आन्दोलनरत उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरबीच ८ बुँदे सहमति – Nepal Press

आन्दोलनरत उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरबीच ८ बुँदे सहमति

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बढाएको करको रकम फिर्ता हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबीच ८ बुँदे सहमति भएको छ ।

उपमहानगरपालिका र उद्योग वाणिज्य संघबिच आज साँझबाट भएको वार्ता सहमतिमा टुंगिएको हो ।

६ बुँदे मागसहित पाँच दिनदेखि आन्दोलनमा उत्रिएको व्यवासायी र उपमहानगरपालिको आजको वार्ता सहमति भएपछि संघले आफ्ना सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

सबै शिर्षकमा बेद्धि गरिएको कर खारेज हुनुपर्ने,अवैज्ञानिक विज्ञापन कर खारेज हुनुपर्ने, उपभोक्ता मार्फत हुने गरेको सबै प्रकारका विकासको काम निमौण व्यवसायी मार्फत हुनुपर्ने, रातको १२ बजेसम्म होटल व्यवसाय संचालनको प्रत्याभुति हुनुपर्ने, निर्माण व्यवसायीले तिरिसकेको भ्याट रकम पुनः शिर्षक परिवर्तन गरि बक्यौता देखाउने उपमहानगरको गल्ती सुधार हुनुपर्ने र बाहल कर घरधनीलेनै भुक्तानि गर्नेपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको संघको मागको विषयमा उपमहानगरपालिकाले सहमति गरेको हो ।

उद्योग वाण्णिज्य संघले राखेको मागलाई नगरसभा मार्फत समाधान गर्ने, विज्ञापन करको विषयमा संघको प्रतिनिधि सहितको अध्ययन समिति बनाउने, उपभोक्ता समिति मार्फत हुने कामलाई निर्माण व्यवसायीसँगको समन्वयमा गर्ने साथै निर्माणको प्रकृति हेरेर थ्रेसहोल्ड कायम हुने गरि नगरसभामा लैजाने, होटल व्यवसायलाई मध्यरातसम्म संचालन गर्नेगरि समन्वय गर्ने, उपमहानगरको भनिएको गल्तीलाई सञ्च्याउने र करको विवादलाई विज्ञहरुको टोलीबाट छलफल गरि राजश्व परामर्श समितिमा लैजाने सहमति भएको हो ।

सहमति पत्रमा उपमहानगरको तर्फबाट मेयर मिना लामा, उपमेयर राजेश बाँनीया, प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रसाद गौतम, वडा नंबर ८ का वडाध्यक्ष रामकृष्ण थापा, कानुनी सल्लाहकार इश्वरराज ढकाल र विज्ञ सल्लाहकार कृष्ण धितालले हस्ताक्षर गरेका छन् भने संघको तर्फबाट अध्यक्ष कृष्ण गुप्ता अग्रवाल, उपाध्यक्ष उज्वल चौँलागाई, राजु अधिकारी, कोषाध्यक्ष सन्तोष अर्याल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेल, उपाध्यक्ष प्रदिप अर्याल, होटल व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष कल्याण पौडेल तथा हेटौँडा उपमहानगरपालिकाको प्रशासनको तर्फबाट वित्त व्यवस्थापन महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, राजश्व व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार सुवेदी र शाखा अधिकृत जगन्नाथ सापकोटाले हस्ताक्षर गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले २० देखि १५० प्रतिशतसम्म कर बढाएपछि उद्योग व्यवसायीहरुले आज आफ्ना व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई चाबी बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *