चन्द्रको घरमा गगन जाँदा शेखरको घरमा तरङ्ग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. चन्द्र भण्डारीबीच बिहीबार भण्डारी निवासमा भेटवार्ता भएको छ ।
नेता भण्डारीलाई भेट्न महामन्त्री थापा भण्डारीकै निवास बत्तीसपुतलीमा बिहानै पुगेका थिए ।
वर्तमान सरकारमा मन्त्री बन्ने चर्चा भए पनि नबनाइएका डा. भण्डारीलाई महामन्त्री थापाले भेटेर राजनीतिक विषयमा गम्भीर छलफल गरेको निकटस्थ स्रोतहरूले जनाएका छन्।
शेखर-गगन टिमका शीर्ष नेता भण्डारीलाई आफ्नै टिमले मन्त्रीमा सिफारिस नगरेपछि उनी रुष्ट भएका थिए।
टिमभित्र पनि शेखरका लागि सबैभन्दा बढी आवाज उठाउने भण्डारीलाई शेखरले नै मन्त्री बनाउन पहल नगरेको भण्डारी समर्थकहरूको दाबी छ ।
असन्तुष्ट भण्डारीलाई भेटेर थापाले पार्टीमा पुस्तान्तरणका लागि सहकार्यको आवश्यकता रहेकोमा जोड दिएका थिए।
महामन्त्री थापाको प्रस्तावमा नेता भण्डारीले पनि समर्थन जनाउँदै पार्टीका सबै युवाहरूलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए।
अब झन्डै एक वर्षपछि हुने महाधिवेशनमा सभापतिको दाबेदार रहेका थापाले पछिल्लो समय पार्टीभित्र आफ्नो समूहका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सभापति शेरबहादुर देउवालाई समयमै १५औँ महाधिवेशन गर्नेगरी केन्द्रीय कमिटीबाट निर्णय गराउन लागिपरेका थापाले भण्डारीसँग अब भदौ ७ गतेबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल गरेको बुझिएको छ ।