साहित्यमा ‘आफूविरुद्ध आफैँ’अभियान सुरु – Nepal Press

साहित्यमा ‘आफूविरुद्ध आफैँ’अभियान सुरु

काठमाडौं । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुले ‘आफूविरुद्ध आफैँ’अभियान सुरु गरेका छन् ।साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबीच यो अभियानको सुरुवात गरेका हुन् ।

यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरु प्रशंशाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।

सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आर।एम डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने।

उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् ।अन्य सदस्यहरूमा आरएम डङ्गोल,छविरमण सिलवाल, होमशंकर बास्तोला ,दीपक विहिन,बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् ।

कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य , लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनु पर्ने धारणा राखे ।

साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रह भित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । त्यसै गरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला ,छविरमण सिलवाल, दीपक विहिनले कृतिमाथि टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर