राजेन्द्र स्थापित मृत्यु प्रकरण: युवा विकास सहकारीले दियो स्पष्टीकरण – Nepal Press

राजेन्द्र स्थापित मृत्यु प्रकरण: युवा विकास सहकारीले दियो स्पष्टीकरण

काठमाडौं । युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाले उपचार खर्चको अभावमा संस्थाका सदस्य राजेन्द्र स्थापितको मृत्यु भएको हल्ला निराधार रहेको जनाएको छ ।

सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता नदिँदा अस्पतालले मागेको धरौटीबापतको रकम ५ लाख रुपैयाँ जम्मा गर्न नसक्दा उपचार नपाएर स्थापितको मृत्यु भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएका थिए, तर सहकारीले भने अस्पतालले कुनै धरौटी रकम नमागेको र उपचार खर्चकै अभावमा मृत्यु भएको समाचार गलत भएको दाबी गरेको छ ।

सहकारीका अध्यक्ष किसन राईले विज्ञप्ति जारी गर्दै बिरामीको परिवारले पनि उपचारका लागि यति रकम चाहियो भनेर माग नगरेको बताए । बरू अस्पतालमा उपचार गराउँदा लागेको सबै रकम आफैंले तिरेको उनको दाबी छ । उनले वीर अस्पतालमा राजेन्द्र स्थापितको नाममा भुक्तानी गरेका बिल तथा भौचरहरूसमेत सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उपचारका क्रममा अस्पतालले स्थापितको परिवारसँग कुनै रकम धरौटी राख्न आग्रह नगरेको र परिवारले पनि संस्थामा सो रकम उपलब्ध गराउन आग्रह नगरेको प्रष्ट पार्न चाहन्छौं ।’

वीर जस्तो सरकारी र सरल अस्पतालमा उपचारका लागि एकै पटक लाखौं रुपैयाँ धरौटी नमाग्ने दाबी गर्दै सहकारीले स्थापितको ४ दिनको उपचार खर्च १ लाख रुपैयाँ पनि ननाघेको जनाएको छ ।

स्थापित बिरामी भएपछि उपचारका लागि अस्पताल लैजान आफैंले सुझाव दिएको भन्दै अध्यक्ष राईले भर्ना भएको दोस्रो दिन नै चिकित्सकले बिमारीलाई घर लैजान भने पनि आफैंले अनुरोध गरेर आईसीयुमा भर्ना गरेर उपचार गराइएको दाबी गरेका छन् ।

स्थापित अस्पताल भर्ना भएदेखि नै सहकारीका अध्यक्ष स्वयंसहित कर्मचारीहरू अस्पतालमै बसेर आवश्यक उपचारको प्रबन्ध मिलाएको संस्थाको दाबी छ । स्थापितलाई भर्ना गरेदेखि नै संस्थाको कोही न कोही व्यक्ति अस्पतालमा रहेको भन्दै त्यसको प्रमाणका लागि अस्पतालको सीसीटीभी फुटेज हेर्न सकिनेसमेत अध्यक्ष राईले बताए ।

बिरामी भर्ना भएको २ दिनसम्म संस्थाका अध्यक्ष आफैं उपचारमा खटेको र बाँकी दिनमा संस्थाकै तर्फबाट एक जना कुरुवा राखेर अध्यक्ष राई बिहानबेलुका अस्पताल पुगेर उपचारको अपडेट लिएको दाबी पनि संस्थाको छ । सुरुको दिन विभिन्न जाँच र औषधि खर्च सहकारीका अध्यक्ष राईले नै भुक्तानी गरेको र अन्य आवश्यक परेको रकमसमेत स्थापितकी श्रीमती दातृबाबा बज्राचार्यको नेपाल बैंकमा रहेको खातामा पटक–पटक रकमान्तर गरेको कागजात, भौचर तथा बिलहरू सुरक्षित रहेको संस्थाले जनाएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरूमा देखिएको संकट युवा विकास सहकारीमा पनि परेको, तर आफूहरू नभागी बचतकर्ता तथा सदस्यहरूसँग निरन्तर सम्पर्क र संवाद गरी समस्यामा परेका सदस्यहरूलाई आंशिक रूपमा सकेको बचत रकम फिर्ता गर्दै आएको संस्थाले जनाएको छ ।

केही स्वार्थ समूहको उक्साहटमा लागेर भ्रामक सूचना फैलाएर संस्थालाई थप समस्यामा लैजाने प्रयास गरिएको भन्दै अध्यक्ष राईले यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी गलत अभियान चलाउनेहरूले नै लिनुपर्ने उनले बताएका छन् ।

यस्तै गलत सूचना फैलाउनेहरूविरुद्ध कानूनी उपचारको बाटो खोज्न बाध्य हुनेसमेत उनको चेतावनी छ ।

यदि संस्थाले धरौटी राख्न पैसा नदिएकै कारण अस्पतालले उपचार नगरी बिरामीको मृत्यु भएको पुष्टि भए कानूनी कारबाही भोग्नसमेत तयार रहेको सहकारी संस्थाले जनाएको छ । मृतक स्थापितको काजकिरिया खर्च व्यहोर्नुका साथै निजको बचत रकम पहिलो प्राथमिकतामा राखी फिर्ता गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ ।

केही दिनअघि उपचार गर्ने पैसा नपाएर सहकारी पीडितको मृत्यु भएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *