८ वटा सहकारीसँग सम्बद्ध मधुसूदन पाठकलगायत यी व्यक्तिसँग संसदीय समितिले लियो बयान
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति सूर्य थापाले अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए ।
उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरूसँग बयान लिने काम लगभग सकिएको बताए ।
उनले शनिवार बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेको बताए ।
उनले पछिल्लो समयमा जीवी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्यीय सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग सम्बद्ध मधुसूदन पाठकसँग सोधपुछ गरेको पनि बताए ।
उनले समितिले धरान उपमहानगरपालिकाको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेको बताए ।