गठ्ठाघरमा ट्रकले लतारेका वृद्ध शहीद परिवारका सदस्य, दुई छोरी विदेशमा
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । उनी हुन् ओखलढुंगाको चिशंखुगढी नगरपालिका-४ रातमाटे घर भएका उत्तम कोइराला ।
सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट नाम गरेकी युवतीको निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो, तर सोही नाम गरेकी युवती आफैं सकुशल उपस्थित भएपछि प्रहरी रणभुल्लमा परे । अन्ततः उनी ६५ वर्षीय पुरुष रहेको खुल्न आयो ।
कोइरालाको सनाखतसँगै रातमाटेमा रहेका उनका आफन्तहरु बिहानै काठमाडौं हिँडिसकेका छन् । कोइरालाको परिवारले गाउँ छोडेर काठमाडौं बस्न थालेको १५-२० वर्ष भइसकेको थियो । उनका अधिकांश आफन्तहरु काठमाडौंमै छन् भने केही दाजुभाइ खलक गाउँमै बस्छन् ।
बेलुका काठमाडौंमा रहेका परिवारले दाजुभाइ तथा भतिजहरुलाई फोन गरेर ट्रकको ठक्करबाट उत्तमको मृत्यु भएको खबर दिए । लगत्तै उत्तमका भतिज नवराज कोइरालासहित काठमाडौं हिँड्न लागेका थिए । फेरि सबैले सल्लाह गरेर उनीहरु आज काठमाडौंतर्फ लागेका छन् ।
कोइरालाका भतिज नवराजले के कामले कहाँ जाँदै थिए भन्ने जानकारी नभएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘हामीले हिजो दिउँसोको दुर्घटनाको खबर सुनेका पनि थिएनौं । एक्कासि साँझ काका चढ्नुभएको स्कुटरलाई ट्रकले हानेर उहाँको मृत्यु भएको खबर पायौं । उहाँ कहाँ गएर के गरेर आउनुभएको हो भन्ने थाहा भएन ।’
उत्तम पहिले जनकपुर चुरोट कारखानामा काम गर्थे । त्यहाँबाट रिटायर्ड भएपछि के गर्थे भन्नेसमेत आफुलाई जानकारी नभएको उनले बताए । गाउँमा उनीहरुको आउजाउ नभएकाले धेरै जानकारी नभएको उनको भनाइ छ ।
चिशंखुगढी नगरपालिका- ४ का वडाध्यक्ष हिमाल राई कोइरालाको परिवार झण्डै २० वर्षअघि काठमाडौं आएकाले आफूले पनि राम्रोसँग नचिन्ने बताउँछन् । जग्गाजमिनको बारेमा समेत थाहा नभएको उनले बताए ।
राईले भने, ‘मैले हिजो बेलुकी थाहा पाए । उहाँ हाम्रै गाउँको हुुनुहुँदोरहेछ । गाउँ छोड्नुभएको धेरै वर्ष भइसकेको थियो । उहाँलाई गाउँमा अर्कै नामले बोलाउने गरिएको थियो । मैले त सुरुमा ठम्याउन सकिनँ । पछि उहाँको दाजुभाइको नाम भनेपछि चिनेको हो ।’
उक्त वडामा उत्तम कोइराला नाम गरेका दुई व्यक्ति थिए । दुवै काठमाडौं बस्थे । उनीहरुमध्ये को हुन् भन्ने सुरुमा अन्योल भएको थियो । उमेर थाहा भएपछि मात्रै यिनै हुन् भन्ने निधो भएको थियो । अर्का उत्तम कोइराला अलिक कम उमेरका छन् ।
राईका अनुसार कोइरालाको बुबाका दुई श्रीमती थिए । उनी कान्छीपट्टिको छोरा हुन् । जेठीपट्टिका छोरा महेश कोइराला शहीद भएका थिए । उनी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा मारिएका थिए ।
वडाध्यक्ष राईका अनुसार उनको बुबाको जेठीपट्टिका सन्तानमात्रै गाउँमा छन् । कान्छीपट्टिका सन्तान सबै काठमाडौं बस्दै आएका छन् । कोइराला परिवारसहित काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- १० मिलनचोकमा बस्दै आएका थिए । जनकपुर चुरोट कारखानाको जागिर छुटेपछि उनी घरमा रङ लगाउने काम गर्थे ।
हिजो उनी भक्तपुरको सूर्यविनायकमा भतिजलाई भेट्न जाने भनेर घरबाट निस्किएको बताइएको छ । त्यस्तै १२ बजेको आसपासमा घरबाट निस्केको बुढानीलकण्ठ नगरपालिका- १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए ।
उनले नेपालप्रेससँग भने, ‘दाइले भाउजूसँग भक्तपुर भतिजकोमा पुगेर आउँछु भनेर निस्कनुभएको थियो रे ! उहाँ त धेरै वर्षअघिदेखि नै कपन बस्दै आउनुभएको थियो ।’
उत्तमका तीन छोरी छन् । जेठी छोरी अष्ट्रेलियामा छिन् भने माइली छोरी हप्तादिन अघि मात्रै अमेरिका पढ्न गएकी थिइन् । कान्छी छोरी भने काठमाडौंमा पढ्दैछिन् । दुई छोरी आएपछि मात्रै दाहसंस्कार अघि बढ्ने भनेर परिवारको आफन्तले भनेको वडाध्यक्ष भट्टराईले बताए ।
ओलखढुंगा घर भएका वरिष्ठ पत्रकार तथा वाल्मीकि क्याम्पसका प्राध्यापक पुरुषोत्तम दाहालका अनुसार ओखलढुङ्गाको सचेत परिवार र गाउँ छहरेका तेजप्रसाद कोइरालाका छोरा, २०३१ को ओखलढुङ्गा काण्डमा शहीद महेश कोइरालाका भाइ, जनकपुर हुँदै वाल्मीकि विद्यापीठका विद्यार्थी भएर शिक्षा प्राप्त, जनकपुर चुरोट कारखानामा सेवागरी निवृत्त ६२ वर्षीय उत्तमका श्रीमती यन्जु र तीन छोरी छन् ।
बिहीबार दिँउसो २ बजे गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । शव क्षतविक्षत अवस्थामा रहेकाले पाँच घण्टासम्म पहिचान खुलेको थिएन ।
सुरुमा महिलाको शव भनिएको थियो, तर पछि प्रहरीले स्कुटरमा रहेको कागजपत्रको आधारमा पुरुष भएको पहिचान गरेको थियो । कागजपत्रको आधारमा उनका आफन्तले हिजै सनाखत गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि दिनभरजसो गठ्ठाघर तनावग्रस्त बनेको थियो ।