पशुपति कोटी होम, विजयकृष्ण मूर्ति र कन्ट्रयाक्टका पत्रकार – Nepal Press
टिप्पणी/ब्लग

पशुपति कोटी होम, विजयकृष्ण मूर्ति र कन्ट्रयाक्टका पत्रकार

धर्म यस्तो शक्तिशाली औजार हो, जसले असंख्य मानिसहरुलाई भावनात्मक रुपमा एकीकृत गर्नसक्छ र साथसाथै एकापसमा विभाजित गर्न पनि सक्छ । धर्मले आत्मानुशासन सिकाउँछ, तर हिंसा र अशान्ति पनि निम्त्याउँछ । धर्म समाजका रोगहरुको जडी ओखती हो भने आफैं सबैभन्दा ठूलो रोग पनि हो । धर्म शीतल जल पनि हो, बारुद पनि हो । त्यसउसले धर्मसँग जोडिएका कुनै पनि विषयवस्तुलाई राज्यदेखि मिडियासम्मले अत्यन्तै सतर्कतापूर्वक सम्बोधन गर्नुपर्ने हुन्छ । अन्यथा सानो भूमरीले डरलाग्दो आँधीको रुप लिनसक्छ । धर्मका नाममा समाज विथोलिएको मात्रै होइन, देशै तहसनहस भएका उदाहरण संसारमा थुप्रै छन् ।

संविधानमा नलेखिएको भए तापनि भावनात्मक रुपमा नेपाल आज पनि एउटा ‘हिन्दू राष्ट्र’ नै हो, जहाँ ८० प्रतिशतभन्दा बढी जनता हिन्दू धर्मप्रति आस्थावान छन् । संख्यात्मक रुपमा यति प्रभुत्वशाली हुँदाहुँदै पनि नेपालमा हिन्दूहरुको दबदबा आजका दिनसम्म छैन । भारतको जस्तो कट्टरपन्थी र उग्रवादी हिन्दूत्व, जहाँ अन्य धार्मिक अल्पसंख्यकहरु निरन्तर पेलानमा छन्, नेपालमा नरहेको यथार्थलाई सायदै कसैले नकार्नसक्छ । बरु गणतन्त्रकाल आएपश्चात हिन्दूहरु नै राज्य संयन्त्रको चपेटामा परेको गुनासो सुन्न थालिएको छ । नेताहरुको फोटो राखेर एउटा सांकेतिक अनुष्ठान गरेकै आधारमा ज्योतिषी पुष्कर खतिवडालाई १५ दिनदेखि प्रहरी हिरासतमा राखिनु र साइबर क्राइमको मुद्दा हालिनु सायद यसैको द्योतक हो कि ?

अब आउँछु मूल प्रसंगमा । आराध्यदेव पशुपतिनाथको प्रांगणमा एक महिनासम्म ‘कोटी होम महायज्ञ’ का नाममा धार्मिक उत्सव चल्यो । अघिल्लो शनिबार म पनि पुगेको थिएँ । भक्तजनहरुको थामिनसक्नु भीड थियो । मूल प्रवचनस्थलमा बस्ने मात्र होइन, खुट्टा टेक्ने पनि ठाउँ थिएन । त्यहाँको दृश्य हेर्दा महसुस भयो कि नेपालीमा सनातन हिन्दू धर्मप्रतिको आकर्षण र रुझान पटक्कै कमजोर भएको रहेनछ । बरु विभिन्न चेपुवामा परेर थप बलियो भएको जस्तो लाग्यो । देशमा धर्मनिरपेक्ष घोषणासँगै हिन्दूत्व कमजोर बन्दै गएको आँकलनलाई यो ‘महायज्ञ’ले खण्डित गरिदिएको छ । एक हिन्दू हुनुका नाताले यो कुराप्रति पक्कै गर्व लाग्यो, तर यो ‘महायज्ञ’ को सार यतिमात्र होइन ।

खासमा यो महायज्ञ सुरु भएकै दिनबाट विवादमा परेको थियो । हिन्दू धर्मका ज्ञाताहरुले धर्मशास्त्रका मान्यताहरु विपरीत आर्थिक संकलनको मात्र ध्येयले कोटी होम लगाइएको गम्भीर आरोप लगाएका थिए । कार्यक्रमस्थलको माहोल र मुख्य आयोजकका रुपमा रहेका विजय कृष्णमूर्ति महाराज उर्फ विजय भण्डारीको पृष्ठभूमिले उनीहरुको आरोपलाई निश्चय पनि बल पुग्थ्यो । कोटी होममा धार्मिक प्रवचन र कथा वाचकभन्दा बढी अतिथिहरुको भाषण, नाचगान र सम्मान कार्यक्रमहरु हुने गर्थे । दिनदिनै विभिन्न कलाकारहरुलाई निम्त्याएर मञ्चमा भाषण गर्न, गीत गाउन र नाच्न लगाइन्थ्यो । पत्रकारहरुलाई खोजीखोजी बोलाएर खादा र माला लगाएर सम्मान गरिन्थ्यो । मैले पनि सायद पत्रकारको रुपमा चिनाएको भए दुबोको माला भिरेर फर्किन सक्ने थिएँ, तर संकल्पकर्ता ‘महाराज’ सबै इतिवृतान्त थाहा पाइसकेको हुनाले उनको हातबाट माला लगाउने कुनै रहर भएन ।

यो महायज्ञको मूल ध्येय आर्थिक संकलन हो भनेर अनुमान गर्न सकिने केही आधार थिए । पहिलो त पशुपति परिसरमा यत्रतत्र राखिएका दान सचिवालयहरु । डेढ दर्जन जति ‘दान सचिवालय’ मा कर्मचारीहरु दाताको प्रतीक्षामा हातमा रसिद बोकेर बसिरहेका देखिन्थे ।

यो महायज्ञको मूल ध्येय आर्थिक संकलन हो भनेर अनुमान गर्न सकिने केही आधार थिए । पहिलो त पशुपति परिसरमा यत्रतत्र राखिएका दान सचिवालयहरु । डेढ दर्जन जति ‘दान सचिवालय’ मा कर्मचारीहरु दाताको प्रतीक्षामा हातमा रसिद बोकेर बसिरहेका देखिन्थे । दाताहरु ठूलो संख्यामा आउने भएकाले यसलाई व्यवस्थित गर्न सचिवालयहरु खोलिएको होला सायद, तर विभिन्न स्थानमा राखिएका ठूल्ठूला फ्लेक्स बोर्डहरुले भने ‘दान’ लाई व्यवसायीकरण गरिएको स्पष्टै झल्किन्थ्यो । ती फ्लेक्स बोर्डमा दानको ‘साइज’अनुसार सम्मानका ‘स्किम’हरु लेखिएका थिए । थोरै पैसा दिनेले रसिदमात्र पाउने, धेरै दिनेलाई कार्यक्रमको प्रमुख अतिथि बनाउनेदेखि बाजागाजासहित नगर परिक्रमा गराउनेसम्मका थरिथरि अफरले ‘दान’ को पवित्रतालाई गिज्याइरहेको आभाष मलाई भयो । दान रकमका आधारमा दातालाई लगाइदिने मालाको पनि स्तर निर्धारण गरिएको थियो ।

काेटिहाेममा राखिएकाे दान सचिवालय

हुन त नेपालमा यो नयाँ अभ्यास भने होइन । प्रख्यात पण्डित नारायणप्रसाद पोखरेलले विभिन्न स्थानमा पुराण भन्दाखेरि दाताहरुलाई हौसला दिन सम्मान गर्ने प्रथा सुरु गरेका थिए । विस्तारै यसको विद्रुपीकरण हुँदै गयो । बढी पैसा दिनेलाई बढी सम्मान र कम दिनेलाई कम सम्मान गर्न थालियो । पण्डित पोखरेलले लगाएका सप्ताह-पुराणमा संकलित रकमले देशमा थुप्रै सत्कार्य पनि भएका थिए । विद्यालय भवन, स्वास्थ्य चौकी, मन्दिरहरु बने, तर विस्तारै यसको व्यवसायीकरण हुँदै अहिले फ्लेक्स बोर्डसम्म आइपुगेको हो ।

कोटी होम आयोजकले ‘हामीले कसैलाई जबरजस्ती गरेका छैनौं, सबैले स्वेच्छाले दिएका हुन्’ भनेर तर्क त गर्न सक्छन्, तर उनीहरुले फ्लेक्स बोर्डमा लेखेका स्किमले ‘दान’ को मर्ममा प्रहार भएको छ भनेर निसंकोच भन्न सक्छु । दातालाई मनोवैज्ञानिक दबाब वा प्रभावमा पारेर उसले सोचेकोभन्दा बढी रकम फुत्काउन खोज्नु भनेको आर्थिक शोषण हो । बढी सम्मानका खातिर मानिसहरु आफ्नो औकातले भ्याउनेभन्दा बढी रकम कबुल गर्न हौसिन्छन् नै, तर एकछिनको सम्मानले फुरंग भएको व्यक्ति घरमा पुगेर पछुताउने अवस्था पनि आउनसक्छ ।

दानलाई अझै गहिरोसँग बुझौं । यसका अनेक परिभाषा होलान् । धार्मिक दृष्टिकोणबाट चाहिँ भगवानका नाममा भक्तजनले स्वेच्छिक रुपमा अर्पित गर्ने नगद वा जिन्सीलाई ‘दान’ का रुपमा बुझ्ने गरिन्छ । दान गर्दा पुण्य मिल्छ र त्यसको फल अर्को जन्ममा प्राप्त गर्न सकिन्छ भन्ने पनि धार्मिक मान्यता रहेको छ । हुन त दान गर्न भौतिक वस्तु नै हुनुपर्छ भन्ने पनि छैन । ऋग्वेदमा ज्ञान वा विद्या दानलाई सर्वश्रेष्ठ दान मानिएको छ । अहिले चलनचल्तीमा रहेको ‘चन्दा’ पनि दानकै एक रुप हो । थोपाथोपा मिलेर समुद्र बने झैं थोरै-थोरै चन्दा संकलन गरेर ठूलो कोष निर्माण गरी नेपालमा विभिन्न परियोजना सफल भएका छन् ।

पवित्र भावनाले एक रुपैयाँ दिने पनि असल ‘दाता’ हो । कलुषित भावनाले वा गलत उद्देश्यले लाखौं दिने वास्तविक दाता होइन । गलत तरिकाले आर्जन गरिएको धनलाई दान गर्दा कुनै पुण्य प्राप्त नहुने भनेर स्कन्द पुराणमा लेखिएको छ । यसर्थ दानको राशीभन्दा पनि नियत महत्वपूर्ण हुन्छ ।

महाभारतमा यक्षले युधिष्ठिरलाई सोधेका थिए, ‘कुन दान सर्वश्रेष्ठ हो ?’ युधिष्ठिरले जवाफ दिए, ‘जुन असल पात्रलाई दिइएको हुन्छ । कुनै पनि दान यदि सही व्यक्तिको हातमा परेर असल प्रयोजनमा लगाइन्छ भने त्यही सर्वश्रेष्ठ हो ।’

दान गर्न ठूलो धनराशी नै हुनुपर्छ भन्ने छैन । पवित्र भावनाले एक रुपैयाँ दिने पनि असल ‘दाता’ हो । कलुषित भावनाले वा गलत उद्देश्यले लाखौं दिने वास्तविक दाता होइन । गलत तरिकाले आर्जन गरिएको धनलाई दान गर्दा कुनै पुण्य प्राप्त नहुने भनेर स्कन्द पुराणमा लेखिएको छ । यसर्थ दानको राशीभन्दा पनि नियत महत्वपूर्ण हुन्छ । वास्तविक दाता आफूले दिएको ‘दान’ सार्वजनिक गर्न पनि रुचाउँदैन, सम्मानको लोभ राख्दैन । समाचारमा आउने लोभले १० लाख रुपैयाँ दिने उद्योगपतिभन्दा ५ रुपैयाँ दानपेटिकामा चुपचाप खसाउने एउटा मजदुर वास्तविक दाता हो ।

दाताले जे जति दान गरे पनि त्यो रकम कुनै सत्कार्यमै खर्च होस् भन्ने चाहन्छ । एउटा व्यक्तिलाई रजगज गर्न कसैले पनि दान दिएको हुँदैन । संकल्पकर्ता भण्डारीमाथि शंका उब्जेको यसैमा हो । ठगीको मुद्दामा दोषी ठहर भएर दुई वर्षभन्दा बढी जेल सजाय भुक्तानी गरिसकेका तथा ठाउँ-ठाउँमा यस्तै धार्मिक अनुष्ठानहरु लगाएर त्यसमा संकलित रकम एक्लै कुम्ल्याएको र उधारो नतिरी भागेको आरोप लागेका व्यक्ति हुन् कोटी होमका मुख्य आयोजक भण्डारी ।

पशुपति कोटी होममा भएको दान संकलन तथा यसको खर्च प्रणाली बिल्कुल पारदर्शी हुन सकेन । कति रकम संकलन भयो भनेर सार्वजनिक गरिएको छैन । कोटी होम आधाउधी हुँदै गर्दा भण्डारीले टेलिभिजनमा अन्तर्वार्ता दिएर भनेका थिए, ‘सोचे जस्तो रकम उठेकै छैन । अहिले आम्दानीभन्दा खर्च बढी छ । धेरैजसोले ५०० रुपैयाँभन्दा कम दिनुभएको छ ।’ त्यसको केही दिनपछि दिएको अन्तर्वार्तामा उनले महायज्ञको खर्च बल्लबल्ल उठेको बताए । यदि रकम बचत भएमा आश्रम निर्माणमा खर्च गर्ने उनले बताए । भण्डारीका यस्ता अभिव्यक्तिबाट छर्लङ्ग हुन्छ कि उनले धार्मिक अनुष्ठानलाई व्यवसायका रुपमा लिएका छन् । धर्मका नाममा धन्दा चलाइरहेका छन् ।

महायज्ञमा करोडौं रकम उठेको सहजै अनुमान गर्न सकिन्छ । अझै पनि उनी ‘बचत भएमा’ भन्दैछन् । अर्थात् बचत नहुन पनि सक्छ । त्यसो भयो भने त दाताहरुले दिएको करोडौं रकम यत्तिकै सकियो । के केमा सकियो होला त ? सबैभन्दा बढी त कथा वाचकहरुलाई नै दिए होलान् । कसलाई कति दिइयो भन्न खुलाइएको छैन । व्यवसायिक रुपमै सबै गरिसकेपछि त्यो पनि आयोजकले खुलाउनुपर्थ्यो । समारोहस्थलको भव्यता, सजावट तथा प्रचारप्रसारमा उनले भव्य खर्च गरेको देखिन्छ । मिडियामा विज्ञापनमात्र होइन कि केही पत्रकारलाई प्रचारप्रसारका लागि ‘कन्ट्र्याक्ट’ मै लिएको उनी आफैंले बताएका छन् । कोटी होमस्थलमा अस्ति प्रहरी प्रवेश गरेपछि उनले आत्तिँदै भनेका थिए, ‘खोइ हाम्रा कन्ट्र्याक्टका पत्रकार ?’ ती कन्ट्र्याक्टका पत्रकार को-को हुन् र उनीहरुसँग कस्तो कन्ट्र्याक्ट थियो भन्ने सार्वजनिक गरिएको भने छैन ।

‘दान दिनेले हो चासो राख्ने, नदिनेलाई केको खसखस ?’ भन्नेहरु पनि छन् । कुरा ठीकै पनि हो । म नदिनेमा पर्छु, तर मलाई चाहिँ खसखस गर्ने अधिकार छ । जो दान दिनेहरु छन्, उनीहरूको तर्फबाट यो खसखस हो । सञ्चारकर्मीले लेख्ने कुराहरु आफ्ना हुँदैनन्, अरुको आवाज बोलिदिने हुन् ।

कोटी होम जारी रहँदा दिनहुँजसो पत्रकारहरुलाई सम्मान गरेको देखिन्थ्यो । चलेका युट्युबरमात्र होइन, ऋषि धमलादेखि टीकाराम यात्रीसम्म सम्मान थाप्न पुगेका थिए । कम्तीमा टीकाराम यात्री ‘कक्ट्र्याक्ट’ का होइनन् भन्ने आशा गर्छु, तर उनले आफू कस्तो व्यक्तिको हातबाट सम्मान ग्रहण गर्दैछु भन्ने हेक्का किन राखेनन् भन्ने चाहिँ उदेकलाग्दो छ । एउटा सचेत पत्रकारले गेरुवस्त्र लगाउने सबैलाई साधु ठान्ने गल्ती गर्नुहुँदैन । त्यसमाथि विष्णु भण्डारीका बारेमा समाचारहरु पहिल्यैदेखि छ्याप्छ्याप्ती भएका हुन् ।

कोटी होममा कति रकम संकलन भयो भन्ने खुलस्त पारिएको छैन । जति उठेको हो, त्यति नै सार्वजनिक गरिन्छ भन्ने पनि ग्यारेन्टी देखिएन । यसकारण कि त्यहाँ सबै कुरा भण्डारीको एकल नियन्त्रणमा छ । उनको ‘ट्र्याक रेकर्ड’ हेर्दा पशुपति महायज्ञमा संकलित रकमको वास्तविक हिसाबकिताब देखाउलान् भनेर कसैगरी पनि ढुक्क हुने अवस्था छैन ।

‘दान दिनेले हो चासो राख्ने, नदिनेलाई केको खसखस ?’ भन्नेहरु पनि छन् । कुरा ठीकै पनि हो । म नदिनेमा पर्छु, तर मलाई चाहिँ खसखस गर्ने अधिकार छ । जो दान दिनेहरु छन्, उनीहरूको तर्फबाट यो खसखस हो । सञ्चारकर्मीले लेख्ने कुराहरु आफ्ना हुँदैनन्, अरुको आवाज बोलिदिने हुन् ।

अब अन्तिम प्रसंग ।

शुक्रबार राति प्रहरीले एकाएक कोटी होमस्थलमा हस्तक्षेप गर्‍यो । यसमा चाहिँ मेरो असहमति छ । ठगीको पृष्ठभूमि भए पनि ‘भण्डारी’ फरार अभियुक्त हुन् भनेर प्रहरीले भनेको छैन । यदि ‘माथिको आदेश’ मा होइन भने, उनलाई रातारात आएर पक्राउ पुर्जीविना धरपकड गर्न खोज्नु प्रहरीको रणनीतिक कमजोरी हो । हुन त भण्डारीलाई सोधपुछ गर्नमात्र लैजान खोजेको दाबी प्रहरीले गरेको छ । त्यो गर्नलाई पनि ठाउँ, परिवेश र समय उचित भएन ।

अर्कोतर्फ भण्डारी र उनका समर्थकहरुको उग्रता हेर्नुस् । एउटा पवित्र धार्मिक स्थानमा प्रहरीमाथि अपशब्दसहित तथानाम मुख छाडियो । केहीले त गुण्डागर्दी नै देखाए । ‘कडा’ प्रश्न सोध्ने पत्रकारमाथि हातपात भयो । भण्डारी स्वयम्ले समर्थकहरुलाई भड्काउन खोजे ।

महायज्ञ समापन भइसकेको थियो । भण्डारी त्यही रात पैसा कुम्ल्याएर भागिहाल्ने सम्भावना पक्कै थिएन । यदि त्यस्तो शंका भएमा उनलाई नजिकबाट निगरानी गर्न सकिन्थ्यो । कम्तीमा रात त बित्न दिएको भए हुन्थ्यो । त्यहाँको माहोल विचार नगरिकन प्रहरीले अनायाश हस्तक्षेप गर्दा पशुपति जस्तो धार्मिकस्थलमा अप्रिय दृश्यहरु देखिए । अन्तमा प्रहरी नै रक्षात्मक बन्नु परेको छ ।

अर्कोतर्फ भण्डारी र उनका समर्थकहरुको उग्रता हेर्नुस् । एउटा पवित्र धार्मिक स्थानमा प्रहरीमाथि अपशब्दसहित तथानाम मुख छाडियो । केहीले त गुण्डागर्दी नै देखाए । ‘कडा’ प्रश्न सोध्ने पत्रकारमाथि हातपात भयो । भण्डारी स्वयम्ले समर्थकहरुलाई भड्काउन खोजे । नेपाललाई बंगलादेश र श्रीलंका बनाइदिने ध्वाँस दिए । यदि आफूमा कुनै कैफियत थिएन भने छाती फुकाएर प्रहरीसँग गइदिएको भए हुन्थ्यो । छाती फुकाएरै निस्किन सक्थे, तर उनले नचाहिँदो तुजुक देखाउन खोजे । समर्थकले रातभरि प्रहरीलाई लल्कारिरहे ।

हो, भण्डारीका अनेक कैफियत छन् । उनीमाथि छानबिन गर्नुपर्ने आवश्यकता प्रहरीले देख्नसक्छ । भण्डारीले प्रहरीबाट निकालेको एउटा चारित्रिक प्रमाणपत्र मिडियामा सार्वजनिक भएको थियो । ठगीमा जेल सजाय भोगेका व्यक्तिलाई प्रहरीले कसरी ‘निष्कलंकको प्रमाणपत्र दियो भन्ने प्रश्न छ । यो विषयमा प्रहरीले सुरुमा आन्तरिक छानबिन नै गर्नुपर्छ । उनको प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकृतलाई पहिले सोधपुछ गर्नुपर्छ । त्यसपछि भण्डारीको पालो आउने हो ।

महायज्ञमा उठेको रकमको सम्भावित अपचलनबारे पनि सरकार चनाखो हुनुपर्ने आवश्यकता छ, तर सबै काम-कारबाही विचार पुर्‍याएर गरियोस् । विधि-प्रक्रियाअनुसार नै जानुपर्छ । मैले माथि नै भनेको थिएँ, धर्मसँग जोडिएका हरेक विषयवस्तुलाई सतर्कतापूर्वक डिल गरिएन भने सानो झिल्कोले भीषण आगो लाग्नसक्छ ।

याे पनि पढ्नुस् :

धर्मभित्र ‘धन्दा’ चलाइरहेका महाराज !

पशुपति कोटिहोम : लण्डनबाट आइन् नयाँ कथावाचिका चन्द्रकला सखी (भिडिओ)


प्रतिक्रिया

One thought on “पशुपति कोटी होम, विजयकृष्ण मूर्ति र कन्ट्रयाक्टका पत्रकार

  1. यो लामो लेखमा यज्ञमा उठेको पैसा, त्यसको हिसाबलाई बढी महत्व दिएर यज्ञप्रति नकारात्मक भावना जगाउन खोजिएको देखिन्छ । यसका दुई कारण हुन सक्छन्। एक आयोजकले यत्रो रकम उठाएर पनि लेखकलाई सुको नदिएकाले देखाईदिन लेखेका हुन्सक्छन। अर्को क्रिश्चियनले हिन्दू प्रति नकारात्मक समाचार पैसा दिएर लेखाएको पनि हुनसक्छ । छानबिन होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *