नेकपा एसले भन्यो- माओवादीसँग छलफल चलिरहेको छ, तत्काल एकताको कुरा छैन – Nepal Press

नेकपा एसले भन्यो- माओवादीसँग छलफल चलिरहेको छ, तत्काल एकताको कुरा छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग पनि एकीकरण गर्ने कुरा नचलेको प्रष्टीकरण दिएका छन् ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्न वार्ता सकारात्मक भएको चर्चापछि उनले कम्युनिष्ट पार्टीबीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलिरहेको बताए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीहरुको बीचमा समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षहरुमा समीक्षा गर्न छलफल चालिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन ।’

उनले सबै राजनीतिक दलका आआफ्ना कार्यनीति हुने उल्लेख गर्दै त्यसबाट बहकिँन नहुने उनको मत छ ।

उनले थपे, ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिष्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो यो परिचयलाइ मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’

आज बिहान खुमलटारमा माओवादीका अध्यक्ष प्रचण्डसँग नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको भेटमा पार्टी एकता गर्न वार्ता सकारात्मक भएको बताइन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर