नेकपा एसलाई गाभ्ने प्रचण्डको दाउ, कति खाेज्लान् माधव नेपालले भाउ ? – Nepal Press

नेकपा एसलाई गाभ्ने प्रचण्डको दाउ, कति खाेज्लान् माधव नेपालले भाउ ?

काठमाडौं । प्रतिपक्षमा हुत्तिएका प्रचण्ड शक्ति बढाउन अहिले वृहत् वामपन्थी एकताको गृहकार्यमा जुटेका छन् । सत्ताबाट बाहिरिएपछि पार्टीभित्रैबाट पनि घेराबन्दी बढेपछि वामपन्थी एकताको तुरुप फ्याँकेर फेरि आफूलाई शक्तिमा फर्काउने प्रयासमा उनी लागेको भन्दै टिप्पणी पनि भइरहेको छ ।

पार्टीमा नेतृत्व हस्तान्तरणको माग उठिरहेको बेला उनले नेकपा एकीकृत समाजवादीसँग एकताको पहल गरेका हुन् । प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग यही साता दुई पटक भेट गरिसकेका छन् । यही बीचमा उनी समाजवादी मोर्चामा रहेका दलहरूको एकताको प्रयासमा पनि निरन्तर छन् ।

आज खुमलटारमा भएको भेटमा माओवादीसँग एकताको लागि अध्यक्ष नेपाल सकारात्मक भएको स्रोतले बतायो । यसअघि सोमबार प्रचण्ड नेपालको कोटेश्वरस्थित निवासमै पुगेका थिए । एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतको भनाइ छ । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार छन् ।

अब वृहत् वाम एकताको विकल्प नभएकाले अध्यक्ष प्रचण्डले पहल थालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामी कम्युनिष्ट पार्टी पुनर्गठनको पक्षमा छौं । एकपल्टको प्रयास बिग्रियो भनेर सधैँ बिग्रिने हुँदैन । त्यसैले वृहत् वामपन्थी एकता कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि अनिवार्य छ ।’

सापकोटाले प्रचण्डको नेतृत्वमै कम्युनिष्ट पार्टी पुनर्गठनको सम्भावना रहेको जिकिर गरे ।

अहिले समाजवादी मोर्चालाई नै सक्रिय बनाउने र भविष्यमा एकता नै गर्ने गरी छलफल चलिरहेको माओवादीका सचिव दिनानाथ शर्मा बताउँछन् ।

उनले भने, ‘समाजवादी मोर्चालाई सक्रिय बनाउने भन्ने छलफल भइरहेको छ । मोर्चाको माध्यमबाट पार्टी एकताको सम्भावना भयो भने पनि खोजी गर्ने एकता सम्भव हुन्छ भनेर गरेर जानुपर्छ भन्नेमा छौं । अहिले भर्खरै पार्टी एकता भइहाल्छ भन्ने होइन ।’

आफूहरूले पहिलादेखि नै वामपन्थी एकताको पहल गरिरहेकाले अध्यक्षले माधव नेपाललाई एकताको प्रस्ताव राख्नु स्वाभाविक भएको शर्माले बताए ।

उनले थपे, ‘हामी वामपन्थी एकताको प्रयासमा छौं । अध्यक्षले माधव नेपाललाई पनि त्यहीअनुसार प्रस्ताव राख्नुभएको हो । हिजो पनि पार्टी एकता नै गरेको हो । वृहत् वामपन्थी एकता गर्नुपर्छ भन्ने त हाम्रो मूल लाइन नै हो नि !’

एमालेबाट अलग हुनेको औचित्य पुष्टि नभएको भन्दै आलोचना खेपेका अध्यक्ष नेपाललाई गएको निर्वाचनमा राष्ट्रिय दल बन्न नसकेपछि पार्टी निरन्तर ओरालो यात्रामा छ । तत्काल एमालेसँगको एकता सम्भव नदेखिएको र नेता-कार्यकर्ता टिकाइराख्न माओवादीसहितको एकतामा उनी बढी सक्रिय भएको बताइन्छ । थ्रेस होल्ड बढाउने चर्चाले नेपालमाथि अझै दबाब छ ।

तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ । माओेवादीसँग एकता गर्दा नेकपा एसको ठूलो पंक्ति एमालेमा फर्किनसक्ने त्रास माधवसँग छ ।

के चाहन्छन् माधव ?

अध्यक्ष नेपालले प्रचण्डसँग नियमित भेट गरिरहेको नेकपा एसका नेता सोमप्रसाद पाण्डेले स्वीकारे ।

उनले भने, ‘प्रचण्डजीसँग अध्यक्षको नियमित भेट भइरहेको छ । अहिले उहाँहरूबीच मोर्चालाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । मोर्चा हुँदै वाम एकताको आधारमा बनाउन सकिन्छ कि भनेर पहल भइरहेको छ ।’

पाण्डे अध्यक्ष नेपाल कम्युनिष्ट आन्दोलनलाई भोलि कसरी बचाउने भन्नेबारे छलफल गरेर अघि बढ्ने सोचमा रहेको जिकिर गर्छन् ।

उनले थपे, ‘माओवादीसँग मात्रै होइन, अरु वामपन्थी पार्टीसँग पनि छलफल त भइरहेका छन् । अहिले पछिल्लो भेटमा चाहिँ संविधान संशोधन, थ्रेसहोल्ड बढाउनलगायतको कुरा आइरहेका छन् त्यो विषयमा कसरी जाने भन्ने विषयमा भेट गर्नुभएको हो ।’

उनले माओवादीसँग पार्टी एकताको विषयमा कुरा उठेपनि औपचारिक छलफल नभएको बताए ।

नेता पाण्डेले भने, ‘पार्टी एकताबारे धेरै छलफल भइसकेको छैन । कुरा उठेको छ । हामीले अहिले मोर्चालाई प्राथमिकता दिएका छौं । मोर्चालाई बलियो बनाएर त्यसपछि थप वामपन्थी एकताको जोड हो । यो मोर्चा कार्यगत एकता नै हो ।’

माओवादीसहित विप्लव नेतृत्वको नेकपा, महेन्द्र यादव पक्षको नेसपासहित अन्य कम्युनिष्ट घटकलाई पनि समेटेर अघि बढ्ने उनले सुनाए । चुनाव आउन ३ वर्षभन्दा धेरै बाँकी भएकाले त्यो बेलासम्म के हुन्छ अहिले नै भन्न नसकिने उनको भनाइ छ । प्रधानमन्त्री बनाउन पहल गर्ने शर्तमा प्रचण्डले एकताको प्रस्ताव राखेको भए त्यो गलत भएको पाण्डेले बताए ।

नेकपा एसले माओवादीसँग एकतासहित मोर्चालाई अगाडि बढाउने विषयमा दुई नेतालाई आवश्यक गृहकार्यको लागि जिम्मेवारी दिइएको एक नेताले बताए ।

ती नेताले भने, ‘माओवादीसँग एकताको कुरा छलफलमा छ । त्यसका लागि दुई नेतालाई जिम्मेवारी दिएका छौं । उहाँहरूले छलफल गर्दै हुनुहुन्छ ।’

यसअघि उपमहासचिव वर्षमान पुन पनि नेकपा एसको कार्यालयमा पुगेर घनश्याम भुसालसँग पार्टी एकताको विषयमा छलफल गरेका थिए । दुई नेताहरू अहिले पार्टी एकताको गृहकार्य गरिरहेका छन् ।

प्रवक्ता जगन्नाथ खतिवडा  कम्युनिष्ट पार्टीबीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलिरहेको भएपनि कुनै पार्टीसँग एकीकरण गर्ने कुरा नभएको बताउँछन् ।

उनले भने, ‘कम्युनिष्ट पार्टीहरूको बीचमा समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षहरूमा समीक्षा गर्न छलफल चलिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरूको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्यो भन्दा बढी केही छैन ।’

उनले आफ्नो पार्टीको कलम चुनाव चिन्ह विशेष परिचय भएको भन्दै यो परिचयलाइ मेट्ने गरी पार्टीले कुनै काम नगर्ने जनाए ।

के भन्छन् झलनाथ ?

माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावना नरहेको नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताए ।

उनले भने, ‘हाम्रो पार्टीले भर्खरै महाधिवेशन गरेको छ । कतिपय कमिटी नै बनेको छैन । माओवादीसँग एकताको विषयमा छलफल भएको छैन । प्रचण्डबाट एकताको प्रस्ताव आउनु स्वाभाविक हो । यद्यपि, उनले एकताको सम्भावना भने नकारेनन् ।

अहिले एउटै मोर्चामा हुनुहुन्छ, माओवादीसँग विचार मिल्यो भने एकताको तहमा पनि पुग्नसक्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘सबै कुरा मिल्यो भने त बेर पनि लाइँदैन । तर, मिल्छ/मिल्दैन, अहिले भन्न सकिँदैन ।’

एमालेभन्दा बाहेकका र एमालेभित्रका अध्यक्ष केपी ओलीबाहेकको कम्युनिष्टहरू एकताबद्ध हुनुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

प्रचण्डले अध्यक्षलाई प्रधानमन्त्री बनाइदिने शर्तसहित एकताको प्रस्ताव राख्नुभएको चर्चा छ नि ! भन्नेबारे उनले थपे, ‘अब सडकमा आएपछि चाहिँ प्रधानमन्त्री बनाउने, अहिलेसम्म के हेरेर बस्या त ? प्रधानमन्त्री बनाउने/नबनाउने म जान्दिनँ । यो भन्या छलछाम र षड्यन्त्रको कुरा हुन् । प्रधानमन्त्रीतिर म लाग्दिनँ । त्यो प्रस्तावबारे थाहा पनि छैन ।’

उनले एमालेभित्र व्यापक उथलपुथल हुनसक्ने भन्दै कि नेतृत्व फेरिनुपर्ने नभए विभाजित हुनसक्ने विश्लेषण गरे । तर, माओवादी सचिव चक्रपाणि खनाल पनि मोर्चालाई एउटै पार्टीमा रुपातन्तरण गर्नुपर्ने मत राख्छन् ।

खनालले भने, ‘समाजवादी मोर्चा एउटै चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा जाने परिस्थिति बन्दा धेरै राम्रो, त्यो बनाउने कोसिस गर्नुपर्छ । पहिलो- हामी पार्टी एकतामै जोड दिन्छौं । यहाँ धेरै पार्टीहरू सहभागी हुने परिवेश पनि बन्दैछ ।’

एकता नभए अलगै पार्टीमा रहे पनि एउटै चुनाव चिन्हबाट लड्नेगरी तयारी गर्नुपर्ने बताए ।

विप्लव तयार, ‘पर्ख र हेर’ को अवस्थामा उपेन्द्र

प्रचण्ड सत्तामा हुँदा निष्क्रिय रहेको समाजवादी मोर्चा अहिले सक्रिय भइरहेको छ । मोर्चाको संयोजक नेकपा महासचिव विप्लव छन् । उनी ढिलोचाँडो प्रचण्डलाई फेरि नेतृत्व स्वीकारेर पार्टी एकताको लागि तयार छन् ।

तर, मोर्चामा सुरुआतदेखि नै जोडिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने अहिले सहभागी छैन। प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा ओलीसँग मिलेर आफ्नो पार्टी फुटाइदिएको उपेन्द्रको बुझाइ छ ।

जसपा नेपालका प्रवक्ता समाजवादी मोर्चाको औचित्य समाप्त भइसकेको जिकिर गरे ।

उनले भने, ‘हामी अहिले मोर्चामा सहभागी छैनौं। त्यसको औचित्य नै समाप्त भइसक्यो । मोर्चालाई माओवादीको भ्रातृ संगठनको रूपमा अगाडि सार्न खोजिएको छ ।’

प्रवक्ता सुमनले मोर्चामा जाने सम्भावना नभएपनि अध्यक्ष यादव भने छलफलमा छन् । दुई साताअघि नेपाल प्रेससँग कुरा गर्दै मोर्चाको विषयमा आफूहरू छलफलमा रहेको बताएका थिए ।

तर, नेकपा एसका नेता पाण्डेले उपेन्द्र पनि मोर्चामा आउने सम्भावना बढेको दाबी गरे ।

उनले भने, ‘अहिले उपेन्द्र यादवले अलिक असजिलो मानिराख्नुभएको छ । उहाँलाई प्रचण्ड र ओलीले पार्टी फुटाइदिएको भन्ने परेको छ । त्यसबेलामा परिदृष्य पनि त्यस्तै देखिएको थियो । तर, उहाँ आउने सम्भावना धेरै छ ।’

अहिले माओवादी र नेकपा एसबीच पार्टी एकता गर्ने आधार तयार बन्दै गएपछि विप्लव र महेन्द्र यादव पक्षलाई समेट्नेबारेमा कुरा मिलिसकेको छैन । प्रचण्डले विप्लवलाई आजै खुमलटार बोलाएर एकताबारे छलफल गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “नेकपा एसलाई गाभ्ने प्रचण्डको दाउ, कति खाेज्लान् माधव नेपालले भाउ ?

  1. २०४३ साल वैशाखका सेक्टर काण्डपछि पार्टीको महासचिव बनेका प्रचण्ड त्यसपछि निरन्तर पार्टीको मुखियाका रूपमा छन्। ३८ वर्ष भइसक्यो, तैपनि पार्टीको अध्यक्ष भइरहन एस र जसपासँग पार्टी एकताको फ़ण्डा गर्दैछन्। यस्ता पात्रहरूका कारणले राजनीतिप्रति नयाँ पुस्तामा वितृष्णा बढेको हो। ##चेतना_भया!

  2. नेकपा माओवादी एस विप्लव उपेन्द्र को एकता सोम शर्माको कथा जस्तै हो प्रचण्ड जतिको खराफाती माधवकुमार जतिको सानोचित्त भएको मान्छे उपेन्द्र जस्तो यादव वादी विप्लव जस्तो कोरा बाट खै सक्तैनन् यीनीहरूको एकता सोम शर्माको कथा होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर