आहारा खाेज्दै भारतकाे आसामदेखि नेपालसम्म आइपुग्छ हात्तीकाे समूह, मानवसँग बढ्याे द्वन्द्व
विराटनगर । मोरङको बेलबारी नगरपालिका- ३ करम डाँडामा मङ्गलबार बिहान छावा हात्ती मृत अवस्थामा फेला पर्यो । अन्दाजी ४ वर्षको पोथी छावा मृत फेला परेपछि स्थानीयले जिल्ला वन कार्यालय मोरङमा खबर गरे ।
हात्ती मारिएको हो वा मरेको हो भन्ने चाहिँ अझै खुलिसकेको छैन । पोस्टमार्टम भइरहेको भए पनि प्रारम्भिक रिपोर्टअनुसार खेती जोगाउन लगाएको विद्युतीय पासोमा परेर छावा मरेको हो ।
डिभिजन वन कार्यालय मोरङका निमित्त प्रमुख हेमन्त पराजुलीले भने पोस्टमार्टम रिपोर्ट आइनसकेकाले छावाको के कारणले मृत्यु भयो भनेर खुलिनसकेको बताए ।
यसअघि जेठ ३० गते सुन्दर हरैचा नगरपालिका- ६ मा पनि हात्तीको छावा मृत फेला परेको थियो । सो छावा हात्तीको सुँडमा चोट लागेकाले गोली हानी मारिएको आशङ्का छ । स्थानीय भक्तराज लिम्बूको केरा बगानमा मृत फेला परेको सो हात्ती अन्दाजी ६ वर्षको भाले भएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।
डिभिजन वन कार्यालय मोरङका अनुसार गत पुस दोस्रो साता पनि मोरङको सुन्दर हरैचा- १० स्थित जनजागरण सामुदायिक वनमा जङ्गली हात्ती मृत भेटिएको थियो । १०-१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टामाथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको वन कार्यालय मोरङले जनाएको छ ।
सो हात्तीको दाँतसमेत काट्ने प्रयास भएको थियो । दाँत काट्न खोजिएकाले तस्करले हात्ती मारेको अनुमान गरिएको छ, तर घटनामा संलग्नहरूलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा हात्तीको मृत्यु हुने क्रम बढ्दो छ । आर्थिक वर्ष २०८०/८१ देखि अहिलेसम्म झापा र मोरङमा मात्रै ७ वटा हात्ती मृत फेला परे । तीमध्ये सबैभन्दा बढी झापामा मरेका छन् ।
मन्त्रालयका वन्यजन्तु तथा उद्यम शाखाका प्रमुख दीपक पोखरेलले झापामा यो एक वर्षको अवधिमा ४ वटा हात्ती मृत फेला परेको बताए । तीमध्ये अधिकांश छावा छन् । मोरङमा ३ वटा हात्ती मृत फेला परेको उनले बताए ।
कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर क्षेत्रमा पछिल्लो एक दशकमा मानव-हात्ती द्वन्द्व बढेको छ । द्वन्द्व बढेसँगै हात्ती मारिने क्रम पनि बढेको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादव बताउँछन् । आरक्षका अनुसार २०६८ साल यता कोशी प्रदेशमा ३६ वटा हात्ती मृत फेला परेका थिए । तीमध्ये सबैभन्दा बढी झापामा २० वटा हात्ती मृत फेला परेको आरक्ष कार्यालयको तथ्याङ्क छ । झापापछि मोरङमा यो अवधिमा ९ वटा हात्ती मृत फेला परे ।
कार्यालयका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पनि हात्ती मरिएका छन् । संरक्षण अधिकृत यादवले मध्यवर्ती क्षेत्रमा २०६८ सालयता ६ वटा हात्ती मृत फेला परेको बताए । उदयपुरमा एउटा हात्ती मृत फेला परेको थियो । मध्यवर्ती क्षेत्रसँगै जोडिएको सप्तरीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।
हात्ती मार्न विद्युतीय पासो !
यादव कोशी टप्पु वन्यजन्तु आरक्षमा संरक्षण अधिकृत भएर आएको दुई वर्ष पुग्न लाग्यो । दुई वर्षको अवधिमा हात्तीको प्राकृतिक मृत्यु (नेचुरल डेथ) सङ्ख्या एउटामात्रै छ । त्यो पनि रेडजोनमै राखेर नेचुरल भनिएको उनी बताउँछन् ।
‘एक वर्षअघि उदयपुरमा मृत फेला परेको हात्तीको नेचुरल डेथ हो कि भन्ने छ’, यादवले भने, ‘पर्याप्त स्रोत र साधन अभावका कारण रेडजोनमै राखेर नेचुरल भनिएको हो ।’
प्रदेशभरि मृत फेला परेका हात्तीको पोस्टमार्टम गर्ने जनशक्ति आरक्ष कार्यालयसँग मात्रै छ । उनले यो पनि पर्याप्त नभएको बताए ।
कार्यालयका अनुसार मृत फेला परेका हात्तीमध्ये ९५ प्रतिशत विद्युतीय पासोका कारण मारिएका हुन् । ३ प्रतिशत जति गोली हानेर मारिएको छ । एकदुई प्रतिशत हात्तीको स्वाभाविक मरण भएको आरक्ष कार्यालयले जनाएको छ ।
संरक्षण अधिकृत यादवले भने, ‘अहिलेसम्म मृत फेला परेका हात्तीको पोस्टमार्टम रिपोर्ट हेर्दा ९५ प्रतिशतभन्दा बढी विद्युतीय पासोमा परेर मरेको फेला पार्यौं । मृत फेला परेकामध्ये ३ प्रतिशत हात्ती गोली हानेर मारिएका छन् ।’
खेती प्रणाली फेरिँदा हात्ती थ्रेटमा
नेपालीमा एउटा उखान छ, ‘हात्ती लम्किएको र घोडा चम्किएको मिल्दैन ।’ अर्थात् हात्ती लम्किँदा पनि घोडाभन्दा छिटो हिँड्नसक्छ । यही उखानलाई मेल खाने कुरा गर्छन् डा. अशोक राम । उनी कोशी टप्पु वन्यजन्तु आरक्षका पूर्व संरक्षण अधिकृत हुन् । उनले हात्तीको इकोलोजी र मानव-हात्ती द्वन्द्वका विषयमा विद्यावारिधि गरेका हुन् ।
उनका अनुसार हात्ती एकै स्थानमा बसिरहन मन पराउँदैन । कोशी टप्पु मध्यवर्ती क्षेत्रका हात्ती पर्सा र चितवनसम्म पुग्ने गरेको उनी बताउँछन् ।
नेपालको पूर्वी नाका बाहुन डाँगी हुँदै नेपाल भित्रिने हात्तीहरू भारतको आसामबाट आउँछन् । पश्चिम बङ्गाल हुँदै नेपालभित्र हात्तीको समूह उदयपुरसम्म पुग्ने गरेको छ ।
‘पश्चिम बङ्गाल कोरिडोरबाट नेपाल भित्रने हात्ती विशेषतः आहारको खोजीमा आएका हुन् । ती हात्ती वर्षमा २ पटक नेपाल भित्रने गरेका छन्’, डा. रामले भने, ‘एक पटक मकै पाक्ने सिजनमा र अर्को धान पाक्ने सिजनमा ।’
यो समयमा जङ्गलमा आहाराको कमी हुने भएकाले हात्तीहरू गाउँसमेत पस्ने गरेको उनले बताए ।
‘अहिले त हाम्रो खेती प्रणाली फेरियो’, उनले सुनाए, ‘हामीले १२ महिना नै मकै लगाउन थाल्यौं । धान पनि दुई सिजन लाग्ने गर्छ । खेतबारीमा धान र मकैको अलावा १२ महिना नै विभिन्न खाले खेती भइरहेको हुन्छ । यसले गर्दा हात्तीलाई खानेकुराको अभाव भएन । हाम्रो फेरिएको खेती प्रणालीका कारण हात्ती यतै बस्न थालेका छन् ।’
आधुनिक खेती प्रणाली सुरु भएपछि सरकारले उत्पादन बढाउन जिल्लाजिल्लामा धान, मकैलगायत बालीको जोन र सुपर जोन घोषणा गरेको छ । यस्ता कार्यक्रमबाट १२ महिना खेती हुन थालेपछि हात्तीबाट जनधनको क्षति पनि बढ्दै गएको देखिन्छ ।
कोशी प्रदेशमा धरानदेखि झापासम्म रहेको चारकोशे जङ्गल हात्तीको वासस्थान हो, तर हात्ती बस्ने वासस्थानमा पनि हात्तीको आहारा मासिएको छ । हात्तीलाई लहरा र बाँस मन पर्छ, तर पछिल्लो समय सामुदायिक वनहरूले वनको संरक्षण गरे पनि यस्ता वनस्पतिहरूको संरक्षण हुन नसकेकाले हात्ती गाउँ पस्न थालेको डा. राम बताउँछन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत यादव पनि फेरिएको खेती प्रणालीका कारण मानव-हात्ती द्वन्द्व बढ्दै गएको स्वीकार गर्छन् । मानिसहरूले लगाएको खेतीको लोभमा हात्तीहरू रैथाने भएर बस्न थाले । सिजनमा आउने हात्तीहरू बालीको लोभले यतै बस्ने र क्षति गर्न थालेपछि मानिसहरूले हात्तीलाई धराप थापेको यादव बताउँछन् ।
डिभिजन वन कार्यालय झापाका अनुसार रैथाने हात्तीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पाँच वर्षयता झापामा रैथाने हात्तीको सङ्ख्या झन्डै तेब्बर भएको वन कार्यालयका प्रमुख मेघराज राईले बताए ।
उनका अनुसार २०७५ सालमा झापामा १०-१२ वटा रैथाने हात्ती रहेकामा अहिले ३० भन्दा धेरै पुगेको छ । आहाराको खोजीमा सिजनमा आउने हात्तीसमेत नफर्किएकाले रैथाने हात्तीको सङ्ख्या बढेको राईको भनाइ छ ।