कृष्ण ढुंगेलको दोस्रो कृति ‘समयको नक्साबाहिर’ सार्वजनिक – Nepal Press

कृष्ण ढुंगेलको दोस्रो कृति ‘समयको नक्साबाहिर’ सार्वजनिक

काठमाडौं । लेखक तथा पत्रकार कृष्ण ढुंगेलको संस्मरणात्मक निबन्ध ‘समयको नक्साबाहिर’ विमोचन भएको छ । शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबीच ढुंगेलको दोस्रो सार्वजनिक भएको हो ।

मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देल एवम् लेखकसहितले पुस्तकको संयुक्त विमोचन गरेका हुन् ।

कार्यक्रमको सहजीकरण राजु झल्लु प्रसादले गरेका थिए । कार्यक्रममा कृतिमाथि अतिथिहरुसँग बहस एवम् अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासका रुपमा चित्रण गरेका थिए । उनले भने, ‘ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।’

लम्सालले संस्मरणात्मक कृतिमा जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछि ‘समयको नक्साबाहिर’ रहेको बताए ।

‘समयको नक्साबाहिर’ले युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ’, लम्सालले भने, ‘भाइरल भए होस्, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पछिको युवापुस्ताको गजबको संस्मरणात्मक पुस्तक यो हो ।’

लेखक तथा समीक्षक अनिता पन्थीले पुस्तकमा बालमनोविज्ञान यथेष्ट रहेको बताइन् । ‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो’, उनले भनिन्, ‘यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।’

राजनीतिकर्मी तथा लेकक गणेश कार्कीले विज्ञान, खेल र सिकाइलाई यो पुस्तकले मीठोसँग प्रस्तुत गरेको बताए । ‘लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिंडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ’, कार्कीले भने ।

साहित्यपोस्टका सम्पादकसमेत रहेका लेखक ढुंगेलले आफूले आफैंलाई पोख्न पुस्तक लेखेको आशय उल्लेख गरे । उनले भने, ‘मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखें । आफैंलाई झल्न नसकिंदो रहेछ, र जे थियो त्यही लेखें । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखें ।’

कार्यक्रमको सभापतित्व भुवनहरि सिग्देलले सबैलाई धन्यवाद दिँदै भने, ‘कृष्णजीको पुस्तक धेरै नै फरक र योग्य भएकाले नै पेजटर्नरले प्रकाशन गरेको हो ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर