सुनको मूल्यमा फेरि रेकर्ड
काठमाडौं । सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र शेयर बजारको वृद्धिले सुन बजारमा प्रभाव परेको विश्लेषकहरुको भनाइ छ ।
साताको शुरुको तेस्रो दिन अर्थात मंगलबार नयाँ उचाइमा पुगेको सुनको मूल्य त्यसपछिका दिनमा सामान्य घटको थियो, तर यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २७ हजार ५७० रुपैयाँ रहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख २९ हजार २८५ रुपैयाँ पुग्यो ।
त्यसपछिका दिन ओरालो लागेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख २८ हजार २६० रुपैयाँ कायम भयो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन प्रति १० ग्राम ६९० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४७४ रुपैयाँ ६० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५०९ रुपैयाँ कायम भयो ।