ताप्लेजुङमा पहिराले बगायो दुई घर – Nepal Press

ताप्लेजुङमा पहिराले बगायो दुई घर

ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए ।

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए ।

होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ ।

‘साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ’, वडाध्यक्ष शेर्पाले भने ।

पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर