हराउँदै मौलिकता, भित्रिँदै विकृति
समाज आवश्यकताभन्दा अधिक सिको तथा नक्कलले विकृत बन्दै गइरहेको छ । नेपाली समाजमा सरसहयोगको भावना हराउँदै गएको छ । हामी दिनानुदिन स्वार्थी बन्दै गइरहेका छौं । समाजमा परोपकारी भावनाको अभाव खड्किन थालेको छ । आफूमात्र, आफ्नोमात्र भन्ने भावनाको विकासले समाज नै विकृत बन्दैछ । सामाजिक मूल्य मान्यता, अरुप्रतिको सहानुभूति, दयामाया, परोपकार जस्ता कुराहरु हामीबाट हराउँदै गएको यथार्थ कसैले लुकाएर लुक्दैन ।
आधुनिकताको नाउँमा देखिएको सामाजिक विकृति, विसंगतिले दिनानुदिन नेपाली समाज ग्रसित छ । आजका जल्दाबल्दा युवा तन्नेरीहरुमाझ आधुनिकताले समाजको रुपरंगमै गलत प्रकारको परिवर्तन देखिन थालेको छ । जसले समाजलाई कतै अवनतीको भर्याङतिर त लगिरहेको छैन ? समाज विकासको क्रममा पश्चिमा मुलुकहरुले तुलनात्मक रुपमा हामीभन्दा फराकिलो फड्को मारेका छन् । उनीहरुको विकासको अनुशरण अथवा नक्कल गर्ने परिपाटी हाम्रो जस्तो विकासोन्मुख देशमा बढी पाइन्छ । पश्चिमी मुलुकहरूको सिको सिक्दै नेपाली समाजमा पाच्य-अपाच्य उताको संस्कृतिको नाउँमा भित्रिएको गलत प्रवृत्तिले हाम्रो समाजलाई कता पुर्याउला । सामान्य खुशियाली साटासाटमा आयोजना हुने बडेमानका भोज-पार्टी तथा परम्परागत रीतिरिवाजमा आयोजना हुने खर्चिला क्रियाकलाप विस्तारै अनिवार्य जस्तै भएका छन् । यस्ता प्रकारका क्रियाकलाप आधुनिकताका नाउँमा भित्रिएका विकृतिहरु हुन् । शहरमा यस्ता किसिमका गतिविधि अधिक पाउन थालिएको छ ।
पुराना मूल्य-मान्यता धर्म-संस्कृतिले समाजलाई गति दिइरहेको हुन्छ । हामीले आफ्नो संस्कृति बिर्संदै जानीनजानी अरुको संस्कृतिको सिको सिक्दै वा नक्कल गर्दै गैरहेका छौं । यो कति फलदायी हुन्छ ? परम्परागत चाडवाड दशैंतिहार, तीज, पास्नी जस्ता पर्व तथा कर्ममा मौलिकता हराउँदै गएका छन् । युवा पुस्तामा तुलनात्मक रूपमा अरुभन्दा बढी पश्चिमा अनुशरणले जरा गाडेको छ । युवा तन्नेरीमाझ देखिएको पश्चिमा लवाइखुवाइदेखि लिएर पश्चिमा गीतसंगीतसम्मको प्रभाव बढेको छ । जुन डरलाग्दो रूपमा शहर हुँदै गाउँ भित्रिँदैछ । हामीले हाम्रो मौलिकता नै बिर्संदै गएका छौं । आफ्ना अग्रजले दिएको परम्परागत शिक्षालाई नै भुलिरहेका छौं । आवश्यक होस् या नहोस् अरुको शिको र नक्कलमा रमाएका छौं । जुन पछि गएर हामीलाई अभिसाप बन्नसक्छ ।
पुराना मूल्य-मान्यता धर्म-संस्कृतिले समाजलाई गति दिइरहेको हुन्छ । हामीले आफ्नो संस्कृति बिर्संदै जानीनजानी अरुको संस्कृतिको सिको सिक्दै वा नक्कल गर्दै गैरहेका छौं । यो कति फलदायी हुन्छ ? परम्परागत चाडवाड दशैंतिहार, तीज, पास्नी जस्ता पर्व तथा कर्ममा मौलिकता हराउँदै गएका छन् ।
परिवर्तनका नाउँमा सामाजिक शिक्षाको अज्ञानता तथा अभावको कारण नेपाली समाज विकृतिको चङ्गुलमा फस्दैछ । विज्ञानको विकासको क्रमसँगै विकास भएको सञ्चार जगत, मिडिया, दूरसञ्चार, मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जालभित्रका फेसबुक, ट्विटर, ह्याटसप जस्ता कुराको विकासले समाजको लगामलाई कता हिँडाउँदै छ ? यसको सही सदुपयोग हुँदैछ कि गलत, कति प्रतिशत मानिसले यसको सही सदुपयोग गरिरहेका छन् ? यसले सुविधाका नाउँमा समाजलाई कता लादैछ ? हामीले सोच्ने बेला भएन र ? सामाजिक सञ्जालहरुको गलत प्रयोगलाई निरुत्साहित गर्न पहलकदमी कसले लिने ? समाजको परिधिभित्र रहेर व्यक्तिले जीवनयापन गर्नुपर्छ, परिधि उल्लंघन गर्ने व्यक्ति समाजमा कलंकित हुन पुग्छ । समाजले निर्माण गरेको गोरेटोमा हिँड्न नजान्ने व्यक्ति कलङ्कित हुन पुग्छ ।
पाठ्यपुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टड्कारो आवश्यकता हो । विद्यालयस्तरमा सामाजिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिनु अनिवार्य भएको छ । सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा व्यक्ति सामाजिक बन्नबाट पन्छिन थालेको छ । यी र यस्ता प्रवृत्तिको विकासले भोलिको नेपाली समाज कस्तो होला ? सामाजिक जिम्मेवारीबोध हराएको समाजभित्र अधिक हिंसा हुने गर्छ । कतै वर्तमानमा देखिएको हिंसा त्यसैको उपज त होइन ? हामी कुन दिशातिर जाँदैछौं ? मानिस एउटा मोबाइल, ल्यापटपमा घन्टौं घोत्लिन्छ, नजिकको व्यक्तिसँग उसलाई बोल्ने फुर्सदसम्म हुँदैन । दोस्रो व्यक्तिको समस्यालाई सुनिदिने फुर्सदसम्म उसलाई छैन । यी र यस्ता उदाहरण हाम्रोसामु प्रशस्त छन् । यो कुरालाई बेलैमा सूक्ष्म रुपमा मनन् गर्न नसके हाम्रो समाज भोलि ठूलो समस्यामा पर्ने निश्चित छ । व्यक्ति, राज्यपक्ष तथा सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ ।
सामाजिक सञ्जालको लोकप्रियतासँगै यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । अश्लील तथा उच्छृंखल गतिविधि बढ्दो छ । आफूलाई जे ठीक लाग्यो उही त्यही भन्ने भावनाले अशिक्षितमात्र होइन शिक्षित व्यक्तिले यसको झनै गलत प्रयोग गरिरहेका छन् । हो, वर्तमानको विकासका रुपमा सामाजिक सञ्जाललाई लिन सकिन्छ, तर यसमा पनि नियम र कानूनको परिधिभित्र रहेर यसको प्रयोग हुनु जरुरी नै भएको छ । यसलाई निगरानीमा राख्न पक्ङ्तिकारको आसय त्यो हो, जसले समाज विकासलाई आवश्यक र सही रूपमा डोर्याउन सकोस्, समाजलाई विकृतितिर नपुर्याओस् । यस्तो प्रकारको शिक्षा केवल सामाजिक शिक्षामा मात्र पाइन्छ । आजै घरघरमा सामाजिक शिक्षाको महत्वलाई बुझी त्यसभित्रको ज्ञानलाई व्यक्तिव्यक्तिमा पुर्याउनुपर्छ, नत्र समय धर्किन सक्छ । भोलि हामी पश्चातापमा पिरोलिनु सिवाय अर्को विकल्प नहुनसक्छ । कसैको सिको र नक्कल गर्दैमा आधुनिक बन्न सकिँदैन । आफ्नो धर्म-संस्कृति, परम्परा र मूल्य मान्यतालाई बिर्सनु किमार्थ सही होइन, तर यसको मतलब पुराना कुरीति अन्धविश्वासलाई अंगीकार गर्नु पनि पक्कै होइन ।
सामाजिक सञ्जालहरुको गलत प्रयोगलाई निरुत्साहित गर्न पहलकदमी कसले लिने ? समाजको परिधिभित्र रहेर व्यक्तिले जीवनयापन गर्नुपर्छ, परिधि उल्लंघन गर्ने व्यक्ति समाजमा कलंकित हुन पुग्छ । समाजले निर्माण गरेको गोरेटोमा हिँड्न नजान्ने व्यक्ति कलङ्कित हुन पुग्छ ।
आधुनिकताले नै समाजको रुपान्तरण तथा विकास गर्ने कुरामा दुई मत नहोला, तर आधुनिकता र विकाससँगै रहेर समाज सुहाउँदो परिवर्तनमात्र पाच्य र दीर्घायु हुनसक्छ । समाजको रुपान्तरणको अर्थ सामाजिक समस्याको मुख्य कारण र त्यसको संरचनागत जटिलताको पहिचान गर्नु हो । थप सकारात्मक परिवर्तन सहज पार्न विद्यमान संस्थाहरुमा रहेको विश्व दृष्टिकोण परिवर्तन गर्नु र राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक क्षेत्रमा विद्यमान शक्ति सन्तुलन परिवर्तन गर्नु हो । सचेतनता, सामाजिक र सांस्कृतिक विकासको तहलाई अझै फराकिलो पार्दै कुनै पनि शोषणमूलक समाज व्यवस्थामा जनता-जनताबीचको असमानतालाई अन्त्य गर्नु हो । सामाजिक रुपान्तरण हुनु भनेको व्यक्ति, संस्था, संस्कृति, सामाजिक संरचना र भौतिक उपयोगमा सकारात्मक परिवर्तन आउनु पनि हो । व्यक्तिमा सचेतनता अभिवृद्धि, सामाजिक विषयहरुमा जागरुकता र भूमिका बदलिँदो रुपमा देखिनु र सरकार वा संस्थाको परिवर्तित नीति हो । यसका खातिर परम्परागत मूल्य मान्यता र चलिआएको धर्म-संस्कृतिमाथि नै प्रहार गरिनुपर्छ, त्यो होइन । रुपान्तरण गर्न सचेतना तथा शिक्षाको पहुँच गाउँ तहसम्म एवं जनताका घरदैलोसम्म पुग्न र पुर्याउन सक्नुपर्छ । जसले सहजै रुपमा समाजका विकृति-विसंगतिहरुलाई चिर्नसक्छ ।
विकासको चरम अवस्थामा पुगेका देशहरुको सिको गर्दै गरिएको नक्कल मिश्रित जीवनशैलीले हामी कतातिर लम्कदैछौं भन्ने कुराको हेक्का राखेर अघि बढ्नुपर्छ । समाज र परम्परालाई ख्याल राख्नु आजको आवश्यकता हुनसक्ला । विकासलाई अंगीकार गर्ने नाउँमा विकृति भित्र्याइनु अवश्य फलदायी हुँदैन । संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावको कारणले प्रभावित हुन्छ ।