कवि पराजुली मुछिएको जग्गा विवादको अन्तर्य र गाम्भीर्य
बालेनले पाठशालाको घेराबेरा भत्काउन आदेश दिएलगत्तै पाठशालाले उप्रेतीलाई अदालत पठायो, स्थानीयले गरेका थिए कवि पराजुलीलाई घेराउ
कवि अर्जुन पराजुली सञ्चालक रहेको पाठशाला स्कुलले वानेश्वर, थापागाउँमा रहेको ‘सार्वजनिक जग्गा’ लाई तारवार गरेर पार्किङको रुपमा प्रयोग गरेको विषयलाई मैले सामाजिक सञ्जालमा उजागर गरेपछि अहिले यो विषयमाथि तीव्र बहस छेडिएको छ । धेरैले कवि पराजुलीको बचाउमा उभिएर भावुक स्टाटसहरु पनि लेखेको देखेँ । कवि स्वयम्ले जनआन्दोलनमा ज्यानको बाजी लगाएर हिँडेको व्यक्तिलाई कुनै पनि अनियमितामा मुछ्नु नहुने आशयमा भावुक टिप्पणी गर्नुभएको छ ।
निश्चय पनि अरु कोही पनि व्यक्ति मुछिएकाे भए धेरै चित्तदुखाइ नहुन सक्थ्यो । तर, सामाजिक सञ्जालमा आफ्नो तिखो कलममार्फत निरन्तर भ्रष्टाचार र अनियमिताविरुद्ध पहरेदारी गरिरहेका र सबैले सदाचारी ठानेका व्यक्ति नै जग्गा अपचलनकाे विवादमा पर्नु एउटा अप्रिय अवस्था हो ।
मेरो उद्देश्य कवि पराजुलीलाई डाम्ने नभएर झक्झकाउने मात्र थियो । तर, उहाँले कुनै पनि गल्ति महसुस गर्ने भन्दा पनि सामाजिक सञ्रजालकाे लाेकप्रियताकाे आडमा आफ्नो आलोचना गर्ने र आफूमाथि प्रश्न गर्नेहरुलाई सत्तानिकट व्यक्तिहरुको पगरी गुथाउन व्यस्त रहनुभयो । सँधै अरुमाथि प्रश्न उठाउने कविलाई आफूमाथि उठेका प्रश्नको सामना गर्न कठिनाइ भइरहेको मैले महसुस गरेको छु ।
पछिल्लाे स्टाटसमा चाहीँ मैले अब पनि कविज्यूको बारेमा धेरे लेखेँ भने व्यक्तिगत तहमा जान्छ, त्यस्तो कार्य जीवनमा कहिल्यै गरिएको थिएन, त्यसैले अब नलेखौँ भनेर ‘याे अन्तिम हो… ’ भनेको थिएँ । तर, ‘अन्तिम’ भनेपछि थापागाउँका, कीर्तिपुर, बालाजु, बागबजार र कागेश्वरीका स्थानीयले भेटेर, कल गरेर, म्यासेन्जरलगायत थुप्रै माध्यमबाट भनेका कुरा एउटै थियो ।
‘प्रकाश सर, हामीले बोल्न सकेका थिएनौं, तपाईंले कहाँ कताबाट लेखि दिनुभयो । हामीले न्याय महसुस गरेका थियौं । अब तपाईंले पनि लेख्न छाड्नु भयो भने हामी त सधैँ अन्यायमा पर्छौ । हामीलाई कविज्यूले गुन्डा र पावर लगाएर दबाएर राखिरहनु भएको थियो र छ, तपाईं लेख्न नछाड्नु होला’ भनेर धेरै कागजपत्र ल्याइदिनु भयो । धेरै जानकारीहरू दिनुभयो ।
म के गरूँ ? लेखुँ व्यक्तिगत हुन जान्छ, जो मेरो कुनै इच्छा नै छैन । नलेखुँ, उनीहरूको गहिरो र भावनात्मक अनुरोध छ । अनि यस्तो पनि लाग्यो, मप्रति उहाँहरूले गरेको आशा र भरोसा टुट्न दिनु हुन्न, उनीहरूको भावनाको सम्मानमा भए पनि कम्तिमा जेसुकै होस, सबैको नलेखे पनि एउटा जग्गाका चाहीँ लेख्छु भन्ने लाग्यो ।
हो यो, थापागाउँको जग्गाको कथा ।
यो यस्तो क्षण भएको छ मलाई, जनमुक्ति सेनाको चेक माओवादी नेतृत्वले खोसेपछि ज्यान जोगाउँदै भागेर हिँडेकाहरूले जंगलका बीचबाट फोन गरेर दुःख सुनाएको क्षण जस्तो लागिरा’छ ।
खैर,
निःसन्तान भएपछि पाटनको एकजना नेवारले नुन छरेर छाडेको जग्गा रहेछ, पाठशालाले हाल पार्किङ गरिरहेको ठाउँ । त्यसैले ०२१ सालको नापीमा त्यसलाई ७ नम्बर (व्यक्तिको होइन, हुन नसक्ने) भनियो । त्यसपछि त्यहाँ शिवलिंग राखेर पूजा गरिने गरिएको थियो ।
पछि त्यो मेरीगोल्ड मतदान केन्द्र भयो । रवीन्द्र मिश्रले चुनाव उठ्दा पनि त्यही ठाउँबाट स्थानीयले मतदान गरेका थिए । जब पाठशालाले त्यहाँ बार लगाउन थाल्यो, तब स्थानीय छक्क परे । पछि बुझ्दै जाँदा थाहा भयो कि त्यो जग्गा त ०५३ सालमा नै उप्रेती परिवारले व्यक्तिगत बनाइसकेको रहेछ। तर भोग चलन चाहिँ कहिल्यै गरेका थिएनन् । सायद स्थानीयबाट विराेध हुने भएर नै होला ।
यो कुरा रवीन्द्र मिश्र र प्रकाशमान सिंहसमक्ष पनि पुग्यो । दुवैले गलत भनिदिए, तर काम गरिदिएनन् ।
पाठशालालाई घर भाडामा दिएर हाल बालकुमारीतिरका अपार्टमेन्टमा बस्दै आएका उप्रेती परिवारलाई थापागाउँका स्थानीय समाजले बैठक नै राखेर सोधेको रहेछन्, ‘यो सार्वजनिक जग्गा किन व्यक्तिको नाममा नामसारी गर्नु भएको ? यो त मतदान केन्द्र पनि हो ।’
उप्रेती परिवारले जवाफमा भनेछन्, ‘छिमेकी भएकाले जग्गा हराउँला, दलालहरूले फेरि बेचेर खाइदेलान् भनेर संरक्षण गरिदिएको हुँ । यो सरकारी जग्गा हो, सरकारको नाममा फिर्ता गरिदिन्छु ।’
तर, पछि पाठशालाका हाकिमहरूले उप्रेती परिवारसँग स्कुलले किन्ने भनेर लोभ देखाएपछि उप्रेतीहरू पनि अलिकति लोभिएका रहेछन् । त्यही व्यक्तिगत लालपुर्जाको आधारमा कविज्यू र उनको पाठशालाले जग्गा किन्न लागेको सुइँको पाएपछि अर्थात् किनबेच हुने नै भए पछि बल्ल स्थानीय वडा, अख्तियार, अदालत गएका रहेछन् । अहिले अख्तियारले किनबेच गर्न रोक त लगाएको छ, भोगचलन पाठशालाले गरेको छ ।
सो जग्गा किनबेच रोक्न र खाली गराउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ आफैँ प्रदेशमन्त्री हुँदाको बखत झन्डावाल गाडीमा नै अख्तियार प्रमुख प्रेमकुमार राईलाई भेटेर मुद्दा दर्ता गराएका रहेछन् ।
स्थानीयका अनुसार उनको पहलपछि मात्रै किनबेच रोक्का भएको हो, अब त्यो जग्गा किनबेच हुँदैन् ।
उता, १० नम्बरको वडा अध्यक्षले पनि पार्किङ खाली गरेर पुनः सार्वजनिक बनाउने भनेर प्रयास गरे पनि नसकेपछि थापागाउँका स्थानीयहरू मेयर बालेन शाहको कार्यकक्षमा पुगे । मेयर शाहले तत्काल एक्सन लिइहाले । वडालाई तुरुन्तै भत्काउनु र पहिला झैँ सार्वजनिक बनाउनु भनेर पत्र पठाइदिए ।
तर, बालेनको पत्र वडामा आउन लागेको थाहा पाएपछि कविज्यू र उनको पाठशालाले अदालतमा मुद्दा हाल्न उप्रेती परिवारलाई उक्साएछन् र उनीहरूले हालेका पनि छन् ।
उता अदालत पुगेपछि अझ के थाहा भयो भने जग्गा १५ आना १ पैसा मात्रै होइन, जग्गा १ रोपनी १२ आना पो रहेछ। अहिले अदालतले अरू जग्गा खै ? भनेर नापी र उप्रेती परिवारलाई उल्टै प्रश्न गरेपछि उप्रेती परिवार (पाठशाला) को वकिल गएको मङ्गलवार अदालत नै गएनन्, जवाफ नै दिएनन् ।
यो मुद्दा हाल्न कविज्यू र पाठशालाले उक्साएको भन्ने त्यो बेला पोल खुल्न गयो जुन बेला स्थानीयले फेरि उप्रेती परिवारलाई सोधे कि, ‘जग्गा फिर्ता गर्छु भनेर समाज अगाडि भन्नु भएको थियो, फेरी अदालत किन गएको ?’
अहिले उप्रेती परिवारले थापागाउँबासीलाई एउटै सन्देश दिइरहेका छन् कि, ‘म, हामी अदालत जान खोजेकै होइन, फिर्ता गर्छु भनेर बोलेका थियौ र गर्छौ तर अलि परिबन्दमा परेर गएका हाैंँ । म त्यतै आएर भेटेर भनौँला, सरकारको हो भनेका छौं, हामी सरकारलाई नै जग्गा फिर्ता गरिदिन्छौं ।’
सायद यही भएर होला, मङ्गलवार मुद्दाको पेशी हुँदा पनि उप्रेती परिवारले आफ्ना वकिललाई अदालतमा प्रतिरक्षा गर्न नै पठाएन ।
थापागाउँबासीको कुरा के हो भने ‘जग्गा फिर्ता गर्छु भनेको मान्छे मुद्दा कसरी हाल्न गए ?’ उनीहरूको बुझाई छ, कविज्यूको पाठशालाले लोभलालच दिए होलान् । सायद, कविज्यू र पाठशालाले बैनास्वरूप भनेर पहिला नै अग्रिम रकम लिएका कारण पनि अदालत गएको हुनुपर्छ भन्ने स्थानीयको बुझाइ छ ।
उनीहरूका आफन्तहरूसँग बुझ्दा, स्वयं उप्रेती परिवार पनि यो लफडामा पर्नभन्दा जग्गा नै छाड्न हिजो पनि तयार थिए, आज पनि तयार छन् । यो उप्रेती परिवारले अहिले पनि बानेश्वरका पुराना छिमेकीहरूलाई खबर पठाइरहेका छन् ।
पाठशालाले सो जग्गा जबरजस्ती घेराबार गरेको केही समयपछि स्थानीयले कविज्युलाई घेराउ नै गरेर ‘तपाईंका कविता धेरै सुन्यौँ, पढ्यौं अब हामी तपाईंलाई कविता सुनाउँछौँ’ भनेपछि उनी कुलेलाम ठाेकेका रहेछन् । अहिले स्थानीयले बोलाएर कुरा गर्न खोज्दा पनि कविज्यू छड्के छड्के लाग्ने रहेछन्, सामना नै गर्दैनन् रे !
त्यसपछि त कविज्यू र पाठशालाको विरोध गर्नेलाई अप्रत्यक्ष रूपमा गुन्डा लगाएर धम्काउन लगाउने, गाडीको हावा खोलिदिने, चर्को चर्को हर्न बजाएर डिस्टर्ब गरिदिने मात्रै होइन, गाडी पार्किङ गरे भने चाबी लगाएर हिँड्नेजस्ता कार्य गरेर मानसिक टर्चर दिने गरेपछि आजकाल दिनहुँ पाठशाला र स्थानीयबीच लफडा परिरहेको हुने रहेछ । हुन त, मेयर बालेन शाहले पुनः पार्क बनाउन निर्देशन दिइसकेकाले अब चाँडै सो स्थलमा डोजर लाग्ने र पुनः पार्कले पहिला झैँ आकार पाउनेमा स्थानीय चाहीँ ढुक्क रहेछन् ।
जो ‘जग्गा धनी’ हो, उ स्वयं गल्ती महसुस गरेर ब्याक भइसक्यो, केही चाहीँ अझै कविज्यूको ठेक्का लिएर बसेका छन् ।३-३ वर्षदेखि कविज्यूबाट जग्गा फिर्ता ल्याउन स्थानीयहरू वडा, अख्तियार, नापी, प्रहरी, सीआईबी दौडेको दौड्यै छन् । एकपटक उप्रेती परिवारलाई सोध्नु, स्थानीयहरूलाई सोध्नु, कविज्यू र उनको पाठशालाले दिएको ‘टर्चर’का बारेमा बुझ्नु, अनि बहस गर्नु आउँदा सजिलो हुनेछ । सजिलै भनिदियो, ‘सत्ताका विरोध गरेकाले कविको विरोध गरेका हुन् ।’ यो लडाई स्थानीयको कविज्यूसँग ३-४ वर्षदेखि नै चलिरा’छ । विदेशमा बसेको छ, जतिखेर पनि कुण्ठा पोखेको छ।
सार्वजनिक र विवादित जग्गा, पार्क भइरहेको, मतदान केन्द्र हो भन्ने थाहा पाउँदा–पाउँदै र आफ्नै आँखाले देख्दादेख्दै भाडामा लिनु कुन सदाचार हाे ? स्थानीयले विराेध गर्दा पनि अटेर नगरी नहटाउने, अझ किन्न नै खोज्ने (नसकेको पो हो) र बालेनले भत्काउने भएपछि उल्टै अदालत पुगेर रोक्न खोज्नुमा कविज्यू र उनको पाठशालाकाे नियत के हाे त । यति विवादमा मुछिँदा पनि अरूलाई हरेक दिन बिहान, बेलुका र ‘मध्यरात’मा नैतिकताको पाठ सिकाउने कविज्यूले भन्नू पर्दैनथ्यो, ‘ल मैले पार्किङ नलिने भएँ, छाडिदिएँ ।’ भनेका छन् त ?
गजबको खेल रहेछ
कवि अराजक हुन यो पनि उदाङ्ग भयो
२०२१ सालको नापी अनुसार ७ नम्बर दिइएको व्यक्तिको होईन, हुन नसक्ने जग्गा २०५३ सालतिर उप्रेतीले कसरी आफ्नो नाममा बनाए ? यो पनि खोज हुन जरुरी छ ।
माअोबादी कवि कमरेड अर्जुन पराजुलीको असलियत देखियो
jo chor usai ko thulo sor ….