बालविवाह अन्त्यका लागि कसको भूमिका के ? – Nepal Press

बालविवाह अन्त्यका लागि कसको भूमिका के ?

डोटी । ‘हामीले पटक पटक प्रयास गर्दा पनि बालविवाह रोक्न सकिएको छैन, आर्थिक अवस्था कमजोर भएको पढाउन नसक्ने भन्दै अहिले पनि अभिभावकको संलग्नतामा बालविवाह भइरहेका छन् । किशोर किशोरीहरुले भागेर गर्ने विवाह घटेको छैन,’ डोटीको सायल गाउँपालिका-४ का बालक प्रकाश विष्टको भनाई हो यो ।

उनले विगतको तुलनामा अभिभावकहरूले गराइदिने बालविवाहको संख्यामा कमी आएको भए पनि भागेर हुने बालविवाहमा अभिभावकहरूले पनि मौन स्वीकृति जनाउने गरेको बताए ।

पूर्वी चौकी गाउँपालिका-६ कि बालिका दीपिका भुलको भनाई पनि उस्तै छ । उनी भन्छिन् ‘हामीले बालक्लबको तर्फबाट बालबालिकाहरूलाई सचेत गराइरहेकै छौँ, तर पनि रोक्न सकिएको छैन ।’ उनी बालविवाह रोक्नका लागि प्रहरी प्रशासन पनि जिम्मेवार हुनु पर्ने बताउँछिन् ।

उनी थप्छिन् ‘गाउँमा बालविवाह भइरहेको प्रहरीलाई थाह हुन्छ तर केही गर्दैनन् ।’

बालविवाह रोक्नका लागि जति प्रयास गरे पनि रोक्न नसकिएको एक कार्यक्रममा सहभागी बालबालिकाहरूले दुखेसो पोखेका छन् । बालक्लबमै आबद्ध बालबालिकाहरू पनि भागेर विवाह गर्ने गरेको उनीहरूको दुखेसो छ ।

वर्ल्ड भिजन र समान पहुँच विकास केन्द्र (सिड) नेपालको सहकार्यमा जिल्ला समन्वय समिति डोटीले आयोजना गरेको जिल्ला स्तरीय बालबालिकाहरूको नेतृत्व विकास फोरममा सहभागी बालबालिकाहरूले यस्तो गुनासो गरेका हुन् ।

बालविवाह र लागूऔषध दुर्व्यसनीको अपराधमा बालबालिकाहरू फस्दै गइरहेको बताउँछिन् दिपायल सिलगढी नगरपालिका-८ कि किशोरी खिना कडायत ।

उनी भन्छिन् ‘हाम्रो गाउँतिर अव मागेर (अभिभावकले गराइदिने) बालविवाह त हुँदैन, तर १५/१६ वर्षकै उमेरमा भागेर जानेको संख्या घटेको छैन ।’ उनी भागेर गरेको विवाहमा अभिभावक र प्रहरीले समेत मौन स्वीकृति जनाउने गरेको बताउँछिन् ।

उनी थप्छिन् ‘गाउँमा बालविवाह भयो भनेर प्रहरीलाई जानकारी हुन्छ तर उजुरी नआएको भनेर वास्ता गर्दैनन ।’

गाउँमा प्रहरीकै संलग्नतामा जुवा तास भइरहेको समेत खिनाको आरोप छ । ‘जुवा खेल्ने/खेलाउने ठाउँमा प्रहरी आफै हुन्छन्, जित्ने मान्छेलाई भोज खुवाउनु पर्‍यो भन्छन्’ खिनाले भनिन् ‘अनि कसरी अपराध अन्त्य रोकिन्छ त !’

दिपायल सिलगढी नगरपालिका-२ कि शर्मिला नेपालीको भनाई पनि उस्तै छ । ‘अस्ति मात्रै हाम्रो गाउँमा एक किशोरी भागेर आइन् । मैले उनलाई धेरै सम्झाएँ’ शर्मिला भन्छिन् ‘तर उनी आफूले बिहे गरिसकेको भन्दै उल्टो गाली गर्न थालिन् ।’

यस्तोमा परिवारका सदस्यहरू र समाजले पनि आफूलाई सहयोग नगर्ने गरेको उनको भनाई छ । मादक पदार्थ र लागु औषध सेवन गरेर बाटोमा बस्ने, अनावश्यक हो-हल्ला गर्ने मान्छेहरूलाई समेत प्रहरीले कुनै कारबाही नगर्ने गरेको शर्मिलाको आरोप थियो ।

आदर्श गाउँपालिका-३ का प्रेम पाठकले बालविवाहमा प्रहरीले पनि सक्रियता देखाउनु पर्ने माग गर्छन् । प्रहरीले भागेर बालविवाह गर्नेलाई सम्झाई बुझाई गरेर रोक्नु पर्ने बताउँछन् उनी ।

आफूहरूले बालक्लबको तर्फबाट विद्यालयमा र समुदायमा नियमित रूपमा बालविवाहको विषयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रेम बताउँछन् ।

शिखर नगरपालिका-१ कि बालिका सङ्गीता खाती बालविवाह रोक्नका लागि सरकारले ठोस् योजना बनाउनु पर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘बालविवाहबाट पर्ने कानुनी, सामाजिक र पारिवारिक असरका विषयमा राम्रोसँग बालबालिकाहरूलाई बुझाउनु जरुरी छ ।’

उनले विद्यालय शिक्षा परीक्षा (एसईई) दिएका किशोरकिशोरीहरूलाई सीपमूलक तालिम दिनु पर्ने बताउँछिन् । एसईई दिइसकेपछिको समय खाली समय भएका कारण त्यसबेला बालविवाहका घटनाहरू बढी हुने गरेको उनको भनाई छ ।

बालविवाहका घटनाहरूमा अभिभावकहरू पनि सचेत हुनु पर्ने बताउँछिन् जिल्ला बालक्लबसञ्जालकी अध्यक्ष सपना मलासी ।

उनी भन्छिन् ‘म आफै संलग्न भएर ४/५ वटा बालविवाह रोकेकी छु, यसमा अभिभावकहरूले पनि साथ दिएका छन् ।’

उनी भागेर हुने बालविवाहलाई अभिभावहरूले पनि सम्झाई बुझाई गरिदिनु पर्ने बताउँछन् ।

बालविवाह र लागु औषधका घटनाहरू बढ्दै गएकाले यसको न्यूनीकरणका लागि तीन वटै तहका सरकारहरुले सहकार्य गर्नु पर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओली बताउँछन् ।

‘प्रदेश सरकारले बालविवाह रोक्नका लागि ‘सानै छु म बढ्न देऊ, बालविवाह हैन पढ्न देऊ कार्यक्रम सञ्चालन गरिरहेको छ’ ओलीले भने ‘बालविवाह, बहुविवाह, लागु औषध जस्ता अपराध रोक्नका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

उनले शिक्षा र चेतनाको अभावका कारण बालविवाह भइरहेको बताए । उनले थपे ‘यसका लागि सबै बालबालिकाहरूलाई चेतना दिनु आवश्यक छ ।

बालबालिकाहरूको नेतृत्व विकास गर्दै उनीहरूलाई पनि सामाजिक कु-संस्कार विरुद्ध आवाज उठाउन सक्ने बनाउनका लागि फोरमको आयोजना गरिएको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले जानकारी दिए ।

उनले भने ‘पुस्तौँदेखि निरन्तरता पाउँदै आएका कुसंस्कारको विषयमा यदि बालबालिकाहरूलाई सही ढङ्गले बुझाउन सक्यो भने अबको पुस्तामा यस्ता कुरीतिहरू हस्तान्तरण हुँदैनन् ।’ यसका लागि सबैले प्रयास गर्नु पर्ने उनको भनाई छ ।

फोरममा मुख्य रूपमा बालविवाह र लागु औषधको विषयमा छलफल भएको बताउँछिन् सिड नेपालका बाल संरक्षण अधिकृत दीपिका बोहरा ।

समाजमा पछिल्लो समयमा लागु औषधका घटनाहरू बढ्दै गइरहेका र किशोर किशोरी आफै भागेर विवाह गर्ने घटना पनि रोक्न नसकिएकोले यस विषयमा बहस गर्न फोरममा सरोकारवालाहरुबीच प्रत्यक्ष संवाद समेत गरिएको बोहराले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *