सपनाको चाङले उजाड बनेको जीवन – Nepal Press

सपनाको चाङले उजाड बनेको जीवन

सपना देख्ने सोच पनि अनेकौं, जसले जीवन नै अवशेषसम्म बनाइदिने । सपना आफैंमा साध्य हो कि होइन, यो व्याख्या पछि, तर सपनाको महत्वाकांक्षा भने जीवन दर्शनको मूल्य र मान्यताविपरीत रहेछ । त्यही सपनाको जञ्जालमा करोडौं आत्मा भड्किए, सपना देख्नेहरु त भड्किए नै त्यससँग सम्बद्ध अनेकौं पनि त्यसको जालोमा परे ।

आहा ! व्यक्तिको कुनै सपनाले यति लामो प्रशव पीडा, सपना, व्यक्तिगत इच्छा र आकांक्षा भए तापनि सपनासँगै जोडिएर आउने महत्वाकांक्षा भने खतरनाक हुने रहेछ । कल्पनाको सागरलाई सपना हुँदै महत्वाकांक्षामा जब जीवन जोडिन्छ, त्यसपछि जीवन जीवन नै नरहने रहेछ । यही एकमात्र सत्य रहेछ, अरु सबै मिथ्या !

सपना जीवनको सार रहला, यो अविच्छिन्न छ । सोचभित्रको आवश्यकताका चरम रुप सपनामा हरेकले पूरा गर्न खोज्छ । सायद सजीवभित्रको हरेकमा यो भावनाको विकास होला कि नहोला ? सामाजिक प्राणीको उपमानित मनुवा जातिभित्र भने यसको चरम दुरुपयोग र प्रयोग भएको पाइन्छ । जीवनको सामान्य मूल्य र मान्यताभित्र छिर्न नसक्दा देखिने सपनाका चाङ जीवनको बोझ बन्ने कुरामा अब कुनै द्विविधा भएन ।

मानव जीवनको न्यूनतम आवश्यकता कति ? यसको पूर्णता कति ? भौतिक सम्पत्तिको पर्याप्तता कतिले जीवन सार्थक बन्ने छ भन्ने कुराको निर्क्योल समयमै गर्न नसकिनु नै जीवनको सबैभन्दा ठूलो भूल रहेछ । नयनले कतै सामिप्य खोजिरहेछ, तर सपनाको चाङले छेकिरहेछ । यही बीचको भूमरीमा असंख्य जीवनहरु उजाडिरहे ।

मानव जीवनको न्यूनतम आवश्यकता कति ? यसको पूर्णता कति ? भौतिक सम्पत्तिको पर्याप्तता कतिले जीवन सार्थक बन्ने छ भन्ने कुराको निर्क्योल समयमै गर्न नसकिनु नै जीवनको सबैभन्दा ठूलो भूल रहेछ ।

धर्तीमा टेकिने पाइलाहरुको कहिल्यै यथार्थबोध गर्ने ल्याकत रहेन । रहर र चाहना पनि जीवनका मूल्य र मान्यताभन्दा धेरै पर, जुन रहर र चाहनाले जीवन नै विरक्त बनाइदियो । असीमित चाहनाको रहरलाई बोकेर हिँड्ने चाहना आवश्यक कि बाध्यता ? यही प्रश्नभित्र जीवन दर्शनका अनेकौं समाधान देख्न सकिन्छ, फरक यतिमात्र हो कि त्यो देख्ने, बुझ्ने र आत्मसात गर्ने चेतना कमैमा भेटिन्छन् ।

सहज जीवनलाई असहज बनाउने हाम्रा सपना हामीले देख्दै गर्दा जीवन भने केही समय रोमाञ्चित देखिन्छ, तर त्यो रोमाञ्चितभित्रको महत्वाकांक्षा भने भयंकरम् । सपना पनि देख्न कति सहज, जत्रो पनि देख्न सकिने ! सपनाको पनि मापदण्ड हुनुपर्ने नि ! मापदण्ड भए अनेकौं जीवन उजाडिने थिएनन् । सपना देख्न कुनै हैसियत नचाहिने ! कल्पना र सपनाबीचको सामिप्य केही समयसम्मका लागि अगाधै प्यारो ।

सपना र कल्पनाहरु उमेरसँगै छिप्पिँदै जानेरहेछ । उर्बर उमेरमा देखिएका सपना उमेरको बढोत्तरीसँग सपना र कल्पना पनि छिप्पिँदै जाँदोरहेछ । हिजोको कलिलो सपना आज जर्कटो लाग्न थालेको छ । हिजो मिठास लाग्ने सपना आज बोझ बनेको छ । सपना र कल्पनाको महत्वाकांक्षाले जीवन थिलथिलो बनेको छ ।

आजहिजोको जस्तो मधुर हावा बगेको छैन । मधुर हावा पनि कर्कट लाग्ने, बगेको हावाले पनि जिस्काएको जस्तो । चिसोचिसो मौसममा पनि उत्पीडनको आभास । जहाँ रहे तापनि सपनाको हावाले नछाड्ने ।

आत्मा र मस्तिष्कको बीचमा लामो पर्खाल रहेछ । पुलको भूमिकामा रहनुपर्नेहरु कहिल्यै पनि मिल्नै नसक्ने विपरीत धुव्रमा पुगिसक्दा पनि हिजोका सपनाहरु भने त्यो नयनमा आशावादी भएर देखिरहे । आशावादीले हद नाघ्दासमेत आशाका किरण भने अनेकौं त्यान्द्रोमा रहिरहे । आखिर यो सब यही सपनाको असीमित आवश्यकताको उपज रहेछ । जसले सजिलै बाँच्न दिँदैन ।

आत्मा र मस्तिष्कको बीचमा लामो पर्खाल रहेछ । पुलको भूमिकामा रहनुपर्नेहरु कहिल्यै पनि मिल्नै नसक्ने विपरीत धुव्रमा पुगिसक्दा पनि हिजोका सपनाहरु भने त्यो नयनमा आशावादी भएर देखिरहे ।

क्षितिजपारि नयनहरु विगतका सपना कल्पना बनेर आइरहे । केका लागि यति धेरै कृतघ्न ! यो सबै सोच्न घमण्डले दिएन । घमण्ड जीवनको सबैभन्दा अभिशाप हो, त्यो नबुझी कैयौं जीवन हराइरहे । पछाडि फर्किएर हेर्ने दुस्साहस कमैले गरुन् । यथार्थभन्दा देखासिकीले गाँजेको मानसिकता दास बन्न उद्यत बने, तर जीवनका सार बुझ्न कसैले चेष्टा गरेन ।

वरपीपलका पातहरु कैयौं झरे, कैयौं नयाँ पलुवा आए, गए । त्यसको कुनै लेखाजोखा छैन, तर देखिएका सपना भने जीवनसँगै टासिरहे । यस्तो लाग्छ, त्यही सपना जीवनपर्यन्त रहनेछ । जीवनले सास र धर्ती छाड्ला, तर त्यो सपना र कल्पनाले छाड्नेछैन, नयनले त्यही भनिरह्यो । हिजोको मिठास कल्पना र सपना आज बाध्यतामा रुपान्तरण भइदियो ।

विश्वासको सम्बन्ध नै धर्मराउन थालिसक्यो । हृदयको पुकारलाई महत्वाकांक्षाले गर्लम्मै छेकिदियो । यसका बावजुद पनि घमण्डहरुमा उही रवैया ! जुन रवैयाले त्यहाँ पुर्‍यायो । यति धेरै घमण्डको बीचमा जीवनको अर्थ बुझ्ने दुस्साहस कसैले नगर्लान् ।

दिनहरु बितिरहे, तर सपना बितेन । घमण्ड बितेन, झन् झन् कठिन, सहज बाटो नै सबै बन्द भए जस्तो । आखिर यो सबै जीवनभित्र केका लागि ? मृत्यृ शास्वत जीवनको एकमात्र सत्य हो भन्ने नबुझ्ने हठीहरु आफ्नो जीवनमात्र होइन, जोडिएका जीवनसमेत अपाङ बनाउन उद्यत बनिरहेका छन् । फगत घमण्ड र महत्वाकांक्षाका लागि ।

बाँच्छौं केका लागि ? सोच्नेहरुका लागि जीवन फूल रहेछ । अहंकारी, घमण्डी र महत्वाकांक्षीहरुका लागि जीवन अभिशाप रहेछ । त्यही अभिशाप प्राप्त गर्न अनेकौं व्यवहार जीवनको अभिन्न अंग बनिदिए । कतै सुस्काए जस्तो, समीपमै रहे जस्तो, कल्पनाको चाहनामा भने उमेरको कुनै बन्देज नहुने रहेछ । त्यसैलाई जीवनको अंग सोचेर जीवन घचेट्नु विकल्प रहेन । सबै जानेर र बुझेर पनि अञ्जान बन्नुपर्ने बाध्यतामा धेरै दासी बग्रेल्ती भेटिँदोरहेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *