५ महिनापछि प्रचण्डले सम्झिए ओलीको बोली र देउवाको लोली, यस्तो थियो संसदको दृश्य (भिडिओ) – Nepal Press

५ महिनापछि प्रचण्डले सम्झिए ओलीको बोली र देउवाको लोली, यस्तो थियो संसदको दृश्य (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली र कांग्रेस सभापति शेरबहादुर देउवाको लोली सम्झिएका छन् ।

गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाडेर एमालेको समर्थनमा सरकार बनाएपछि विश्वासको मत लिने क्रममा ओलीले रोष्टमबाट देउवालाई आफूसँग भेट्न आग्रह गरेको कुरा आज सम्झिएका हुन् ।

आज पोष्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त क्षण सम्झँदै ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यही दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

उनले भने, ‘मैले गठबन्धन फेरेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलो पटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो, बोलचाल फर्काउनुपर्‍यो भनेर वर्तमान प्रधानमन्त्रीले मञ्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको । त्यो बडो प्रतीकात्मक थियो, मैले बुझिहालें । मानिसहरुले त्यसलाई कम ध्यान दिए, तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईंहरु मिल्नुस्, हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यही दिनबाट षड्यन्त्र हुन्छ भन्ने देखिएको थियो ।’

त्यसबेला ओलीले आफूसँग देउवाले तलबाट टाउको हल्लाएर समर्थन जनाउँदै हुन्छ अब बोल्ने भनेका थिए । ओलीको भनाइ थियो, ‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री । म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो । म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं, कुरा गरौं ।’

ओलीले संसदको रोस्टमबाट भेट्ने प्रस्ताव राखेपछि बैठकमै रहेको देउवाले मुसुमुसु हाँस्दै हुन्छ भन्ने जवाफ फर्काएका थिए ।
ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने भन्दै् छलफल गरेर समस्याहरू समस्या गर्दै देश अगाडि बढाउनुपर्ने उनको प्रस्ताव थियो ।

ओलीले त्यसबेला भने झैं अहिले कांग्रेस र एमाले एकै ठाउँमा आइपुगेका छन् । कहिले कांग्रेस, कहिले एमालेसँग मिलेर सत्ताको नेतृत्व गरिरहने मूडमा रहेका प्रचण्डलाई माथ खुवाउनेगरी अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाएका छन् ।

आफूसँग ३२ सीटको जादुयी अंक रहेको बताउँदै आएका प्रचण्ड अहिले दुई ठूला दल मिलेपछि जिल्लिएका छन् । त्यसो त यसअघि पनि पटक पटक एकअर्कालाई धोका दिएहरुका मिले भने के हुन्छ भन्दै कांग्रेस-एमालेका नेताहरुले चेनावनी नदिएका होइनन्, तर अहिले कांग्रेस र एमाले आफू नेतृत्वको सरकारले गरेको राम्रा काम रोक्न र भ्रष्टाचारीलाई रक्षा गर्न मिलेको प्रचण्डले आरोप लगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर