नेपालमा स्टार ईण्डियाको गैरकानूनी क्रियाकलाप, आलाकार्ट विफल बनाउन ‘कपीराइट’को अलाप (भिडिओ) – Nepal Press

नेपालमा स्टार ईण्डियाको गैरकानूनी क्रियाकलाप, आलाकार्ट विफल बनाउन ‘कपीराइट’को अलाप (भिडिओ)

काठमाडौं । विषयवस्तुको सुरुवात एउटा काल्पनिक प्रसंगबाट गरौँ । मानौं कुनै व्यक्तिले तपाईंको खल्तीमा, तपाईंको अनुमति बिना वा तपाईंलाई थाहा नदिइकन एउटा कुनै वस्तु हालिदियो र सोही व्यक्तिले तपाईंलाई सामान चोरीको आरोप लगायो, चोरी मुद्दा हाल्यो । सुन्दैमा पनि ठट्टा जस्तो सुनिने यस्तै एउटा अपत्यारिलो काम गरिरहेको बहुराष्ट्रिय कम्पनी हो ‘स्टार इन्डिया’ । तर कसरी ? प्रश्न जायज छ र उत्तर यही सामग्रीमा प्रस्तुत गरिने छ ।

सर्वप्रथम बुझ्नु पर्ने कुरा के छ भने नेपालमा कुनै पनि विदेशी प्रसारण संस्थाले आफ्ना टेलिभिजन च्यानलहरु प्रसारण गर्नका लागि राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा ऐ. नियमावली, २०५२ बमोजिम नेपालको सूचना तथा प्रसारण विभागबाट अनुमति लिनु पर्ने हुन्छ । उक्त अनुमतिलाई ‘डाउनलिङ्क पर्मिसन’ भन्ने गरिन्छ । जसमा कुनै पनि विदेशी प्रसारण संस्थाले आफूले कुन प्रविधि प्रयोग गरेर कतिदेखि कति मेगाहर्ज सम्मका च्यानल प्रसारण गर्ने हो भन्ने खुलाइन्छ ।

प्रसारण गर्ने प्रविधि सि ब्याण्ड, के.यु. ब्याण्ड , आइपी आदिको रुपमा नामकरण गरिएको छ । नेपालमा हालसम्म जति पनि विदेशी प्रसारण संस्थाका टेलिभिजन च्यानलहरु डाउनलिंक भएका छन्, ति सबै टेलिभजन च्यानलहरु स्याटेलाईट प्रसारण माध्यमबाट सि ब्याण्डको फ्रिक्वेन्सीमा प्रसारण र डाउनलिंक गर्ने गरी अनुमति लिएका च्यानलहरु हुन् ।

उक्त अनुमति लिएर विदेशी प्रसारण संस्थाहरुले नेपाली च्यानल डिस्ट्रिब्युटरसँग च्यानलको कारोबार गर्ने र डिट्रिब्युटर हुँदै अपरेटरको माध्यमबाट ग्राहकहरुको घरसम्म च्यानल पुग्ने गर्छन् । यसको अर्थ के हुन जान्छ भने कुनै पनि कम्पनीहरुले ‘सी ब्याण्ड’ बाहेकका प्रविधि प्रयोग गरेर नेपालमा कुनै च्यानल प्रसारण गर्छन् भने त्यो स्वतः गैरकानूनी हुन जान्छ ।

भिडिओ

यसको पुष्टि सूचना विभागका निर्देशक डा. सुबोध नेपालले नेपाल प्रेससँगको कुराकानीमा गरेका छन् । डा. नेपाल भन्छन्, ‘हामीले विदेशी टेलिभिजन प्रसारण संस्थाहरुलाई स्याटेलाइटमार्फत डाउनलिंक पर्मिसन दिने हो, त्यसमा उनीहरुले नै कुन प्रविधि भन्ने उल्लेख गरेका हुन्छन् । आईपी नयाँ प्रविधि भएको कारण त्यसको प्रावधान नेपालमा आईसकेको छैन, अहिले हामीसँग डाउनलिंक पर्मिसन लिएका विदेशी प्रसारण संस्थाहरुले स्याटेलाइट ब्रोडकाष्टिङ् मार्फत सि ब्याण्डको फ्रिक्वेन्सीमा डाउनलिंकमार्फत प्रसाण गर्ने उल्लेख गरेका छन् त्यो बाहेकको प्रविधि प्रयोग भएको भए त्यो गैरकानूनी हुन जान्छ ।’

यसैबीच नेपालको टेलिभिजन ब्रडकास्टिङ परिदृष्यमा सञ्चार मन्त्रालयले २०७९ चैत १५ गतेदेखि आलार्काटा प्रणाली लागू गरेसँगै व्यापक परिवर्तन आयो । यो प्रणाली बमोजिम दर्शकहरुले आफ्नो चाहना अनुरुप नै च्यानल रोज्न पाउने र सोही च्यानलको मात्र शुल्क तिर्न पाउने व्यवस्था रहेको छ ।

यो प्रणाली लागू भएको खण्डमा कुनै पनि विदेशी कमप्नीहरुले वितरकसँग आफू खुशी शुल्क नलिई आफ्नो च्यानलको माग बमोजिम शुल्क लिनु पर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन्छ । सोही प्रावधानको कारण विदेशी टेलिभिजन च्यानल प्रसारक संस्थाले नेपालमा आलाकार्ट प्रणाली कार्यान्वयन गर्न आनाकानी र अवरोध सिर्जना गर्न तर्फ लागेका छन् ।

स्रोतका अनुसार भारतीय प्रसारक कम्पनीहरुले नेपालका वितरकहरुबाट पुरानै दररेटमा शुल्क उठाउन चाहन्छन् तर नेपालमा भारतीय च्यानलहरुको माग कम भइरहेको कारण वितरक तथा प्रसारण गर्ने संस्थाहरु (Nepali Operators) हरु आर्थिक मारमा रहेको र पुरानै दररेटमा शुल्क बुझाउने अवस्थामा छैनन् ।

यसैबीच भारतीय प्रसारक कमप्नीहरुले आफैं नेपालमा आफ्ना च्यानलहरु प्रसारण नगर्ने निर्णय गर्छन् । यो निर्णय विदेशी प्रसारकहरुको स्व–निर्णय हो र यो निर्णय गर्ने कम्पनीहरुमध्ये स्टार इन्डिया पनि एक हो । स्टार इन्डियाले नेपालमा आफ्ना च्यानलहरु प्रसारण नगर्ने निर्णय लिए पछि, यो कण्टेन्ट तयार पार्दाको समयसम्म डाउनलिङ्क पर्मिसन नवीकरण गराएको छैन् भने आइपी वा क्यु ब्याण्ड प्रविधिमार्फत डाउनलिङ्कको अनुमति लिएको छैन अर्थात स्टार ईन्डियाका कुनै पनि च्यानल नेपालमा प्रसारण गर्ने आधिकारिक बाटो नै छैन ।

सर्सर्ती हेर्दा स्टार इण्डिया नेपालमा आफ्ना च्यानल प्रसारण गर्न इच्छुक नै छैन । तर वास्तविकता भने फरक छ । स्टार ईन्डिया वास्तवमा नेपालमा आफ्नो च्यानल प्रसारण गर्न चाहन्छ तर नेपाल सरकारको आलाकार्ट प्रणालीलाई घुँडा टेकाएर, स्टार इन्डिया नेपालबाट आफू खुशी शुल्क कुमल्याउनका लागि कटिवद्ध देखिएको जानकारहरु बताउँछन् ।

यदि त्यस्तो नहुँदो हो त स्टार इन्डियाले नेपाली भूभागमा आफ्ना च्यानललाई ‘जियो लक’मार्फत सहजै ब्लक गर्न सक्छ । तर स्टार इन्डियाले हाल भारतीय डीटीएच अर्थात के.यु. ब्याण्ड स्याटेलाइट ब्रोडकाष्टिंग प्रविधिमार्फत नेपालका डीटीएचसँग ट्युन गरेर आफ्ना च्यानलहरु प्रसारण गर्दै आएको छ ।

(जसको प्रमाण माथिको भिडिओमा देख्न सकिन्छ) यसरी नेपाल सरकारलाई ठाडो चुनौती दिँदै गैरकानूनी ढंगबाट आफ्ना च्यानलहरु प्रसारण गर्दै आएको स्टार इन्डियाले हालै मात्र नेपालमा आफ्ना च्यानलहरुको गैरकानूनी रुपमा प्रसारण भइरहेको भन्दै कपिराइटको मुद्दा लिएर अदालतको ढोका ढकढक्याइ रहेको छ ।

अनुमति बिना नेपालको आकाशमा आफ्नो च्यानलको फ्रिक्वेन्सी आफैं पठाएर गैरकानूनी ढंगबाट नेपालीको घर-घरमा पुगिरहेको स्टार ईन्डिया कुन आधारमा नेपालको अदालत चहारेको हो ? नेपालको नियामक निकायसँग समन्वय गर्न उदासिनता देखाएको स्टार ईन्डिया नेपालको न्यायालयमा गएर हुँदै नभएको अपराधलाई लिएर न्याय माग गर्नु कत्तिको जायज छ ? प्रश्न अनुत्तरित छ । आगामी अंकहरुमा प्रामाणित तथ्यहरुसहित त्यसको चिरफार गर्ने प्रयास गर्ने नै छौैं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर