गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि सरकारको अर्को पहल – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि सरकारको अर्को पहल

वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार, विमान कम्पनीलाई थप सहुलियत तथा थाई एयरवेजसँग उडान सम्झौता

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीले प्रशस्त विजनेस नपाएको बहानाबाजी गरिरहेको बेला सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गराउन वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय भएको हो ।

पश्चिम क्षेत्रको केन्द्रको रूपमा रहेको यो विमानस्थलको प्रयोग गरेर वैदेशिक रोजगारीमा जानेहरूको संख्या निकै धेरै रहेकाले पनि सरकारले त्यसैलाई आधार मानेर यो निर्णय गरेको आंकलन गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णयले विमानस्थल चलायमान हुने अपेक्षा गरिएको यहाँका पर्यटन व्यवसायी तथा स्थानीयको छ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्दै भैरहवा र पोखराबाट समेत सेवा लिन सकिने गरी निर्णय भएको हो ।

हाल काठमाडौंबाट प्रदान गरिरहेको सेवा र सम्पादन गरिरहेका काम भैरहवा र पोखराबाट हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको हो । मोफसलमा दुई नयाँ विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामका लागि काठमाडौंमै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

नियमित सवारी पाउन असहज बनेसँगै यी विमानस्थलबाट उडान भर्न वायुसेवा कम्पनीले इच्छा देखाएका थिएनन् । रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य बनेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विमानस्थल निर्माणदेखि सञ्चालनका लागि लगातार पहल गर्दै आएको प्रधानमन्त्री केपी शर्मा ओली यसअघि रुपन्देही आउँदा पनि यो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको यी दुई विमानस्थल सञ्चालन गर्ने कार्ययोजनामा समेत यो विषय समावेश रहेको छ । भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय समेत श्रम मन्त्रालयले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले ऐन, नियम कार्यविधिमा संशोधन वा निर्णय गर्नुपर्ने भए मन्त्रालयले अध्ययन गरी व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

अहिलेको सरकार बने लगत्तै यी दुई विमानस्थल सञ्चालन मोडालिटी सबै सरोकारवाला निकायसँग माग गरिएको र त्यसपछि यसका लागि केही आधारहरू तयार भएकाले यसलाई सकारात्मक सन्देश मान्न सकिने रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य रहेका वासुदेव घिमिरेले बताएका छन् ।

०७९ जेठ २ गते उद्घाटन भएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा यसको आधारमा अरबौँ लगानी गरेको निजी क्षेत्र निराश बनेको छ । घिमिरेले निरन्तर प्रयासको प्रतिफल स्वरूप यो काम गर्न सकिएको बताएका छन् ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने ‘अवस्था अन्त्य भएको छ, यी कामहरू अब रुपन्देहीबाटै सम्पादन हुनेछन्, यो पहल र नेतृत्वका लागि प्रधानमन्त्रीज्यूसहितको टीमलाई बधाई छ’ उनले भने । सरकारकै पहलमा केही दिनअघि नै थाई एयर एसियाले भैरहवाबाट साताको चार उडान गर्ने सम्झौता गरेको थियो ।

पछिल्लो पटक नेपाल सरकारसँग थाई एअर एशियाले सात वटा उडानको अनुमति मागेको र त्यसबारे निर्णय लिँदा आफूहरूले चार वटा उडान काठमाडौंमा र चार वटा उडान भैरहवामा गर्ने निर्णय दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उक्त वायुसेवाले काठमाडौंबाट अक्टोबर २ मा र भैरहवाबाट अक्टोबर २७ बाट उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरणले चार वटा नियमित उडान गर्नकोलागि अनुमति दिएपछि यहाँ आशा जागेको छ । विमानस्थल निर्माणपछि पर्यटन उद्योग विस्तार हुन्छ भनेर लगानी गरेका व्यवसायी समस्यामा परिरहेका बेला सरकारले विमानस्थल चलाउन प्राथमिकता दिएपछि अहिले निजी क्षेत्रमा केही उत्साह थपिएको छ ।

यो विमानस्थल लुम्बिनी क्षेत्रको विकासको आधार रहेको र यसले पर्यटन उद्योग विस्तारसँगै धेरै रोजगारी सृजना गर्दै यहाँबाट सिधा उडान गर्नसक्दा कृषिजन्य उत्पादनलाई निर्यात गर्नसक्ने ठूलो आधार रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

उनले राज्यले अर्बौँ ऋण खोजेर बनाएको विमानस्थल चलाउन नसक्दा ठूलो घाटा त छँदैछ त्यसैलाई आधार मानेर व्यवसायीको झन् ठूलो लगानी जोखिममा परिरहेकोले राज्य र निजी क्षेत्रको लगानी जोखिममा पर्दै जाने र युवा रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशमा जानुपर्ने बाध्यतालाई हटाउन विमानस्थल चलाउन अब ढिलाइ गर्न नहुने जनाएका छन् ।

अहिले भएका यी सम्झौतालाई आधार मानेर यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले यसलाई कार्यान्वयन गराउन सक्दो पहल गर्नुपर्ने धारणा यहाँका स्थानीयको छ । स्थानीय वीरेन्द्र प्रसाद पाण्डेले विदेश जान बनाइने सबै कागजपत्रको काम रुपन्देहीबाट नै हुने भएपछि विदेश उड्न पनि भैरहवाबाटै व्यवस्था हुनुपर्ने माग गर्दै यसको खबरदारी जनप्रतिनिधिले गर्नुपर्ने बताएका छन् ।

स्थानीय बद्री घिमिरेले अब भैरहवाबाट छिटै विदेश जान मिल्ने सबै व्यवस्था मिलाउन माग गरेका छन् । स्थानीय उदगनाथ पोखरेलले सबैभन्दा धेरै काम सम्बन्धित देशका भिसा सेन्टरको हुने र अनि सबैभन्दा धेरै रोजगारदाता देशमा हुने उडानमा सम्बन्धित उडानहरूको रुट स्वीकृत दुवै तर्फबाट हुने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

स्थानीय साबित्रा घिमिरेले अब भैरहवादेखि सबै देशमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने वातावरण बनाउन अनुरोध गरेकी छन् ।
स्थानीय दिननाथ भण्डारीको पनि उस्तै भनाइ रहेको छ । ‘सकभर वर्किङ भिसामा बिदेशिनु नपरोस् परिहालेछ भने पनि यतैबाट उड्न पाइयोस् अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा लुम्बिनी प्रदेशवासी’ उनले भनेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सबै किसिमको सेवा यहाँ उपलब्ध गराइने भएपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं जान नपर्ने मात्रै होइन त्यसबाहेक सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गर्ने सेवा सम्बन्धित कार्यालयहरूले उपलब्ध गराउने भएपछि थप सहजता हुने स्थानीयको अपेक्षा छ।

यसका साथै भिसा सेन्टर स्थापनाका लागि विभिन्न देशहरूलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गरिने, श्रम मन्त्रालयले कानुन परिमार्जन गर्ने र आफ्नो मन्त्रालयअन्तर्गतका सेवा प्रदेश कार्यालयहरूमार्फत उपलब्ध गराइने पनि जनाइएको छ।
अघिल्लो वर्ष विभिन्न सात वटा अन्तर्राष्ट्रिय वायुसेवामार्फत ६ लाख ३२ हजार भन्दा बढी कामदार विभिन्न देशमा रोजगारीमा गएका थिए।

यसैबीच सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष सुविधा दिने भएको छ। भैरहवा र पोखराका विमान सञ्चालन गर्न दबाब झेल्दै आएको सरकारले ती विमानस्थलमा वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विशेष किसिमको सहुलियत दिने रणनीति बनाएको हो।

सरकारले ती विमानस्थलमा बिक्री गरिने हवाई इन्धनको मूल्यमा समेत पुनर्विचार गर्ने तथा टिकटमा भ्याट नलिने निर्णय गरेको छ। सरकारले दिने उक्त छुट आगामी ०८३ भदौसम्म लागू हुनेछ।

सरकारले विमानस्थल चलाउने उपायको खोजी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले तयार पारेको कार्य योजनालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो।

इन्धनमा सहुलियत र टिकटमा भ्याट नजोडिँदा टिकटको मूल्य घट्ने भएकाले त्यसले पर्यटकसहित अन्य यात्रुलाई ती विमानस्थलतर्फ आकर्षित गर्न सक्ने कार्यदलको निष्कर्ष छ।

सरकारले आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रातिको समयमा उडानहरू बन्द गरेर ती विमानस्थलमा डाईभर्ट गर्ने योजना बनाएको छ। यसले पनि पोखरा र भैरहवा विमानस्थल सक्रिय हुने अवस्था देखिन्छ।

हाल २१ घण्टा उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी नोभेम्बर ८ गतेबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने छ।

भैरहवाको विमानस्थलमा केही समय नियमित अन्तर्राष्ट्रिय उडान भए पनि त्यो नियमित हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *