पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए
काठमाडौं । एक महिनासम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको पशुपति कोटिहोममा समापनको रात हंगामा भएको छ । राति १० बजेतिर कोटीहोमस्थलमा अचानक प्रहरी प्रवेश गरेपछि तनाव सुरु भएको थियो ।
कोटीहोमका मुख्य आयोजक तथा संकल्पकर्ता विजय भण्डारीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरको टोली परिचालन भएको हो । त्यसबखत कोटीहोमस्थलभित्र सयौंको संख्यामा भण्डारीका समर्थक र भक्तजन थिए । प्रहरीले पक्राउ पूर्जि बिना भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरु उत्तेजित बने । अप्रिय अवस्थाको सिर्जना भयो ।
निकै बेरसम्म प्रहरी र समर्थकबीच घम्साघम्सी चलेको थियो । प्रहरीले केही भक्तजनलाई बल प्रयोग गरेर घाइते बनाएको आयोजक पक्षको दावी छ । साथै, भण्डारीका समर्थकले पनि प्रहरीमाथि हातपात गरेका थिए ।
आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उत्तेजक अभिव्यक्ति दिए । उनले पशुपति मन्दिर अब रणभूमि बन्ने बताएका थिए । नेपालको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिए ।
प्रहरीले पक्राउ गर्न खोजेपछि उनले आफू समर्थित पत्रकारको खोजी गरेका थिए ।
‘हाम्रो कन्ट्र्याक्टका पत्रकार कहाँ छन् ?’ भन्दै उनले आक्रोश व्यक्त गरेको लाइभ भिडिओमा सुनिन्छ । कोटिहोमको प्रचारप्रसारका लागि भण्डारीले केही युट्यूबर र पत्रकार भाडामा लिएका थिए । तर, अचानक घटना भएको हुँदा उनीहरु घटनास्थल पुग्न भ्याएका थिएनन् । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल दाैडादाैड गरेर घटनास्थल पुगे । उनले भण्डारीकाे समर्थनमा भाषण पनि गरे ।
भण्डारीको फेसबुक पेजबाटै घटनाको सबै लाइभ गरिएको थियो ।
समर्थकले निरन्तर नारावाजी र अवरोध गरेपछि प्रहरी टोली फिर्ता हुन बाध्य भए । तर, त्यसपछि पनि तनाव रोकिएन । भण्डारी र उनका समर्थकले कोटीहोमको मञ्चमा उभिएर चर्का चर्का भाषणहरु गरे । उनीहरुले प्रहरी र सरकारलाई लल्कारे ।
मध्यराततिर फेरि एकपटक झडप भयो । एक ‘आलोचक’ ले आयोजक भण्डारीलाई महायज्ञको हिसाब गर्न माग गरेपछि भण्डारीका समर्थकले ‘भिजिलान्ते’ भन्दै उनीमाथि खनिएका थिए । ती आलोचकमाथि पनि लाठी प्रहार समेत भयो ।
यसैगरि एक पत्रकारमाथि पनि भण्डारीका समर्थक जाइलागे । नेपाल भ्यूजका पत्रकार श्यामसुन्दर पुडासैनीले उत्तेजित माहोलका बीच केही कडा प्रश्नहरु भण्डारीका समर्थकलाई तेस्र्याएका थिए । त्यसपछि उनी निशानामा परे । उनलाई मञ्चमै बोलाएर उपहासपूर्वक दुवोको माला लगाइयो । मञ्चबाट झरेपछि आफूलाई घेरेर कुटिएको तथा हेल्मेट, पर्स लुटिएको उनले बताएका छन् ।
प्रहरीले किन रातारात भण्डारीलाई पक्राउ गर्न खोज्यो भन्ने स्पष्ट भइसकेको छैन । काठमाडाैं प्रहरी प्रमुख बसन्त रजौरेले भण्डारीलाई सोधपुछ मात्र गर्न खोजिएको दावी गरेका छन् । तर, कोटीहोम समाप्त भइसकेको स्थितिमा अर्को बिहान पनि नपर्खिनुले प्रहरीले पक्राउ गर्न खोजेको अनुमान गर्न सकिन्छ । यद्यपि प्रहरी सित पक्राउ पूर्जि थिएन ।
भण्डारीमाथि ठगीका आरोपहरु छन् । उनले विगतमा अमेरिका पठाइदिने भन्दै मानिसहरुसँग पैसा उठाएका थिए । यो विषयमा परेको मुद्दामा दोषी प्रमाणीत भएर उनले जेल सजाय भुक्तान समेत गरेका छन् ।
तर, तीन महिना अगाडि मात्रै भण्डारीले प्रहरी प्रधान कार्यालयको लेटरहेडमा आफ्नो चरित्रको प्रमाणपत्र लिएका छन् । अपराधिक पृष्ठभूमि लुकाएर यो प्रमाणपत्र कसरी हासिल गरे भन्ने शंकाष्पद देखिएको छ । यसै विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिन खोजेको रजौरेले दावी गरेका छन् ।
प्रहरीले पशुपतिजस्तो धार्मिक स्थलमै गएर रातारात धरपकड गर्नुको साटो एक–दुई दिन पर्खेको भए सायद यो अप्रिय अवस्था नआउन सक्थ्यो ।
भण्डारी मानव तस्कर रहेछन् अनि धर्मको नामका लुटेरा पनि ।
कोटीहोममा उठेको दक्षिणामा भाग नपाएर पत्रिकामा लेख्ने दलाल पत्रकारले जे लेख्यो त्यसलाई सत्य मान्ने पनि दलाल नै हुनुपर्छ ।