सुदूरपश्चिममा शक्ति सङ्घर्ष : माओवादी विभाजित, नाउपा एकीकृत – Nepal Press

सुदूरपश्चिममा शक्ति सङ्घर्ष : माओवादी विभाजित, नाउपा एकीकृत

केन्द्रमा रेशम रञ्जिता विवादकाबीच एक ठाउँमा उभिए सुदूरपश्चिमका सांसद, दुई गुटमा विभाजित भयो माओवादी

कैलाली । बुधवार करिब चार महिनापछि नागरिक उन्मुक्ति पार्टीका सबै सांसद सत्ता पक्षको बेन्चमा बसे । त्यसअघि दीर्घ सोडारी नेतृत्वको सरकारमा २ सांसद सत्ता पक्षको बेन्चमा बस्दा ५ सांसद प्रतिपक्षको बेन्चमा बसिरहेका देखिन्थे ।

सोडारी नेतृत्वको सरकारमा रन्जिता पक्षमा कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका थिए । त्यसबाहेक घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी, लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रतिपक्षमा बस्दै आइरहेका थिए ।

नयाँ सत्ता गठबन्धन बनेपछि गत फागुन २३ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। सोही अनुसार चैत्र २२ गते विश्वासको मत लिन मुख्यमन्त्री कमलबहादुर शाहले तयारी गरेका थिए । तर, उनलाई नाउपाका रेशम पक्षमा ५ सांसदले समर्थन गर्दा रन्जिता पक्षका २ सांसदले समर्थन गरेनन् । नाउपा विभाजित हुँदा राजीनामा दिएका शाह दोस्रो पटक मुख्यमन्त्री भएर विश्वासको मत लिँदा भने नाउपाका सबै सांसदहरू सँगै उभिए ।

जेठ ३ गते तत्कालीन मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदा नाउपाका २ जनाले पक्षमा मतदान गरेका थिए भने ५ जनाले संसद् बहिस्कार गरेर निस्किएका थिए ।

शाह नेतृत्वको सरकारमाको अन्तिम समयबाट विभाजित देखिएको नाउपा शाह नेतृत्वको सरकारले विश्वासको मत पाउँदा भने एकीकृत देखिएको छ । बुधवार यहाँका ७ जना सांसद सत्ता पक्षमा मात्रै बसेनन् उनीहरूले पक्षमा मतदान समेत गरे ।

अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबिच शक्ति सङ्घर्ष उत्कर्षमा पुग्दा यहाँ दुवै पक्षमा दलका नेता फरक फरक थिए। रन्जिता पक्षले कैलाश चौधरीलाई र रेशम पक्षले घनश्याम चौधरीलाई दलको नेता बनाएका थिए ।

असार २९ मा खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरीको पनि हस्ताक्षरसहित खुसीराम चौधरी दलको नेता बनेका थिए भने त्यसको केही दिनपछि लक्ष्मण किशोर चौधरीले घनश्याम चौधरीलाई समर्थन गर्दा घनश्याम दलको नेता चयन भएका थिए ।

विगत चार महिनादेखि देखिएको शक्ति सङ्घर्ष अहिले मत्थर भएको देखिएको छ ।

‘सामान्य केही बुझाइहरू फरक भएको थिए त्यस्तो ठूलो विवाद केही थिएन अहिले हामी एकै ठाउँमा छौँ ‘ नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले भने ‘सबै मिलेर अगाडि बढ्छौँ ।’

मुख्यमन्त्री शाहले विश्वासको मत लिँदा विभाजित भएको नाउपा एक ठाउँमा आउँदा माओवादी भने प्रस्ट दुई धारमा विभाजित भएको देखियो ।

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् ।

माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । बहुमत सांसदहरूले दलको नेताबाट हटाएपछि तत्कालीन दलका नेता खगराज भट्ट रुष्ट बनेका थिए । उनी निरन्तर संसद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ असार १२ गते पत्र नै लेखेर सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । अध्यक्ष र महासचिवको सर्कुलरपछि पनि दलको नेता हेरफेर नभएपछि माओवादीका थप विवाद बढेको हो ।

दलको नेता परिवर्तनको गृहकार्य नहुँदै फेरि सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता मानबहादुर धामीले गीता माललाई प्रमुख सचेतक नियुक्त गरेपछि माओवादीमा थप विवाद चुलिएको हो ।

‘दलको नेता परिवर्तनको बहस भइरहेका बेला उहाँले फेरि एकलौटी प्रमुख सचेतक नियुक्त गर्नुभयो कुनै छलफल गर्नु भएन’ माओवादी एक सांसदले भने ।

सुदूरपश्चिममा माओवादीमा सभामुख बाहेक १० सांसद छन् । १० सांसद मध्ये धामीको पक्षमा ५सांसद छन् भने भट्टको पक्षमा ५ सांसद छन् ।

धामीसहित अक्कल रावल, ओम क्रिम भाट,गीता माल र लक्ष्मी विक एउटा समूह बन्दा भट्टसहित झपट साउद, रमेश धामी, शिव सिंह ओली र जानकी कुवर अर्को समूहमा विभाजित भएका छन् ।

अहिले माओवादी प्रमुख प्रतिपक्षी दल भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई पनि सवारी सुविधा रहेको छ ।

अहिले दुवै सुविधा एउटै समूहका नेताले लिन लागेको भन्दै पनि विरोध भइरहेको छ । यता मानबहादुर धामीले भने आफूलाई बहुमत सांसदहरूले दलको नेता बनाएको भन्दै बहुमतबाट मात्रै हट्ने तर, राजीनामा नदिने बताउँदै आइरहेका छन् ।

दुई समूहमा विभाजित भएको माओवादीमा थप शक्ति सङ्घर्ष उत्पन्न हुँदै गइरहेको छ।

माओवादीका उपनेता अक्कल रावलले माओवादी सांसदहरू बाहिर भएको हुँदा संसद्मा नआएको बताए । उनले ह्विप जारी नगरिएको हुँदा पनि आफ्ना सांसदहरू नआएको उनको तर्क थियो ।

‘उहाँहरू यहाँ हुनुहुन्थेन हामीले सल्लाहमै विपक्षमा मतदान गर्ने तर, ह्विप जारी नगर्ने कुरा गरेका हौँ’ उनले भने, ‘ह्विप लगाएको भए अनिवार्य उपस्थित हुनुपर्ने थियो ह्विप लगाएनौँ त्यसैले पनि नआउनु भएको होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर