछि कारबाही गरेर उनलाई श्रम शिविरमा पठाइएको थियो ।
त्यसबेला माओवादीले कारबाही गर्दा नेताहरुलाई श्रम शिविर पठाइन्थ्यो । श्रम शिविरमा रहेको बेला सेनासँगको गाम भिडन्तमा उनी मारिएका थिए । उनी काभ्रेको चौरीदेउराली- ५ का हुन् ।
प्रचण्डलाई जनयुद्धमा साथ दिएका धेरै नेता माओवादी छाडेर अलग बाटोमा हिँडिरहेका छन् । अहिले पनि सत्ताबाट बाहिरिएर एक्लिँदै गएपछि प्रचण्डले पूर्वमाओवादीदेखि बृृहत वामपन्थी एकताको प्रयास गरिरहेका छन्, तर त्यो प्रचण्डको प्रयास सफल हुने सम्भावना न्यून छ ।
प्रचण्डको विपक्षमा युद्धकालदेखि नै फरक मत राख्ने मोहन वैद्य, सीपी गजुरेल पनि अहिले बाहिर छन् । वैद्य क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा छन् भने गजुरेल महासचिव ।
उनीहरु युद्धकालमा भारतको जेलमा परेका थिए र त्यसमा पार्टी एचक्यूको हात रहेको आरोपसमेत लगाइएको थियो । पार्टीकै षड्यन्त्रमा आफूहरु भारतमा पक्राउ परेपछि उनीहरुले धोबीघाट र पालुङटार बैठकमा फरक मत राख्दै पार्टी विभाजन गरेका थिए । त्यसबेलामा रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लव पनि वैद्य र गजुरेलसँगै छुट्टिएका थिए ।
वैद्यबाट विभाजित प्रचण्डकै लाइनमा आएका रामबहादुर थापा बादल अहिले एमालेमा छन् । विप्लव समूहले नेपाल कम्युनिष्ट पार्टी खोलेको छ । विप्लव अहिले फेरि प्रचण्डसँग एकता गर्न संवादमा छन्, तर विप्लवको माओवादीमा व्यवस्थापनको चुनौतीकै कारणले प्रचण्डसँगको मिलन सहज छैन ।
अर्का हुन् रवीन्द्र श्रेष्ठ, जनयुद्धमा होमिएका श्रेष्ठले चुनवाङ बैठकपछि माओवादी छाडेका थिए । उनले आफ्नो प्रस्तावविपरीत पार्टीले राजतन्त्रविरुद्ध राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय परेपछि प्रचण्डले पाखा लगाएका थिए । उनीसँगै माओवादीबाट पाखा लगाइनेमा पर्छन् मणि थापा ।
श्रेष्ठ र थापाले युद्धविरामको विरोध गर्दै पार्टीबाट विद्रोह गरे प्रचण्डसँग असहमति राखेपछि कारबाहीमा परे । थापा वैद्य नेतृत्वको पार्टीमा गए पनि त्यहाँ टिक्न नसकेर २०७४ सालको निर्वाचन अघि माओवादीमै फर्किए, तर माओवादीले एमालेसँग एकता गरेर बनेको तत्कालीन नेकपा भंग हुँदा थापाले एमाले नै रोजेका थिए । यद्यपि अहिले एमाले पनि छाडेर माओवादीमै प्रवेश गर्ने आन्तरिक तयारीमा रहेको बताइन्छ । थापासहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत केही नेताहरु अहिले एमालेमा छन् ।
यीबाहेक प्रचण्डलाई नेतृत्वमा टक्कर दिन सक्नेमध्येका एक थिए, बाबुराम भट्टराई । संविधान जारी हुनेबित्तिकै भट्टराई र हिसिला यमीहरुले २०७४ सालमा प्रचण्डको साथ छाडेका थिए ।
भट्टराई अहिले प्रचण्डको कडा आलोचकमध्येका एक हुन् । नयाँ शक्ति गठन गरेका भट्टराईले अहिले मधेश केन्द्रित दलसँगको एकता विफल भएपछि नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।
प्रचण्डले एमालेसँग एकता गरेपछि गोपाल किराँती र विश्वभक्त दुलाल आहुतिले पनि फरक फरक दल गठन गरेका छन् । आहुतिले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका छन् । किराँतीले नेकपा माओवादी गठन गरेका थिए, तर अहिले सबै माओवादी मिल्नुपर्ने पक्षमा उभिएका छन् ।
इतिहासमा अहिलेसम्म प्रचण्डसँग विमति राखेर वा चुनौती दिएर माओवादी पार्टीमा कोही पनि टिक्न सकेका छैनन् । यस पटक जनार्दनले गरेको बगावतलाई प्रचण्डले व्यवस्थापन गर्छन् वा विगतकै अरु नेता जस्तो पाखा पारिन्छन् ? त्यो हेर्न बाँकी छ ।
‘प्रस्ताव स्वाभाविक, बहसमा लैजानुपर्छ’
तर माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा बैठकमा आएको उपमहासचिव शर्माको प्रस्तावलाई स्वाभाविक रुपले लिनुपर्ने बताउँछन् ।
उनले भने, ‘उहाँले लिखित रुपमा राख्नुभएको छ । अब नेतृत्वको विषयमा पनि कुरा आएका छन् । छलफल चलिरहेको छ । यो बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्छ, त्यसले थप निर्णय गर्छ ।’
उनले अहिले प्रचण्डको विकल्प खोज्नेगरी पार्टी अघि नबढ्ने सुनाए । कम्युनिष्ट पार्टीमा छलफल र बहसलाई अन्यथा लिन नहुने उनको तर्क छ ।
केन्द्रीय सदस्य रञ्जित तामाङले पार्टी पुनर्निर्माणको चरणमा उपमहासचिव शर्माको आएको प्रस्तावलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।
उनले भने, ‘सबैले आआफ्नो धारणा राखेर नै पार्टीलाई बलियो बनाएर लैजाने हो । उहाँले पार्टी निर्माणको लागि उठाएको विषय ठीक छ, तर नेतृत्व अर्को खोजिहाल्ने अवस्था छैन । अब विशेष महाधिवेशनमा जानुपर्छ । अध्यक्षदेखि पदाधिकारी, स्थायी र केन्द्रीय कमिटी, सांसद र मन्त्री कति पटकसम्म बन्ने भन्ने विषयमा कार्यकाल तोक्नुपर्छ भन्ने कुरा ठीक छ ।’
उनले अब विशेष महाधिवेशनको वातावरण बनाएर विधानसम्मत नयाँ नेतृत्व ल्याउनुपर्ने बताए ।
नेता तामाङले थपे, ‘पार्टीमा निर्वाचनको प्रक्रिया अपनाउनेबित्तिकै धेरै कुरा हल हुन्छन् । विशेष महाधिवेशनमार्फत् उहाँ (जनार्दन)ले उठाएको विषयमा छलफल गरेर एकताबद्ध गरेर जानुपर्छ । उहाँको प्रस्तावलाई स्वाभाविक लिनुपर्छ । कम्युनिष्ट पार्टीभित्र लागेको कुरा बैठकमा त राख्ने हो, बैठकबाट निष्कर्ष निकाल्दै अगाडि बढ्ने परम्परा हो ।’
उपमहासचिव शर्माको प्रस्तावले पार्टीभित्र नयाँ बहस प्रवेश पाएको उनले जिकिर गरे ।
नेता तामाङले भने, ‘पार्टीभित्र धारणा राखेकै आधारमा पार्टीबाट बहिर्गमन हुनुपर्ने, कारबाही अथवा अवहेलना भोग्नुपर्ने अवस्था आउँदैन । हामी जनवादी केन्द्रको विधि भन्छौं, त्यो भनेको बहुमतको निर्णय अल्पमतलाई ध्यान दिने भन्ने नै हो । त्यसको पनि धारणा सुन्छौं ।’
शर्माको प्रस्तावलाई छलफलमा लगेर उचित निष्कर्षमा पुग्नुपर्ने उनको मत छ ।
उनले थपे, ‘यो विषय राखेकै आधारमा किनारा लगाउँदैन । विषय राख्दैमा र नेतृत्वको आलोचना गर्दैमा कुनै पनि प्रकारको वैरभाव हुँदैन ।’
‘प्रचण्डले बलमिच्याइँ गरे विद्रोह हुनसक्छ’
राजनीतिक विश्लेषक चन्द्रकिशोर अब माओवादीलाई अगाडि बढाउन प्रचण्डले पार्टीको संरक्षक बसेर नेतृत्व छाड्नुपर्ने बताउँछन् ।
उनले भने, ‘पार्टी बैठकमा छलफलको क्रममा विभिन्न प्रस्ताव आउँछन्, तर माओवादीमा प्रचण्डले जनसंघर्षको पनि लामो समयसम्म नेतृत्व गर्नुभयो । सत्ता राजनीतिको पनि गरिराख्नुभएको छ । अब उहाँले आफू संरक्षक भएर पार्टीमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्छ ।’
प्रचण्डले पहिला झैं गरेर पार्टीभित्र बलमिच्याइँ गर्न खोजे विद्रोह हुनसक्ने उनको विश्लेषण छ ।
‘पार्टी अहिले उहाँको कमाण्डमा छ । जनार्दनजीले पार्टीको लागि नयाँ प्रस्ताव ल्याउनुभयो । त्यहाँ केही मान्छेहरु ढोका बन्द भयो भने अर्को पार्टीमा जानसक्नेहरु पनि छन् । माओवादीभित्रको असन्तुष्टिलाई प्रचण्डजीले अब कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरा मुख्य हो । जनसंघर्षको बेलामा असन्तुष्टहरुलाई श्रम शिविरमा राख्नुहुन्थ्यो’, चन्द्रकिशोरले थपे, ‘त्यसबेला उहाँको एकलौटी चल्थ्यो, अब पारदर्शिताको समय हो । बलमिच्याइँ गरेर कसैलाई आउट गर्न अहिले उहाँले सक्नुहुन्न । माओवादीले पार्टीभित्रको विवाद समाधान गर्न सकेन भने केही हिस्सा टुक्रिएर अर्को दलमा जानसक्छ वा अर्को पार्टी बनाउनसक्छ ।’
जनार्दनको प्रस्तावपछि अर्का उपमहासचिव पुनसँग पार्टीभित्र समीकरण हुनसक्ने उनले सुनाए ।
विश्लेषक चन्द्रकिशाेरले थपे, ‘नयाँ विचार र नेतृत्वको खोजीमा सबै हुन्छन् । जनार्दनजीको यो प्रस्तावपछि प्रचण्डजीकै भाषामा भन्नुपर्दा पार्टीभित्रको समीकरणमा उथलपुथल हुन्छ नै । त्यसैले प्रचण्डले अब नेतृत्व छाडेर विधानबमोजिम नयाँ नेतृत्व ल्याउनुपर्छ ।’