ओलीको प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज – Nepal Press

ओलीको प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीकाे प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।

ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै २०८१ साउन १४ गते तीन वटा रिट संवैधानिक इजलासमा दर्ता भएकाे थियाे । उक्त रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वकाे ५ सदस्यीय इजलास गठन भएको थियो, जसमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरसंवैधानिक रहेको रिट निवेदकको दाबी थियो । निवेदकले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यसअनुसार सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेका थिए । उपधारा ३ अनुसार जाँदा प्रतिनिधिसभाकाे ठूलाे दलकाे हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पालो आउँथ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर