मृत्युको छायाँ मडारिएको त्यो पल – Nepal Press
ब्लग

मृत्युको छायाँ मडारिएको त्यो पल

२०८१ सालको साउन महिना पनि बिदा हुने तरखरमा छ । मेरा लागि कहिल्यै नबिर्सिने महिना हो- साउन । मेरो पुनर्जन्म भएको महिना साउन, म चाहेर पनि भुल्न सक्दिनँ । पुनर्जन्म भएको हिसाबले ३ वर्ष पूरा भएर ४ लागेको छ । अनि रोग पत्ता लागेको हिसाबले साढे ४ वर्ष । २०७८ साल साउनमा मेरो बोनम्यारो प्रत्यारोपण भएको थियो । म यतिबेला मेरो उपचारमा अहोरात्र खट्ने निजामती अस्पतालका रक्तक्यान्सर रोग विशेषज्ञ विशेष पौडेललाई सम्झिरहेको छु । उहाँले मलाई पुनर्जन्म नदिएको भए मेरो यमलोकको यात्रा त्यही बेला तय हुन्थ्यो ।

कोभिड १९ को कहरले लपेटेको बेला खान नपाएर हस्पिटलको क्यान्टिनबाट रोटी मगाएर पानीसँग निलेको अनि चट्टानको छाती बनाएर भित्रभित्रै तड्पिँदै जीवन साथीले आधा वर्ष हस्पिटलमा बिताएको त्यो क्षण चाहेर पनि बिर्सन सकिरहेको छैन । पटकपटक मृत्युको छायाँ मडारिएको त्यो पल सम्झँदा अहिले पनि अत्यास लाग्छ । बाँच्न हरतरहले मृत्युसँग लडिरहेको त्यो क्षण चाहेर पनि भुल्न सकिरहेको छैन । पीडाको पहाड सहन नसकेर मृत्युको कामना गर्दै तड्पिएको क्षण मेरो स्मृतिपटलमा गढेर बसेको छ । कडाखाले रक्त क्यान्सर, तीन चोटी कोभिड, आधा दर्जन पटक निमोनिया भोगेको सम्झन्छु । अनि सम्झन्छु ती प्रियजन, जसले मलाई त्यो कहालीलाग्दो अवस्थामा पनि हरतरहले बाँच्न प्रेरित गर्नुभयो ।

एकातिर कोभिडको कहर अर्कोतिर क्यान्सरको कष्ट । यी दुवैले झण्डै मलाई मृत्युको संघारमा पुर्‍याए, तर लगिहालेन । गलायोमात्रै । धेरै पटक बेहोस बनायो । धेरै चोटी लडायो । कहिले बेहोस भएर बाथरुममा ढलायो । कहिले बसेकै ठाउँमा लडायो । धेरै पटक लडेर पनि उठ्न सके । उठेर दौडिन सक्ने भएको छु । नेपालमै चिकित्सकको राम्रो उपचार पाएर बाँचे । किनकि त्यो बेला मेरो आत्मबल खस्किन पाएन । त्यसका पछाडि ती धेरै प्रियजनहरुको हात छ । म थाकेको अवश्य थिएँ, तर कहिल्यै हरेस खाइनँ ।

क्यान्सर प्राणघातक रोग हो, तर डराउँदैमा त्यसबाट छुटकारा पाइने हो र ? रोग लागिहाल्यो, अब डराएर र आत्तिएर केही हुन्छ ? क्यान्सरको पर्याय मृत्यु पनि त होइन । क्यान्सर जीवनको अन्त्य पनि होइन । बेलैमा उपचारमा जाने, हिम्मत जुटाउने, आत्मबल बढाउने, हरेस नखाने, धैर्य गर्ने हो भने अवश्य क्यान्सरलाई जितिन्छ ।

म अहिले विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरका बिरामीहरुका लागि मनोपरामर्श गर्छु, हौसला दिन्छु । बाँच्न प्रेरित गर्छु । निरास नहुन आग्रह गर्छु । अँध्यारोपछि उज्यालो हुने प्रकृतिको नियम सम्झाउँछु । जिन्दगीदेखि हरेस नखान सल्लाह दिन्छु । किमो र रेडियसन थेरापीको कारण हाडछालामात्र बाँकी भएर डिस्चार्ज भएकाहरु २-३ महिनामा फलोअपमा आउँदा अनुहार निकै फेरिएको पाउँछु । उनीहरु मुसुक्क हाँस्दा औधी खुसी लाग्छ । हाँसोले औषधिको काम गर्छ । मेरो अनुभवले पनि यो कुरालाई पुष्टि गर्छ । हरहमेशा उनीहरुमा सकारात्मक ऊर्जा उत्पन्न होस् भन्ने चाहन्छु । क्यान्सरका बिरामी आफ्नै परिवारको सदस्य झैं लाग्छ । धेरैले मलाई उहाँहरुलाई मनमा लागेको कुरा फोनमा पनि सोध्नुहुन्छ । म घण्टौं कुरा गर्छु । जीवन एकनासले कहाँ चल्छ र ! जीवनको आफ्नै चक्र हुन्छ । जीवन हो घामपानी, सहनै पर्छ । क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्ने पनि हुँदैन । समयमै उपचार हुन सक्यो भने धेरैखाले क्यान्सर निको हुन्छ ।

क्यान्सरका बिरामीलाई मेरो बाबै के रोग लाग्यो नि भनेर ‘बिचरा’ बनाउने होइन । लोलोपोतो धेरै गर्ने होइन । मान्छेको शरीर हो, रोग लाग्छ उपचार गर्दा निको हुन्छ भन्ने हो । क्यान्सरका बिरामीलाई मनोबल बढाएन भने शरीर झनै कमजोर हुन्छ । शरीर कमजोर भयो भने क्यान्सरसँग लड्न सकिँदैन । थिलथिलो भएको शरीरले किमोको कहर थेग्न सक्दैन । औषधिको असरले केही खान मनलाग्दैन । खानमा पटक्कै रुचि हुँदैन । दाँतले चबाउन सक्दैन । जिब्रोले स्वाद थाहा पाउँदैन । खानेकुरा परैबाट गनाउँछ । वाकवाकी लाग्ने, बान्ता हुने नियमित प्रक्रिया बन्छ । त्यसले शरीर झनै गलाउँछ । उनीहरुलाई त्यो बेला उपचारको अलावा हौसलाको खाँचो हुन्छ ।

त्यसैले बिरामी आफैंले आफूलाई दह्रो बनाउँदै जाने हो । त्यसलाई परिवारका सदस्यले साथ दिने हो । हुन त कुनै घरमा क्यान्सरको कहर छिरेपछि त्यो परिवार तहसनहस हुन्छ- मानसिक, सामाजिक, आर्थिक सबै हिसाबले । थाहा छ, तर उपाय पनि त छैन । घरमा क्यान्सर छिरेपछि त्यसको सामना गर्नुको विकल्प पनि त छैन । क्यान्सर शब्द सुन्नेबित्तिकै हामी धेरैजसो डराउँछौं । स्वाभाविक हो । क्यान्सर प्राणघातक रोग हो, तर डराउँदैमा त्यसबाट छुटकारा पाइने हो र ? रोग लागिहाल्यो, अब डराएर र आत्तिएर केही हुन्छ ? क्यान्सरको पर्याय मृत्यु पनि त होइन । क्यान्सर जीवनको अन्त्य पनि होइन । बेलैमा उपचारमा जाने, हिम्मत जुटाउने, आत्मबल बढाउने, हरेस नखाने, धैर्य गर्ने हो भने अवश्य क्यान्सरलाई जितिन्छ ।

हामी सबैको शरीर सूक्ष्म कोषिकाहरुले बनेको हो । कुनै कारणबस ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो । यो विज्ञानले पुष्टि गरिसकेको छ । शरीरको कुनै यस्तो अंग हुँदैन जसमा क्यान्सर नछिरेको होस् । बाघले एक्कासि हरिणलाई आक्रमण गरे जत्तिकै अप्रत्याशित रुपमा लाग्छ क्यान्सर ।

विश्वमा तथा नेपालमै कतिपय प्रतिष्ठित व्यक्ति विशेषले क्यान्सरलाई जितेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर, ७ पटक विश्व साइकल चालक विजेता ल्यान्स आर्मस्ट्रङ, अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, प्रसिद्ध अमेरिकी अभिनेत्री एन्जेलिना जोली, जोर्डनका राजा हुसेन बेन, भारतीय चर्चित क्रिकेट खेलाडी युवराज सिंह, भारतीय चर्चित कलाकार सोनाली बेन्द्रे, राकेश रोशन, किरण खेर अहिले आएर सञ्जय दत्त लास्ट स्टेजको क्यान्सर विजेता हुन् । उपचारसँगै सकारात्मक सोचको उपज उनीहरुले क्यान्सर जित्न सम्भव भएको हो । क्यान्सरलाई स्वीकार्नुपर्छ । समाजले क्यान्सरलाई स्वीकार्न धेरै गाह्रो मानेको देख्छु । विकसित देशहरूमा सम्बन्धित चिकित्सक र अस्पतालले बिरामीलाई उसको रोगबारे सम्पूर्ण जानकारी दिनैपर्छ भन्ने मान्यता छ । उनीहरुले त्यो बिरामीको नैसर्गिक अधिकार हो, मानव अधिकार हो भन्छन्, तर हामीलगायत कतिपय अल्पविकसित देशहरुमा बिरामीलाई थाहा दिनुहुँदैन भन्ने मान्यता छ । कतिपय बिरामीलाई जानकारी नदिइ उपचार गर्‍यो भने आयु लम्ब्याउन सकिन्छ भन्ने हाम्रो मान्यता छ । कतिपय बिरामीको हकमा त्यो सही पनि भएको छ ।

हामी सबैको शरीर सूक्ष्म कोषिकाहरुले बनेको हो । कुनै कारणबस ती सूक्ष्म कोषिकाको अनियन्त्रित वृद्धि हुँदै जानु नै क्यान्सर हो । यो विज्ञानले पुष्टि गरिसकेको छ । शरीरको कुनै यस्तो अंग हुँदैन जसमा क्यान्सर नछिरेको होस् । बाघले एक्कासि हरिणलाई आक्रमण गरे जत्तिकै अप्रत्याशित रुपमा लाग्छ क्यान्सर । यसले उमेर, लिङ्ग, अङ्ग, जात, वर्ण केही छुट्टाउँदैन । शरीरको टाउकोदेखि खुट्टासम्म, भर्खर जन्मेको शिशुदेखि वृद्ध अवस्थासम्म र कुनै पनि धर्म, जातका व्यक्तिलाई लाग्न सक्ने रोग हो क्यान्सर । अहिले हरेक घरमा यो समस्या भित्रिरहेको छ, तर कतिपयले बेवास्ता गर्दा रोग बढेर उपचार नै नहुने अवस्थामा पुगिसकेको हुन्छ । क्यान्सर अब एक व्यक्तिको मात्र समस्या रहेन । समाजकै समस्या बनेको छ । क्यान्सरका रोगीहरुको बढ्दो क्रमले यो पुष्टि गर्छ ।

म जहिले पनि आफूलाई चिनाउँदा क्यान्सर सर्भाइभर भनेर परिचय दिने गर्छु, तर क्यान्सर शब्द सुन्नेबित्तिकै कतिपय मेरो टाउकादेखि खुट्टासम्म हेरेर नपत्याए झैं गर्नुहुन्छ । मैले हो भने पनि उहाँहरुलाई पत्याउन मुस्किलपर्दो रहेछ । अहिले पनि समाजमा क्यान्सर यति भारी शब्द छ कि यसैले थिचेर मरिने हो कि भन्ने डर पो हुन्छ । हाम्रो समाजले क्यान्सरलाई हाउगुजी बनाइदिएको छ । शरीरको क्यान्सर त उपचार गरे निको पार्न सकिन्छ, तर ‘समाजमा व्याप्त क्यान्सर’ निको पार्न समय लाग्छ ।

(लेखक पौडेल ब्लड क्यान्सर सर्भाइभर हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *