दशरथ रङ्गशाला कसरी आहालमा परिणत भयो ? – Nepal Press

दशरथ रङ्गशाला कसरी आहालमा परिणत भयो ?

काठमाडौं। नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा रहेको दशरथ रङ्गशाला मङ्गलवार खेल दौरान आहाल बनेपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जती भएको टिप्पणीहरू भइरहेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) कै पदाधिकारीहरू पनि यसले अन्तर्राष्ट्रिय फुटबलमा नेपालबारे नराम्रो सन्देश गएको स्वीकार गर्छन्।

एएफसी च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको पारोबीच खेल भइरहेका बेला खेलाडीहरू हिलाम्मे भएका थिए। बल मैदानमा अड्किरहेको थियो, खेलाडीहरू दौडिन सकिरहेका थिएनन्।

मैदानको ठाउँ ठाउँमा खाल्डोहरू बनेका थिए। त्यही दृश्यहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ। त्यसो त विश्वकप खेलेका र एसिया कप जितेका जापानी खेलाडी केइसुके होन्डाले खेल अघि नै मैदानको अवस्थाप्रति व्यङ्ग्य गर्दै ‘जोक’ भनेका थिए।

आफूले करियरकै खराब मैदान देखेको उनको टिप्पणी थियो। एन्फाका प्रवक्ता सुरेश शाह दशरथ रङ्गशालाको पछिल्लो घटनाले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको बेइज्जत भएको स्वीकार गर्छन्।

‘यति हाई प्रोफाइल खेलाडी नेपाल आएको बेला जुन घटना भयो, यसले नराम्रो सन्देश गएको छ’, उनी भन्छन्।

यसअघि मैदानको अवस्था खराब रहेको भन्दै एसियाली फुटबल महासंघ(एएफसीले दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अयोग्य रहेको निर्णय गरेको थियो।

त्यसपछि नेपालका सरोकारवाला निकायले रङ्गशालालाई राम्रो देखाउने प्रयास गरेका थिए। एएफसीले यो क्लब प्रतिस्पर्धा आयोजना गर्न दशरथ रङ्गशाला योग्य भएको निर्णय गरेपछि नेपालमा खेल सम्भव भएको हो।

एन्फा प्रवक्ता शाह मैदानको अवस्था सुधार गर्नुपर्ने सुझावसहित दशरथ रङ्गशालालाई अनुमति प्राप्त भएको बताउँछन्। ‘तर एक डेढ घण्टा पानी पर्दैमा कसरी रङ्गशाला यो अवस्थामा पुग्यो भन्नेतर्फ हामीले हेर्नुपर्छ’, उनले भने।

एन्फाले यस पटक दशरथ रङ्गशालाको पिच तयार गर्ने काम राखेपले गरेका कारण प्राविधिक त्रुटि देखिएको बताएको छ।

‘हुन त राखेपले २र३ महिनादेखि नै पिच तयार गर्ने काम सुरु गरेको हो । हामीसँग प्राविधिक सल्लाह पनि भएको थियो । तर जुन जनशक्तिले मैदान तयार गर्यो उनीहरूसँग प्राविधिक निपूर्णता देखिएन । हामीसँग राम्रो जनशक्ति हुँदा पनि प्रयोग हुने अवस्था बनेन’, उनले राखेपलाई आरोप लगाए ।

उनले मैदानमा पानी जम्ने अवस्था बन्नु नै मुख्य समस्या भएको बताए । ‘मैदानमा पानी जम्ने र जहाँ टेक्यो त्यहाँ भासिने अवस्था कसरी बन्यो ? मैदान तयार गर्नेक्रममा यी कुरामा ध्यान नदिएको देखियो’, प्रवक्ता शाहले भने ।

मैदानलाई राम्रोसँग तयार नगरेकै कारण पानी जमेर केही बेरमै मैदान हिलाम्मे भएको उनको भनाई थियो । दशरथ रङ्गशाला राखेपको स्वामित्वमा पर्छ ।

राखेपले एन्फालाई उसको आग्रहअनुसार रङ्गशाला उपलब्ध गराउँदै आएको छ । विगतमा एन्फाकै प्राविधिकले रङ्गशालाको मैदान तयार गर्ने काम गर्थे ।


प्रतिक्रिया

One thought on “दशरथ रङ्गशाला कसरी आहालमा परिणत भयो ?

  1. Due to the negligence of the official of the national sports council, Nepal has been dishonored at the international level. They should take responsibility for it. Now soon by a good expert I wish the football ground upgrade.
    Thank you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *