नेपालमा एक महिना बिताएका दुई फ्रान्सेली विद्यार्थी : यी छ कुरामा छक्क परे (भिडियो)
काठमाडौं । फ्रान्समा सय वर्षपछि दोस्रोपटक पेरिस ओलम्पिक हुँदै थियो । तर, फ्रान्सका विद्यार्थीहरु भने ओलपिम्पकको ऐतिहासिक माहोल छाडेर नेपालको दुर्गम गाउँमा आए । यसमा उनीहरुलाई गुनासो नभएको सुनाउँछन् । मिसन गणेश हिमाल एसोसिएसनमा जोडिएर फ्रान्सका विद्यार्थीहरु धादिङको रुवी उपत्यकामा एक महिना बिताएर स्वदेश फर्किएका छन् ।
जुलाईमा देश छोडेका उनीहरुले स्वयंसेवा गर्ने, हाइकिङ गर्ने र नजिकैको गणेश हिमालको मनमोहक दृष्यपान गरेका २४ वर्षका जुुलियन क्रेमर र एलिस बिचर्डले देश फर्किनु एक साँझ अघि साउन २४ मा नेपाल प्रेससँग नेपाल अनुभव सुनाए ।
भने, ‘हामीले बाँचेको जीवनमा धेरै गुनासो थियो । तर, त्यो त लक्जरी पो रहेछ । जीवनमा गुनासो नगर्ने कुरा नेपालबाट सिकियो । नेपाली गाउँबाट सिकियो ।’
आफूले फ्रान्सेली खाना र मासु मिस गरेपनि ‘दाल भात पावर ट्वान्टी फोर आवर’ सुन्दा र खाँदा उनीहरुलाई मजा आएको अनुभव गरे । तर, जुलियन भन्छन्, ‘एक दिनमा एकपटक मात्रै दाल भात खानु त ठीकै हो । दुई पटक त गाह्रो ।’
उनले हरेक दिन रुवी उपत्यकाको खोलामा गएर नुहाएको कुरा पनि जीवनभर सम्झना रहने बताए । नेपालीको आत्मियता, नेपाली मौलिकता र नेपाली बालबालिकाको मुस्कान अनि निर्दोषिताले धेरै तानेकोमा जुलियन र एलिस दुवैले बताए ।
फ्रान्सबाट नेपालमा स्वयंसेवा गर्न आउने १२ औं ब्याच हो उनीहरुको नेपाल आगमन । जुलियन र एलिसको नेपाल आगमनका अनुभवलाई समेटेर नेपालबारे उनीहरुलाई छक्क पार्ने ६ विषयको चर्चा गरिएको छ ।
१. नेपालमा हिन्दू बाहुल्यता
जुलियनले नेपालबारेमा केही भिडिओ हेरेका थिए । त्यसमा बौद्ध धर्म मात्रै देखाइएको थियो । सोचे– नेपाल बौद्ध देश हो । तर, जब नेपाल आएर हेरे अनि देखे हिन्दूहरु । उनलाई नेपालमा बहुसंख्यक हिन्दू छन् भन्ने जानकारी नै थिएन । यसले उनलाई छक्क बनायो ।
२. दुर्गम गाउँमा चर्च
जुलियनले फ्रान्स छोडेर नेपालको पूर्वाधार अभाव भएको दुर्गम गाउँ पुग्दा चर्च भेट्ने कल्पनै गरेकी थिइनन् । तर, उनले चर्च भेटिन् । केही समय प्रार्थाना पनि गरिन् । यसमा उ उनी छक्क परिन् । उनलाई छक्क पार्ने अर्को कुरा पनि छ । गाउँमा चर्च बनाउने वा बौद्ध धर्मबाट इसाई बनाउनेहरु यूरोपेली थिएनन् । कोरियाली थिए । योबारेमा एलिस भन्छन्, ‘कोरियामा इसाई धर्म पुगेको केही सय वर्ष मात्रै भएको छ । उनीहरु मिसिनसरी भएर नेपाल आइसकेका रहेछन् ।’
३. फरर फ्रान्स बोल्ने कयौँ नेपाली
जुलियन र एलिस नेपाल आउँदा फ्रान्सेली भाषा बोल्ने कल्पेनै थिएनन् । अंग्रेजी बोल्ने उनीहरुले नेपालमा फ्रान्सेली भाषा बोल्ने मान्छे भेट्ने कल्पेका थिएनन् । किनभने उनीहरुलाई थाहा थियो– नेपाल फ्रान्स भन्दा धेरै टाढा छ । नेपाल छेउछाउ फ्रान्सको उपनिवेश पनि भएको थिएन । एलिस र जुलियन दुवैले फ्रान्सेली भाषा फरर बोल्ने देख्दा नौलो माने । रमाइलो माने । यसले फेरि नेपाल आउन उर्जा मिलेको उनीहरुले सुनाए ।
४. आमाभन्दा छोरीको अंग्रेजी राम्रो
रुवी उपत्यकामा बस्दा विद्यालयका विद्यार्थीलाई चाहिएका केही शैक्षिक सामाग्री सहयोग गरे उनीहरुले । सहयोग र स्वयंसेवामा आउनुभन्दा अगाडि उनीहरुले भाषाको समस्या सोचेका थिए । त्यो भएन । एलिस भन्छिन्, ‘सबैले सामान्य अंग्रेजी बोल्ने बुझ्ने । आमाभन्दा छोरीको अंग्रेजी राम्रो रैछ ।’ उनले फ्रान्समा जस्तै नेपाली बालबालिकाहरु पनि भिडिओ गेममा झुमेको देखेर उनीहरु अचम्ममा परेका थिए । किनभने उनीहरुलाई लाग्थ्यो नेपालमा यस्तो कुनै तनाव छैन जस्तो लागेको थियो ।
५. मनसुनले नदी बन्ने बाटाे
एलिस र जुलियनले धेरै हाइकिङ गरे । हिमाल हेर्न विभन्न डाँडाकाँडा टेके । यो नेपालमा आउने अटम सिजनको ट्रेकिङ समय त थिएन । मनसुन सिजनै भएपनि फ्रान्सबाट आएपछि केही हाइकिङ र ट्रेकिङ त गर्नुपर्यो । उनीहरुले गरे । त्यसका केही रोचक अनुभव छन् । ह्वार्र पानी पर्न मात्रै लागेको के थियो ।
उनीहरुले हिँड्दै गरेको बाटो अचानक नदी बन्यो । एलिसलाई त बगायो । धन्न गाइडले जोगाए । आफूलाई गाइडले नतानेको भए ज्यान धरापमा हुने एलिस बताउँछिन् । उनीहरुलाई केही पानी पर्नासाथ बाटो नदी बन्ने कुरा जीवनमै नयाँ लाग्यो । पहिरो आएकोले पहिरो छल्न झण्डै आधा दिन हिँड्नु र जुकाले टोकेर हैरान पार्नु अर्का रोचक अनुभव छन् । तर, ती अनुभवले छक्क चै पारेनन् । उनीहरुले मनसुन र हिमाली क्षेत्रमा यत्ति हुने अनुमान चै गरेका थिए ।
६. दुर्गमका नेपालीको भारी बोक्ने शक्ति फ्रान्समा पनि गाउँमा इन्टरनेट छैन
नेपालको उनीहरु पुगेको गाउँमा पनि थिएन । फ्रान्समा जस्तै नेपाली गाउँमा पनि मौलिकपना छ । दुवै देशका बालबालिकाहरु मोबाइल तथा भिडिओमा झुमिने कुराहरु एकै लाग्यो । नेपालको भौतिक पूर्वाधार कमजोर लाग्यो उनीहरुलाई ।
भौतिक पुर्वाधार कमजोर भएपनि नेपालीको शक्ति देखेर भने उनीहरु चकित भए । जुलियन भन्छन्, ‘हामी ट्रेक जाँदा हाम्रो सामान्य भारी पनि धेरै भइरहेको थियो । २२ वर्ष हाराहारीका प्रवीण गुरुङ नामका एक भरिया ५० केजी भारी बोकेर ठमठमी हिँड्थे ।’ प्रवीण र उनी जस्ता बलिया नेपालीहरु देखेर जुलियन भने, ‘सायद यो दाल भात पावर होला ।’