चितवनमा बढ्दो आत्महत्या रोकथामको लागि प्रहरीले थाल्यो विशेष अभियान – Nepal Press

चितवनमा बढ्दो आत्महत्या रोकथामको लागि प्रहरीले थाल्यो विशेष अभियान

चितवन । देशभर जस्तै चितवनमा पनि नै आत्महत्याको घटना बढ्दै गएपछि चितवन प्रहरीले आत्महत्या रोकथामको लागि विशेष अभियान थालनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका सरोकारवालाहरुको समन्वयमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरि आत्महत्या न्यूनीकरणको अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार चितवनमा प्रत्येक वर्ष आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । चितवन प्रहरीका इन्स्पेक्टर लक्ष्मण केसीले पाँच वर्षीय तथ्याङ्क मूल्याङ्कन गर्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी तथ्याङ्क २ सय ३२ जनाले आत्महत्या गरेका छन् । भने अघिल्ला वर्षमा क्रमशः २ सय २४, २ सय १४ आत्महत्या गर्ने मानिसको संख्या थिए ।

चितवन प्रहरीका अनुसार यहाँ गतवर्ष आत्महत्या गर्नेमा १ सय ४४ जना पुरुष छन् भने ८८ जना महिला रहेका छन् । तिमध्ये बालक १४ र २४ जना बालिका रहेका छन् । प्रहरीले गरेको आत्महत्या गर्ने उमेर समूह हेर्दा ४९ जना संख्या १८ देखि २५ वर्ष उमेर समूहका युवाहरु रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा ४६ देखि ५९ वर्षका ४७ जना रहेका छन् ।

चितवनका प्रहरी उपरीक्षक भावेश रिमाल सबैभन्दा धेरै आत्महत्या सक्रिय उमेर समूहको हुनु सरोकारवालाका लागि झन् चुनौतीपूर्ण रहेको छ । यसको लागि आत्महत्या गर्ने कारण पहिचान गरी रोकथाममा लाग्नुपर्ने उनले जोड दिए ।

त्यसैगरि आत्महत्याको स्थानको आधारमा समेत प्रहरीले विश्लेषण गरेको थियो । जसको आधारमा हेर्दा सबैभन्दा धेरै मानिसले घर भित्र नै ज्यान फाल्ने गरेको पाइएको छ । प्रहरीको तथ्याङ्क अनुसार ८३ दशमलव १९ प्रतिशत चितवनका मानिसले घरभित्रै ज्यान फालेका छन् ।


चितवनमा नारायणी नदीको पुलबाट हामफालेर पनि आत्महत्या गर्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यद्यपि घरमा सबैभन्दा बढी मानिसको आत्महत्या गर्ने स्थल हुने भएकोले मानिसको आत्महत्याको कारण पहिचान गरि समयमा नै न्यूनीकरणतर्फ लाग्नुपर्ने सरोकारवालाको समेत धारणा रहेको छ ।

भरतपुर महानगरपालिकाको जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्टले घरबाट आत्महत्या हुने कारणहरुको जन्म हुने भएकोले घरघरमा आत्महत्या रोकथामका कार्यक्रम लैजानुपर्ने सुझाए ।

चितवन प्रहरीले परिवारको भनाइ उद्धृत जिल्लामा भएका आत्महत्याको प्रमुख कारण आवेश भन्ने उल्लेख गरेको छ । यद्यपि प्रहरीले नै राष्ट्रिय स्तरमा गरेको आत्महत्या अनुसन्धान प्रतिवेदनले सबैभन्दा बढी मानसिक समस्याका कारण ६५ प्रतिशत आत्महत्या हुने देखाएको छ ।
चितवनका सरोकारवालाहरुले पनि विद्यालय तहदेखि नै मनोसामाजिक समस्यामा रहेका व्यक्ति पहिचान गरि तत्कालै उनीहरुलाई तालिमप्राप्त मनोसामाजिक परामर्शदातामार्फत जीवनप्रति आशा जगाउने कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालले पहिलो चरणमा जिल्ला तहमा सञ्जाल निर्माण गरि जिल्लाका स्थानीय तह, सरोकारवालाहरुको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *