पुराना काम सम्झँदै मुख्यमन्त्री शाहले भने- अब सानो गल्ती गर्ने पनि छुट छैन – Nepal Press

पुराना काम सम्झँदै मुख्यमन्त्री शाहले भने- अब सानो गल्ती गर्ने पनि छुट छैन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले केही दिनमै प्रदेशको नयाँ बजेट ल्याउने बताएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकमा विश्वासको मत लिँदै मुख्यमन्त्री शाहले आर्थिक ऐनमार्फत वियोजन ऐन चाँडै ल्याएर आर्थिक अवस्था चलायमान गर्ने बताए ।

प्रदेशको हितमा रहेका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै विनियोजन ऐन ल्याउने बताएका छन् ।

‘हाम्रा अगाडी सबैभन्दा प्रमुख सवाल भनेको सुदूरपश्चिम प्रदेश र प्रदेशवासीको शान्ति, समृद्धि र खुसी हो।अहिले सुदूरपश्चिम प्रदेशको बजेटमा देखिएका अफ्ठेरालाई चाडै निकास दिन हामी प्रयासरत छौ । बजेट भनेको आय र ब्यायको अनुमान हो प्रदेश सरकारले गर्ने आयको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलन सम्बन्धी अध्यादेश २०८१ यस सम्मानित प्रदेश सभाबाट हिजो पास भई सकेको छ’, उनले भने, ‘व्यय अर्थात् खर्चको सन्दर्भमा पुँजीगत खर्च र चालुगत खर्चलाई सुचारु गर्न चाँडै नै बजेटको अभिन्न अङ्ग आर्थिक ऐन विनियोजन ऐनमार्फत टुङ्ग्याई प्रदेश सरकारलाई चलायमान बनाउने छौ । यो अवस्था जुनसुकै कारणले सिर्जना भएको भए पनि यसलाई जति छिटो अन्त्य गरेर बजेट ल्याउनु पर्ने हामी सबैको दायित्व हो ।’

यसैबीच शाहले सुशासन कायम राख्ने बताउँदै आफू पनि भ्रष्टाचार नगर्ने र कहीँ कतै कसैलाई गरेको पाए तत्काल कारबाही गर्ने पनि बताएका हुन् । विकासको पहिलो र प्रमुख आधार राजनीतिक स्थिरता बताउँदै उनले सरकारलाई दलीय सोचबाट माथि उठेर सहयोग र समर्थनको लागि आग्रह गरेका थिए ।

उनले आफूले अघिल्लो कार्यकालमा गरेको कामहरूको पनि स्मरण गरेका थिए ।

‘त्यति बेला सुदूरपश्चिम प्रदेशमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले केही नयाँ आयामहरू थप्दै प्रदेशका नागरिकहरूलाई प्रदान गरिने सेवा प्रवाह स्तरयुक्त, सहज र सरल होस् भन्ने उद्देश्यले संघीय लोकसेवा आयोगको परामर्शमा ११ औ तहको बढुवा र पाँचौँ तथा छैटौँ तहको विज्ञापनबाट रिक्त रहेका दरबन्दीको पदपूर्ति, प्रदेश निजामती ऐनमा संशोधन स्थानीय तहबाट प्रवाह गरिने सेवा प्रभावकारी बनाउन बिधेयक तर्जुमा गरी संसद्मा प्रस्तुत, प्राविधिक विश्वविद्यालय ऐन निर्माण प्रक्रिया, लेखा प्रणालीमा देखिएको अधिकतम बेरुजुलाई न्यूनीकरण गर्न सप्टवयर निर्माण र तालिमको व्यवस्थाको थालनी भएको थियो’, उनले संसद्मा भनेका थिए ।

कृषि क्षेत्रलाई अझ व्यावसायिक र वास्तविक किसानले राज्यबाट सहुलियत पाउने व्यवस्थाका लागि विना व्याज ऋणपूर्ण प्राप्तको नीति अगाडि बढाएको मुख्यमन्त्री शाहले दाबी गरे । उनले विपन्न र दैनिकी ज्याला मजदुरी गरि जीवन यापन गर्ने नागरिकलाई कृषि पेसामा आबद्धता गराउन सहयोगको नीति बढाएको बताए ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मानस खण्ड सम्मेलन, सुन्दर सुदूरपश्चिम खप्तड आध्यात्मिक सम्मेलनको आयोजना गरि धार्मिक पर्यटनको विकासलाई अगाडि बढाएको उनले बताए । सुदूरपश्चिम प्रदेशमा रहेको जलश्रोतलाई बहुउयोगी बनाउन र जलविद्युत आयोजना निर्माण गर्न पहल थालिएको मुख्यमन्त्री शाहको भनाइ थियो ।

उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८१ तर्जुमा गरि परियोजना छनौटका कार्यहरू अगाडि बढाएको थियो भने ठुला उद्योगी व्यवसायीलाई उद्योग धन्दा खोल्नका लागी आवश्यक जमिन सडक पूर्वाधारको व्यवस्था प्रदेश सरकारले गर्ने गरी छलफल बढाइएको थियो ।प्रदेशलाई अधिकार सम्पन्न बनाउन राष्ट्रिय समन्वय परिषद्को बैठकमा सार्थक छलफल गरिएको थियो ।’

स्थानीय र प्रदेश सरकारको क्षमता विकास गर्न प्रादेशिक अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुशासनमा आधारित बिभिन्न किसिमका तालिम सञ्चालन गरेको, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै जिल्लाका पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षहरूको सहभागितामा कानुन निर्माण प्रक्रिया, श्रोत परिचालन र राजस्व संकलन सम्बन्धी छलफल र गोष्ठी गरिएको गरिएको उनले बताए ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मौसम जन्य रोगहरूको रोकथाम तथा उपचारका लागी आवश्यक कार्य गर्दै थारु समुदायमा देखिने सिकलसेल एनिमियाको निःशुल्क परिक्षण र उपचारको व्यवस्था गरिएको भन्दै उनले दोस्रो पटक मुख्यमन्त्रीका हुँदा पुरानै गति अनुसार अगाडि बढ्ने बताएका थिए ।

उनले कसैले भ्रष्टाचार गरेको प्रमाण सहित फेला परेमा तत्काल कानुन बमोजिम कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने बताए । ‘म आर्थिक पारदर्शिता, मितव्ययिता र अभिलेखीकरण आर्थिक प्रशासनको मूल मन्त्र हो भन्नेमा पूर्ण विश्वस्त छु र, तदनुरूप नै प्रशासनिक संयन्त्र अगाडि बढाउने पुनः विश्वास दिलाउँछु’, उनले संसद्मा भने ।

अहिले पनि प्रदेशमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको कमी रहेको भन्दै आफूले यस विषयलाई प्राथमिकता दिने बताएका थिए । उनले प्रदेश सरकारको उपस्थिति अनुभूत गराउन विगतका सफल अभ्यासको अनुसरण र गल्ती कमी कमजोरी सच्याउँदै अघि बढ्ने अठोट दोहोर्याए । पहिलो कार्यकालको अनुभवका आधारमा अव सानो गल्ती गर्ने छुट नभएको मुख्यमन्त्री शाहको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर