गीतको आलोचना गर्नेलाई दीपकराजले दिए शब्दकोश हेर्न सुझाव
काठमाडौँ । चलचित्र छक्का पञ्जा ५ को पहिलो गीत रिलिज लगत्तै चर्चा र विवादमा आएको छ ।
गीतले तीन दिनमै २० लाख भ्यूज छुन लागेपछि खुसीले गदगद छ, निर्माण पक्ष । तर, सँगसँगै गीतको दुईवटा पङ्तिलाई लिएर आलोचना पनि सुरु भएको छ ।
‘बिहे भएको छैन, कुमार/कुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना गरिएको हो । आमरुपमा कुमार/कुमारी शब्दलाई यौन सम्बन्ध नराखेको अर्थमा लिइन्छ । विवाहपछि मात्रै यौनसम्बन्ध राख्नुपर्ने सामाजिक मान्यता रहेको हुँदा गीतका शब्दलाई केहीले अपाच्य मानेका हुन् ।
गायिका ज्योति मगरले सबैभन्दा पहिले यस विषयमा टिप्पणी गरेकी थिइन् । लोक दोहोरीमा छाडापनको बचाउ गर्दै आएकी मगरले ‘संस्कारीहरूले यो गीत बुझेनन् कि क्या हो ?’ भन्दै कटाक्ष गरेकी छन् ।
ठाडो भाषामा उनले लेखेकी छन्, ‘यो गीतले बिहे गर्या छैन तर सम्भोग गर्या छु भन्या त हो नि । संस्कारीहरू खोइ भुकेनन् त ?’
यो गीतका शब्दहरू चलचित्रका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् । टीकाटिप्पणी हुन थालेपछि निर्माता गिरीले सामाजिक सञ्जालमा प्रतिवाद गरेका छन् । शब्दमा आपत्ति जनाउनेहरूलाई शब्दकोश हेर्न उनको सुझाव छ ।
‘केही साथीहरूले कुमारीको अर्थ खोजिरहनु भएको रहेछ । शब्दको हेरौं न के लेख्या रहेछ ? शब्दको सही अर्थ खोज्ने ठाउँ त त्यही नै होला होइन र ?’ उनले लेखेका छन् ।
नेपाली शब्दकोशमा ‘कुमारी’ शब्दलाई १२ वर्षसम्मकी अविवाहित कन्या, छोरी, पुत्री, पार्वती, दुर्गा, र भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौंकी देवी भनेर परिभाषित गरिएको छ ।