शर्मिला वाइबाकी ‘बडीगार्ड’ बाट कुटिएका चुडालको काउन्टर, मामा दुर्गा प्रसाईंसहित दुई दर्जनविरुद्ध दिए उजुरी – Nepal Press

शर्मिला वाइबाकी ‘बडीगार्ड’ बाट कुटिएका चुडालको काउन्टर, मामा दुर्गा प्रसाईंसहित दुई दर्जनविरुद्ध दिए उजुरी

कुटपिटसँगै तीन लाखको सिक्री र डेढ लाखको मोबाइल लुटेको आरोप, ताजाखबर टिभीका सञ्चालकसहित आधा दर्जन युट्यूवर पनि मुछिए

काठमाडाैं । शर्मिला वाइबाकी बडिगार्डको कुटाइ खाएका दुर्गा प्रसाईंका भाञ्जा रविरत्न चुडालले दुई दर्जन व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी गरेका छन् । उनले सिंहदरबार प्रहरी वृत्तमा आज उजुरी दर्ता गरेको बताए ।

गत साउन १६ गते अनामनगरको सिलौटो रेस्टुरेन्टमा चुडाललाई केही युट्यूवरले अन्तरवार्ताका लागि बोलाएका थिए । हौसिँदै गएका चुँडाल त्यहाँ पुग्नासाथ उनीमाथि हुलहुज्जत र कुटपिट भएको थियो । शर्मिला वाइबाकी नाम नखुलेकी कथित बडिगार्डले उनलाई उफ्रिउफ्री कुटेकी थिइन् ।

सो घटनामा प्रहरीले उल्टै चुडाललाई पक्राउ गरेर लगेको थियो । सिंहदरबार प्रहरीले पक्राउ गरेर उनलाई बौद्ध प्रहरीमा बुझायो । बौद्ध प्रहरीमा झाँक्री प्रकाश भुजेलले पहिल्यै चुडालविरुद्ध अभद्र व्यवहारको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सिंहदरबार प्रहरीले समाएर बौद्धलाई बुझाएको हो । बौद्ध प्रहरीले काठमाडौंका सीडीओको जिम्मा लगायो ।

सिडिओले चुडाललाई तीन हजार रुपैयाँ धरौटीमा छोडेका छन् । त्यसलगत्तै उनले आफूमाथि कुटपिट गर्ने र योजना बनाउनेहरुलाई उजुरी गरेका हुन् ।

आफ्नै मामा दुर्गा प्रसाईंलाई उनले उजुरीको पहिलो नम्बरमा राखेका छन् । प्रसाईको अनुमति लिएर आफूलाई कुटिएको उनको दावी छ । यसैगरि, झाँक्री भुजेलको नाम दोस्रो नम्बरमा र शर्मिला वाइवाको नाम तेस्रो नम्बरमा छ । शर्मिला वाइबाकी २५ वर्षिया बडीगार्डलाई पनि उजुरी हालिएको छ, जसको नाम खुलेको छैन ।

उजुरीको पेटबोलीमा भनिएको छ

‘मिति २०८१–०४–१६ गतेका दिन बिहानदेखि विशाल मिडिया खबरका सञ्चालक पासाङ तामाङ र ताजा खबर टिभीका सञ्चालक सञ्जिव कार्कीले मलाई फोनमार्फत अनामनगरस्थित सिलौटो कटेजमा अन्तरवर्ता दिन आउनुहोस् भनि पटक–पटक अनुरोध गरेपछि म दिउसो १३ः०० बजेको समयमा निज प्रतिवादीले बोलाएका ठाउँमा जाँदा प्रतिवादीहरुले दुर्गा प्रसाई र प्रकाश भुजेललाई फोन गरेर मलाई कुटपिट गर्ने अनुमती लिई मोबाईल र क्यामेरामा भिडियो कैद गरेर दुर्गा प्रसाई र प्रकाश भुजेलको विरुद्धमा बोल्ने होइनस् ? तँलाई हामी सिध्याई दिन्छौं भनि मलाई समाई लछारपछार, हातपात र हुलहुज्जत गरी लात्ता र मुक्काले प्रहार गरी हातहतियार देखाउदै मेरो ज्यान मार्ने मनसायले मलाई कुटपिट गरेर लखेट्दै रेष्टुरेन्ट बाहिर निकाली सार्वजनिक स्थलमा मानव अधिकार हनन् गरी अपमानजन्य व्यवहार गरी मलाई दुख हैरानी दिई अभद्र व्यवहार गरेर मसँगमा भएको छोरीको लागी किताब किन्न भनी राखेको २३,७०० रुपैयाँ, मेरो साथमा भएको सुनको एक तोलाको औंठी, अन्दाजी डेढ लाख पर्ने औंठी र ३ लाखको सुनको सिक्री र मेरो भिभो कम्पनीको अन्दाजी डेढ लाख पर्ने मोबाईल लुटपाट गरेको र यसरी प्रतिवादीहरुले मेरो ज्यान मार्ने सम्मको योजना बनाई मोबाईल र क्यामेरामा भिडियो कैद गरी मलाई कुटपिट गरेर उक्त भिडियो सामाजिक संजाल समेतमा सार्वजनिक गरेका हुँदा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर बमोजिम हदै सम्मको कानुनी कारवाही गरी मेरो सम्पुर्ण क्षतिपुर्ती दिलाई पाउँ ।’

चुडालले केही युट्यूवरहरुलाई पनि उजुरीमा मुछेका छन् । जसमा देश दुनिया खबरका विष्णुजंग बस्नेत, विशाल खबरका पासाङ तामाङ, डिजिटल टीभी एचडीका रिजन साह, डिएमजी नेपाल मिडियाका मनोज खतिवडा, गणेश बज्राचार्य, ताजा खबर टिभीका संजिब कार्की, डिम्पल एचडी टिभीका सञ्चालक नागरिकपत्र टिभीका गोकर्ण प्रसाद जोशी लगायत छन् ।

चुडालले एक अन्तरवार्तामा प्रकाश भुजेल र दुर्गा प्रसाईंमाथि खोइरो खनेपछि दुई पक्षबीच लफडा सुरु भएको हो । प्रसाईंका समर्थक नरनाथ गौतमले एक अन्तरवार्तामा चुडाल र पुण्य गौतमलाई जहाँ भेटे पनि पिट्ने धम्की खुल्ला धम्की दिएका थिए ।

उजुरी परेका युट्युवरमध्ये एक गोकर्ण प्रसाद जोशीले एक विज्ञप्ति प्रशारण गर्दै साे घटनामा आफ्नो कुनै संलग्नता नरहेको र नियतवास आफूलाई फसाउन खोजेको दावी गरेका छन् ।

यो पनि पढ्नुस्ः दुर्गा प्रसाईंका भान्जा रवि चुडाललाई शर्मिला वाइबाकी ‘बडीगार्ड’ ले उफ्रीउफ्री कुटिन्, कुटिने उल्टै खोरमा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर