अर्थतन्त्रभन्दा पुँजीबजारको आकार ठूलो भए के हुन्छ ? विज्ञ भन्छन्- केही हुँदैन – Nepal Press

अर्थतन्त्रभन्दा पुँजीबजारको आकार ठूलो भए के हुन्छ ? विज्ञ भन्छन्- केही हुँदैन

काठमाडौ । अहिले सामाजिक सञ्जालमा कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पुँजीबजारको आकार ठूलो हुन लाग्यो भन्ने चर्चा व्याप्त छ । केहीले त लगानीकर्ता सतर्क हुनुपर्ने भन्दै बहससमेत छेडेका छ्न् ।

नेपालको पुँजीबजारको आकार अहिले ४७ खर्ब ६५ अर्बं छ । देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब हुने अनुमान छ । यस आधारमा विगत एक महिनायताको रेसियोमा पुँजी बजार अगाडि बढे अर्थतन्त्रको आकारलाई नाघ्न सक्ने देखिन्छ ।

यसअघि नेप्से परिसूचक ३२०० नजिक हुँदा पनि पुँजीबजारको आकारले अर्थतन्त्रको आकारलाई नाघेको थियो । त्यो बेला पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगेको थियो जीडीपी ४२ खर्ब ६६ अर्ब थियो । यस आधारमा जीडीपीको तुलनामा बजार पुँजीकरण १०४.७३ प्रतिशतसम्म पुगेको देखिन्छ । त्यसपछि बजार तल झर्न सुरू गर्‍यो ।

साँच्चै अर्थतन्त्र भन्दा पुँजीबजारको आकार बढी हुनु खतरा हो ?

सबैभन्दा पहिला बजार पुँजीकरण र जीडीपीको गणना विधि हेरौं

जीडीपी

जीडीपी भनेको एक देशको आर्थिक उत्पादनको कुल मूल्य हो । यसमा निश्चित समय अवधिको (एकवर्ष भरको) उत्पादनको गणना गरिन्छ । यसमा सम्पूर्ण वस्तु र सेवाको मूल्य समावेश गरिन्छ जुन देशको आफ्नै अर्थतन्त्रमा उत्पादन भएको हुन्छ । उत्पादन, खर्च र आम्दानी विधिमार्फत जिडिपिको गणना हुन्छ ।

बजार पुँजीकरण

बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीको सेयरको कुल बजार मूल्य हो । यो कम्पनीको शेयरहरूको कूल संख्यालाई शेयरको बजार मूल्यसँग गुणा गरेर निकालिन्छ ।

नेपालको अभ्यासमा बजार पुँजीकरण व्यबहारिक छैन । किनभने नेपालमा सर्वसाधारणको भन्दा संस्थापकको सेयर निकै सस्तो मूल्यको छ । फेरी यी सेयर सधै खरिद बिक्रि हुदैनन । तर, बजार पुँजीकरणका नाममा सबै सेयरलाई एउटै बजार मूल्यले गणना गरेको पाइन्छ ।

के भन्छन् जानकार ?

धितोपत्रमै पीएचडी गरेका डा. गोपाल भट्ट जीडीपीको भन्दा पुँजीबजारको आकार ठूलो हुँदा अर्थतन्त्रमा कुनै असर नगर्ने बताउँछन् ।

उनी भन्छन्, ‘जीडीपी र बजार पुँजीकरणको साइनो हेरिएला तर जिडिपि भन्दा बढी बजार पुँजीकरण हुदा समस्या हुन्छ भन्नु वाहियात हो । यस्तो केही हुन्न ।’

अर्का विज्ञ डा. केशव श्रेष्ठ पनि जीडीपी र बजार पुँजीकरणको कुनै साइनो नहुने बताउँछन् ।

उनी भन्छन, ‘कुनै पनि कम्पनी सूचीकृत भएर कारोबार हुन थालेको छ भने उसले तत्काल अर्थतन्त्रमा कति प्रभाव पार्छ भन्ने हुँदैन । बरु एक वर्षमा उक्त कम्पनीले अर्थतन्त्रमा कति योगदान दियो भनेर निकाल्न सकिएला । पुँजीबजार राम्रो हुनु भनेको लगानीको विश्वास बढ्नु हो ।’

तर, अर्थतन्त्रको आकारभन्दा माथि पुँजीबजारको आकार भए नियामकले त्यही बहानामा डण्डा लगाउने सम्भावना हुने श्रेष्ठको भनाइ छ ।

धितोपत्र बोर्डमा बसेर लामो समय काम गरिसकेका पूर्वकार्यकारी निर्देशक नीरज गिरी पनि अर्थतन्त्रभन्दा बजार पुँजीकरण ठूलो हुन नहुने मान्यता कतै नभएको बताउँछन् । यदि कुनै पनि देशको सेयर बजारमा देशको कुल ग्राहस्थ उत्पादनभन्दा ठूलो बजार पुँजीकरण छ भने यसले सेयर बजार अधिक मूल्यांकन भएको देखाउँछ ।

यस्तो अवस्थामा लगानीकर्ताहरू कम्पनीको वित्तीय अवस्थाको विश्लेषण नै नगरी आँखा चिम्लेर लगानी गर्न सक्ने सम्भावना हुन्छ । त्यसले लगानीको जोखिम बढाउने केहीको भनाइ छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा विश्वका अधिकांश मुलुकको कुल गार्हस्थ उत्पादन नराम्रोसँग प्रभावित भएको थियो । त्यतिबेला स्टक मार्केटको मूल्यमा समेत तीव्र गिरावट आएको थियो । अर्थतन्त्र सुधार हुँदै जादा कुल गार्हस्थ उत्पादन वृद्धि हुँदै गयो र विस्तारै स्टक मार्केट पनि रिकभर भएको देखिन्छ । अर्थतन्त्र सुध्रिदा पुँजीबजार पनि सुधार आउँछ भन्ने यो उदाहरण पनि हो ।

उच्च बजार पुँजीकरण भएको देशमा वित्तीय बजारमा लगानीप्रति विश्वास छ भन्ने जनाउँछ । बजार पुँजीकरण र जीडीपीको अनुपातले पनि अर्थतन्त्रको गतिविधि र वित्तीय प्रणालीको आकारको संकेत दिन सक्छ । उदाहरणका लागि, यदि बजार पुँजीकरण जिडिपीको तुलनामा ठूलो छ भने, यसले अर्थतन्त्रमा लगानीको ठूलो हिस्सा वित्तीय बजारमा लगाइएको छ भन्ने जनाउँछ ।

व्यवहारिक छ त नेपालमा बजार पुँजीकरणको गणना ?

नेपालमा बजार पुँजीकरणको गणना गर्दा सुचिकृत सबै सेयर (साधारण र संस्थागत) को बजार मुल्य एउटै लिइन्छ । मानौ संस्थापक सेयर मुल्य एक सय रूपैयाँ भएको एउटा कम्पनीको साधारण सेयरको बजार मूल्य ३०० छ भने कुल बजार पुँजीकरणमा संस्थापक सेयर मूल्यलाई पनि त्यही (३००) बजार मूल्य राखेर गणना गर्ने चलन छ । यसले वास्तविक पुँजीकरण देखाउँदैन । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली अन्तर्राष्ट्रियस्तरमै यसरी गणना हुने बताउँछन् ।

फ्लोट पुँजीकरणबाट साधारण सेयरको मात्रै पुँजीकरण थाहा हुने उनले बताए । अहिले फ्लोट पुँजीकरण १६ खर्ब ८० अर्ब रूपैयाँ छ ।

सेवोनका पूर्वकार्यकारी निर्देशक गिरी अन्तर्राष्ट्रिय मूल्य मान्यता एकातिर र हाम्रो सेयरहरूको मूल्य अर्कोतरि हुने भएकाले बजार पुँजीकरण व्यवहारिक नभएको बताउँछन् ।

गिरी थप्छन्, ‘अन्तर्राष्ट्रियस्तरमा संस्थापक सेयरको मूल्य बढी हुन पनि सक्छ । संस्थापक लक इन अवधि पनि हुँदैन । त्यसकारण हाम्रोमा नेप्से इन्डेक्स नै परिवर्तन गर्नुपर्छ भन्ने विषय पहिलेदेखि उठेको छ ।’

नेप्से अल सेयर (सबै सेयर) इन्डेक्स हो । यसमा ट्रेडेबल (कारोबार हुने) र ननट्रेडेबल (कारोबार नहुने) दुवै हुन्छ । यसकारण नेप्से इन्डेक्स नै परिवर्तन गर्नुपर्ने माग उठरिहेको छ, उनले भने ।

विश्वका समृद्ध देशमा पनि बजार पुँजीकरण बढी भएको देखिन्छ । सन २०२४ को सुरूमा अमेरीकामा बजार पुँजीकरण ४५ ट्रिलियन अमेरिकी डलर हुँदा जीडीपी २६ ट्रिलियन अमेरीकी डलर थियो । अमेरीका समृद्ध अर्थतन्त्र भएको देश हो । यसकारण पनि यहाँ लगानीको वातावरण छ भनिन्छ ।

चीनमा पनि सन् २०२४ को शुरूमा जीडीपी १९ ट्रिलियन अमेरिकी डलर हुँदा बजार पुँजीकरण १५ ट्रिलियन डलर थियो । सन् २०२४ को शुरूमै छिमेकी मुलुक भारतको अर्थतन्त्र र बजार पुँजीकरणको साइज लगभग उस्तै (४.५ ट्रिलियन डलर) देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर