प्रचण्डले नेतृत्व छाड्नुपर्ने जनार्दनको प्रस्तावमाथि समीक्षा हुनुपर्ने स्वर बढ्दो – Nepal Press
माओवादी बैठक

प्रचण्डले नेतृत्व छाड्नुपर्ने जनार्दनको प्रस्तावमाथि समीक्षा हुनुपर्ने स्वर बढ्दो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् । निरन्तर जनमत ओरालो लागिरहेको बेलामा ९ वर्षपछि प्रतिपक्षमा पुगेका माओवादीमा पहिलो पटक अध्यक्ष प्रचण्डको चर्को आलोचना भएको छ ।

उपमहासचिव जनार्दन शर्माल लिखितरूपमै पार्टी हितको लागि भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्रस्ताव राखेका छन् । उनको प्रस्तावको वरिपरि अर्का उपमहासचिव वर्षमान पुनको पनि समर्थन छ । यद्यपि, शर्मा झैं पुन खुलेका छैनन् ।

अधिकांश नेताहरूले शर्माको प्रस्तावको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

एक नेताले भने, ‘उहाँले उठाउनुभएको अधिकांश कुरा सकारात्मक छन् । कति बेठीक हो समीक्षा गर्नुपर्छ । उहाँले अध्यक्षमाथि पनि आरोप लगाउनुभएको छ । अध्यक्षले पनि त्यो कुरा राख्नुपर्छ । त्यसबारेमा पनि छलफल हुनुपर्छ । त्यसलाई छलफल गरेरै निष्कर्षमा पुर्‍याउँदा नै पार्टीको हितमा हुन्छ ।’

शर्माले प्रचण्ड सरकारमा हुँदा एमालेमा जाँदैछ भनेर राज्यशक्तिको पनि आफूविरुद्व लगाउने प्रयास गरेको समेत आरोप लगाएका थिए । ती नेताले भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने क्रममा शर्माको प्रस्तावमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ भन्नेमा भर पर्ने सुनाए ।

ती नेताले भने, ‘अहिले उठेको विषयमा जवाफ दिएर समग्रमा अब लगत्तै बस्ने केन्द्रीय समितिको बैठकमा दस्तावेज नै पेस गर्ने कि भन्नेमा पनि भएको बुझेको छौं हेरौं भोलि कसरी आउनुहुन्छ ।’

तर, जनार्दनको प्रस्तावले आफूलाई कुनै टेन्सन भएको प्रतिक्रिया दिएका थिए । प्रस्तावबारे उनले भनेका थिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’

जीवित पार्टीभित्र मत मतान्तर हुनु स्वभाविक भएको सचिव दिनानाथ शर्माले बताए ।

उनले भने, ‘जीवित पार्टीभित्रको बहसमा मतमतान्तर हुनु स्वाभाविक हो । यसलाई अब स्वाभाविकरूपमा लिएर हल गरेर जानुपर्छ त्यसलाई अध्यक्षज्यूले पोजेटिभरूपमा लिनुहुन्छ ।’

उनले पार्टी बैठकमा आफ्नो विचार राख्न सबै स्वतन्त्र हुने बताए । शर्माले प्रचण्डको विकल्प खोज्ने प्रस्ताव राखेपछि प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्नेमा नेताहरूको जोड रहेको प्रवक्ता अग्पिप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ । तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ ।’

बैठकले नेताहरूले प्रचण्डकै नेतृत्वमा अब आत्मसमीक्षा गर्दै पार्टी निर्माणमा लाग्नु अगाडि विकल्प नभएको निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर