कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौं । पशुपतिनाथमा आयोजित कोटी होमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपालभ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटी होमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा पुडासैनीलाई कोटी होमको विरोधमा समाचार लेखेको भन्दै जबरजस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुर्व्यवहार गरिएको थियो । त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामानसमेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेटसमेत लुटपाट गरिएको छ ।’
कुटपिटबाट पुडासैनी घाइते भएका छन् । कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानूनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’
पत्रकारहरू जनताको तारो बनेका छन् । जनतामा तिमीहरूको छवि ठिक छैन । तिमीहरू पैसा पाए जे पनि लेख्ने, नपाए नलेख्ने दलालजस्ता भयौ भन्ने गुनासो जनतामा व्यापक छ । पत्रकार र मिडिया हाउस चलाउनेहरूको सम्पत्ति छानबिन गरौं, ठूला भनिएका एउटा पनि बच्दैनन कारवाहीबाट किनकी सबैको कालो धन भेटिईहाल्छ । पत्रकार महासँघ यिनै बेलगाम पत्रकारको संरक्षक मात्र भयो । यसले पत्रकार र मिडिया हाउसलाई सच्याउने कुनै काम गरेन । यसले संरक्षण दिएकाले झन् छाडा भए ।