अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म ! काठमाडौं महानगरद्वारा २ लाख जरिवाना – Nepal Press

अक्वा त्रिदेव ब्राण्डको पानीमा कोलिफर्म ! काठमाडौं महानगरद्वारा २ लाख जरिवाना

काठमाडौं । अक्वा त्रिदेव ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ । अक्वा त्रिदेव पानी तारकेश्वर नगरपालिका- १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादन हो ।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको डा.झाले जानकारी दिए । प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको छ । यो शून्य हुनुपर्ने डा.झाले बताए ।

उनका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।

जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।

खाद्य प्राविधिक अनिल बस्नेतले भने, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सीएफयू ३०० भन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’

कोलिफर्मको स्रोत मानव वा पशुको दिसा हो ।

जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना

मंगलबार महानगर प्रहरी बलले वडा नम्बर ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो ।

यसैगरी वडा नम्बर ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *