विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच बिहीबार शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटमा मन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गरे ।
साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड पनि दिए । उनले कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह पनि गरे ।
राजदूत अलान्सारीले बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए । उनले कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा पनि गरे ।