मिडियालाई सञ्चारमन्त्रीको आग्रह- सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीको आलोचना गर्नुस् (भिडिओ) – Nepal Press

मिडियालाई सञ्चारमन्त्रीको आग्रह- सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीको आलोचना गर्नुस् (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए ।

सञ्चारमन्त्री गुरुङले नराम्रो काम गरेको ठाउँमा मिडिया निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्यतथ्यमा आधारित हुनुपर्ने बताए । सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि मन्त्रीको आग्रह छ ।

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने गुरुङले बताए ।

जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने गुरुङको भनाइ छ । भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘हामीले गत वर्ष झन्डै झन्डै पछि १५ खर्बमा झारेको १८ खर्ब ५१ अर्ब बजेट थियो । ३ खर्ब विकासका लागि छुट्याएको । जम्मा डेढ खर्ब खर्च भयो । सुशासनको प्रत्याभूति हुन नसकेर सरकार जति रेस्पोन्सिबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठीक ढंगले कामय भएन । यो लाजमर्दो कुरा हो । जम्मा बजेटको ३० प्रतिशत पनि विकास बजेट हुँदैन । तर त्यो पनि आधा भनेपनि जम्मा बजेटको १५ प्रतिशत हुन्छ । त्यस्तो देशमा विकास कसरी हुन्छ ? उत्पादन, उत्पादकत्व कसरी बढ्छ ? मिडियाले आफ्नो भुमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ, जनता र मुलुकको समस्याप्रति । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरुको आलोचना गर्नुपर्छ । उनीहरूलाई रेस्पोन्सेबल बनाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर