देखतभुलि स्वास्थ्य चौकीमा एउटै बेड, सुत्केरी हुन पनि पालो कुर्नुपर्ने बाध्यता
कैलाली । राम्रो भौतिक संरचना, पर्याप्त उपकरण र आवश्यक स्वास्थ्य सामाग्री र नहुँदा लालझाडी गाउँपालिकाको देखतभुलि स्वास्थ्य चौकी जर्जर अवस्थामा पुगेको छ ।
बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरूले निक्कै सकस खेप्नुपर्छ । अर्कोतर्फ डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रीको पनि उस्तै समस्या छ ।
लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका ५ वडाका १२ हजार भन्दा बढी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यो स्वास्थ्य चौकी अहिले आफैँ बिरामी जस्तो भएको छ ।
बर्थिङ सेन्टरमा कार्यरत अनमि विनीता बोहराले स्वास्थ्य चौकीमा निकै अभाव रहेको बताइन्। ‘सुत्केरी र कुरुवा बस्ने एउटै कोठा हुँदा निक्कै समस्या हुने गरेको छ, अर्को तर्फ डेलिभरी बेड पनि एउटै छ, सँगै जसो अर्को सुत्केरी आउँदा कहाँ राखेर डेलिभरी गराउने ’ उनले बताइन्।
स्वास्थ्य चौकीमा औषधि र उपकरणको अभाव रहेको सिनियर अहेब लीलाकान्त झा बताउँछन् ।
स्वास्थ्य चौकीका सिनियर अहेब झाले ३ हजार ४ सय ८ जनसंख्यालाई सेवा दिने उद्देश्यले स्थापना गरिएको चौकीले अहिले तीन पालिकाको ५ वडाका १२ हजार भन्दा बढीलाई वार्षिक सेवा प्रदान गरिरहेको र सबैभन्दा चर्को समस्या बर्थिङ सेन्टरमा भएको सुनाए ।
सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एम्बुलेन्सलगायत भौतिक संरचना निर्माणको लागि पहल गर्ने बताए।
रावलले स्वास्थ्य चौकीबाटै धनगढीस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई टेलिफोन सम्पर्क गरी समस्या अवगत गराएपछि आपूर्ति व्यवस्थापन केन्द्रले तत्काल अत्यावश्यक स्वास्थ्य सामाग्री र औषधि प्रदान गरेको छ।
स्वास्थ्य चौकी प्रमुख झाँका अनुसार तत्कालका लागि आपूर्ति केन्द्रले डेलिभरी बेड, ट्रली र निडल कटर एक–एक थान उपलब्ध गराएको छ ।
यस्तै अक्सिटोसिन इन्जेक्सन २ सय, मेडावोन सय, सर्जिकल ग्लोब हजार जोडी, क्याउला १ सय ५० पिसलगायत विभिन्न थरीका औषधिहरू उपलब्ध भएको छ ।
यस्तै अटोक्लेभ मेसिन, बेड, स्क्रिन पर्दा, एनालाइजर, विपि सेटलगायतका सामाग्रीहरू उपलब्ध गराउन आपूर्ती केन्द्र प्रमुख अर्यालले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेका छन् ।
स्वास्थ्य चौकीले पुरानो भवन र आवास भवनको मर्मत र, एम्बुलेन्स, लैङगिक मैत्री शौचालय निर्माण र आधुनिक बर्थिङ सेन्टर भवनको माग पूर्वमुख्यमन्त्री रावल समक्ष राखेको छ ।
पूर्वमुख्यमन्त्री रावलले यस विषयमा आफूले पहल गर्ने बताएका छन्।