हेटौंडामा कर विवाद : एमालेद्वारा विशेष नगरसभाको माग – Nepal Press

हेटौंडामा कर विवाद : एमालेद्वारा विशेष नगरसभाको माग

हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको विषेश नगरसभाको माग गरेको छ । एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिहरुले विशेष नगरसभाको माग गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐनमा भएको करको दर र दस्तुरमा अस्वाभाविक वृद्धि गरिएको विषयलाई लिएर विवाद चर्किएपछि एमाले जनप्रतिनिधिहरुले विशेष नगरसभाको माग गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिहरुले हस्ताक्षर सहित प्रमुख प्रशासकीय अधिकृतमार्फत विशेष नगरसभाको माग गरेका छन् ।

बुधबार जनप्रतिनिधिहरुले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बागमती सरकारको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ र हेटौंडा उपमहानगरपालिकाको नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफाहरुको उल्लेख गर्दै विशेष नगर सभा बैठकको माग गरेका हुन् ।

विशेष नगरसभाबारे पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले करको दरमा भएको अस्वाभाविक वृद्धिले उद्योगी, व्यवसायी र सर्वसाधारण नगरवासीमा असन्तुष्टि उत्पन्न भएको छ। यसका कारण नगरवासीहरु चरणबद्ध रुपमा आन्दोलित भइरहेका कारण आफुहरुले विशेष नगरसभा मार्फत उक्त विषयको समाधान गर्न विशेष नगरसभाको माग गरेको बताए ।

नगर प्रमुख र उप प्रमुख समस्यादेखि भागेको र छलफलमा आउनै नखोजेपछि आफुहरुले विशेष नगरसभाको माग गरेको सिग्देलको भनाई छ । उनले भने, ‘यो समस्या समाधान नगरिकन अरु काम अगाडी बढ्दैन। करको विषय तोकेर नगर सभा राखे मात्र हामी (एमालेबाट निर्वाचित) जनप्रतिनिधि सहभागी हुन्छौं, नत्र हुँदैनौं ।’

जनताबाट अनुमोदित सरकारले जनतालाई अप्ठ्यारो पर्ने गतिविधि नगर्न आफुहरुले पटकपटक नगरसभामा अनुरोध गर्दा समेत नगर प्रमुख तथा उपप्रमुखले वेवास्ता गरेको उनको भनाइ छ ।

उपमहानगरपालिकाले व्यवसायीक प्रतिष्ठानमा ३३ देखि १५० प्रतिशतसम्म कर बढाएको छ । जसको कारण तीनदिनदेखि उनिहरु आन्दोलित छन् । मकवानपुर उघोग व्यवसायी संघको अगुवाईमा उनिहरुले पहिलो चरण अन्तरगत आज एक घन्टा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर