पुस्तक ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन – Nepal Press

पुस्तक ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन

रुपन्देही । लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन गरिएको छ । बुद्ध दर्शन र आनन्द प्राप्तीको मार्ग देखाउने उदेश्यले लेखिएको पुस्तकलाई बौद्ध धर्मगुरु श्याल्पा तेजिङ रिन्पोंछेले विमोचन गरेका हुन् ।

बौद्ध गुरु श्याल्पा रिपोंछेसँगै प्रतिनिधिसभा सदस्य सन्तोष परियार, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्टार डा. तिलक आचार्य, लेखक घनश्याम खड्का, प्रकाशक बिमल खड्का र नेटुवा किशोरी ज्योति नेटुवा सरिक थिए । उत्प्ररेणादायी पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सद्धारा प्रकाशन गरिएको हो । पुस्तकमा आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।

मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्ने बारे पुस्तकमा विवेचना गरिएको छ ।

शान्तिका प्रतिक महामानव गौतमबुद्धको उपदेश र मार्गलाई पछ्याउँदै लेखिएको पुस्तक बुद्धजन्मस्थलमै विमोचन गरेर लेखकले लुम्बिनीको समेत विश्वभर प्रवद्र्धनमा जोड दिएका हुन् । विमोचन कार्यक्रममा श्याल्पा तेजिङ रिन्पोंछेले गौतमबुद्धको शिक्षाले मानिसलाई दुःखबाट मुक्तिका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै पत्रकार लेखक खड्काले पनि आनन्द संहिता मार्फत त्यहि सन्देश दिएको बताए । उनले पुस्तकले आनन्द प्राप्तीको खोजीमा रहेका पाठकहरुलाई मार्गदर्शन गर्ने बताए ।

विमोचनमा प्र्रतिनिधिसभा सदस्य सन्तोष परियारले गैरआख्यान पुस्तकको सिमितामा पनि पुस्तकले मान्छेको जीवनको आनन्दलाई भित्रैबाट बाहिर निकाल्ने काम गरेको बताए । उनले पत्रकारिता मार्फत पिँधमा पारिएकाहरुको कथा लेखिरहेको पत्रकारले मान्छेका जीवनका विभिन्न पाटाहरुलाई बुद्धमार्गसँग जोड्दै आनन्द प्राप्तीबारे आम पाठकलाई सरल रुपमा बुझाउने प्रयत्न गरेको बताए ।

‘सुख र दुख बाहिरी कुरा रहेछन, आनन्द भित्रि प्राप्ती हो, यो कुरा यहि पुस्तक पढेर थाहा पाएँ’ परियारले भने । लेखक घनश्याम खड्काले पुस्तकले विश्वले मानेको बुद्धको जन्मस्थलमा आएर पुस्तक विमोचन गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बुद्ध भनेको व्यक्ति नभई चरित्र भएको बताउँदै बुद्धले भनेजस्तै दुःखकाट मुक्ति पाउने भनेको आनन्द प्राप्ती भएको लागेकाले पुस्तकमा तीनै कुराहरु लेखिएको बताए । उनले जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीक विपरित हात लाग्ने हुनाले आम रुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको बताए ।

विमोचन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा। तिलक आचार्य, सहप्राध्यापक डा। शारदा पौडेल, शंकर भण्डारीले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जीवनमा आनन्द प्राप्तिको विषयलाई सरल रुपमा पाठकलाई बुझाउने काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *