जनार्दनलाई प्रचण्डको जवाफ- अब तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन (भिडिओ) – Nepal Press

जनार्दनलाई प्रचण्डको जवाफ- अब तपाईंले ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँगको बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले खुला छलफलले आफूहरुबीच देखिएको आशंका मेटिने बताए ।

उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नुभयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिए झैं ठोसिने चाहिँ गरेकै छौं । अहिलेमात्रै होइन, जनयुद्ध कालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’

प्रचण्डले अहिले भएको विवाद र बहसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । प्रभाकरले पार्टी फुटाउँदैछ भनेर आफूले नसोचेपछि भ्रमको कारणले आशंका पैदा गरेको प्रचण्डले बताए ।

उनले स्थायी कमिटीको बैठकपछि पार्टी फुट्दैछ भन्ने मान्यतालाई खारेज गरेको जिकिर गरे । शर्माले उठाएको विषयलाई केन्द्रीय कमिटीको दस्तावेजमा समेटेर लैजाने उनले सुनाए ।

प्रचण्डले थपे, ‘केही गम्भीर आशंकाका कुराहरु छन् अझै पनि । त्यस्तो कुरामा मैले र प्रभाकरले अध्ययन अनुसन्धान गर्ने, यस्तो आशंकाको स्थिति कसरी बन्यो भन्नेबारेमा सँगै बसेर अनुसन्धान गर्ने, नभए केन्द्रबाट टीम बनाएर पनि अध्ययन गर्ने, अहिले भ्रमको कुराहरु चिरिएका छन् । त्यसैले कमरेड प्रभावकरले पनि ममाथि अत्याचारका अत्याचार भनिराख्न जरुरी छैन । तपाईंले बहस गरेर राम्रो भयो । तपाईंले भनेको कुरा मूल नेतृत्वले नकारात्मक ढंगले लिएको भए बैठकले तपाईंले उठाएको विषय पार्टीले स्वीकार्दैनथ्यो । यो कुरालाई तपाईंले गहिरोसँग आत्मसात गर्नुपर्छ ।’

उनले पार्टी फुट्दैछ भन्ने कुरालाई खारेज गरेर आफ्नो सचिवालयबाट भ्रमको धेरै चर्चा भएको भन्ने विषयमा पनि अध्यनन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर