रमेश खरेलले चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, कसैको उक्साहटमा परेको आरोप – Nepal Press

रमेश खरेलले चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, कसैको उक्साहटमा परेको आरोप

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीईजी) रमेश खरेलले एन्टीकरप्सन नेटवर्कका तर्फबाट सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको समाचारलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् ।

खरेलले आफूविरुद्ध एक टीभीमार्फत भ्रामक सूचना सम्प्रेषण गराइरहेको भन्दै कुलमानले आफ्नो चरित्रहत्या गरेको आरोप लगाएका छन् । खरेलले लगाएको लाञ्छना कसैको उक्साहटमा भएको उनको दाबी छ ।

विज्ञप्ति नै निकालेर घिसिङले भनेका छन्, ‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका काम कारबाही सार्वजनिक चासोका विषय हुन्छ र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनभिज्ञ छैन । उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरु भइरहेका थिए र छन् ।’

‘अंशबन्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन–कानूनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमानदारीपूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु । यदि मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्’, विज्ञप्तिमा भनिएको छ ।

खरेलले लगाएको आरोपको भ्रममा नपर्न पनि उनले अपिल गरेका छन् । प्राधिकरणले हासिल गरेका प्रगतिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन लागिपरेको घिसिङले बताएका छन् ।

उनले विद्युत प्राधिकरणको हरेक कामकारबाही पारदर्शी रुपमा भइरहेको र अझै पारदर्शी हुने बताएका छन् ।


प्रतिक्रिया

One thought on “रमेश खरेलले चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, कसैको उक्साहटमा परेको आरोप

  1. कुलमान ३५ अरवको प्रोजेक्ट करी ९९ अरव भयो अनि १६ अरव केका आधारमा छुट दिएको तपाईं वा तपाईंको संलग्नता भएका कारोबार छानवीन हुनुपर्छ जनताले सबैलाई भौमान सधै वनाउन सक्दैनन् अनि जग्गाको भ्यालुएसन देखाएर नाफा हुदैन भारतलाई सस्तो मा बिजुली बेच्ने नेपालले किन्दा महगोमा के यहा केही रहस्य नहोला र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *