गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’ – Nepal Press

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याए झै‌ देखिने हरियाली । पाखामा फुलेका रंगीबिरंगी फूल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्काथुम्की ।

चरनमा रमाइरहेका गाईभैंसी, भे‌डाबाख्रा र घोडाका बथान । गाईवस्तुको घाँटीमा झुण्डिएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिनछिनमा फेरिरहने मौसम । घामपानी र बादलको लुकामारी ।

बिहानीपख सूर्योदय, साँझमा सूर्यास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्नेदेखि मनास्लुसम्मका हिमालहरुको मनमोहक दृश्य । बादल हट्दा देखिने नीलो आकाश । समुन्द्री सतहदेखि चार हजार १० मिटरको उचाइमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरे झैं आभास हुन्छ ।

काठमाडौंका आशिष सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जीवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताए ।

‘लोप हुँदै गएको घुम्ती गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो’, उनले भने, ‘जता फर्केर हेरे पनि देखिने मनमोहक दृश्यले समय बितेको पत्तै भएन ।’

यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृश्यका साथै बुकीको चरनमा रमाइरहेका भेंडा, बाख्रा, घोडा, गाईभैंसीका बथान थप आकर्षण हुन् ।

शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताए । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरि रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उनले सुनाए ।

ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने गर्पाछेडा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्छ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टीकाडाँडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।

पाहुनाका लागि ‘गोठ स्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।

‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताए ।

‘नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामकरण गरिएको हो’, उनले भने, ‘जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यका साथै गोठालाहरुको जीवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।’

गाईभैसीको दूध, दही, मोही, घ्यू, भेंडाबाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिँडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ ।

चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन् । प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४-१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुँदैन । गोठ स्टेमा २० जनाको क्षमता छ ।

ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताए । ढोरपाटन आउने पर्यटकको बसाइ लम्बाउन गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले बताए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *