विजयकृष्ण मुर्तिको चारित्रिक प्रमाणपत्रबारे प्रहरीले छानबिन गर्दै, डीएसपीको नेतृत्वमा समिति गठन – Nepal Press

विजयकृष्ण मुर्तिको चारित्रिक प्रमाणपत्रबारे प्रहरीले छानबिन गर्दै, डीएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । पशुपतिमा आयोजित कोटिहोमका संकल्पकर्ता विजयकृष्ण मुर्तिले प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्रबारे नेपाल प्रहरीले छानबिन थालेको छ । काठमाडाैं प्रहरी परिसरले डीएसपी दिपेश बस्यालको नेतृत्वमा समिति बनाएर छानबिन सुरु गरेको हो ।

ठगी मुद्दामा जेल सजाय भोगिसकेका भण्डारीले तीन महिना अगाडि मात्रै प्रहरीबाट लिएको चारित्रिक प्रमाणपत्र मिडियामा सार्वजनिक भएको थियो । उक्त प्रमाणपत्रमा उनको क्रिमिनल रेकर्ड लुकाइएको छ ।

यसैको आडमा भण्डारीले आफूलाई निस्कलंक दावी गर्दै आएका छन् । प्रहरीबाट उनले यस्तो प्रमाणपत्र कसरी हत्याए भन्ने खुलेको छैन । प्रहरी प्रधान कार्यालयकै लेटरहेड रहेको प्रमाणपत्रमा निरिक्षक उद्धव पोखरेलले हस्ताक्षर गरेका छन् ।

यही प्रमाणपत्रको विषयमा बुझ्नलाई शुक्रबार राति भण्डारीलाई नियन्त्रणमा लिन खोजीएको प्रहरीको भनाइ छ । तर, कोटीहोम स्थलमा पुगेको प्रहरी टोलीलाई भण्डारीका समर्थकले अवरोध गरेका थिए ।

प्रहरी पक्राउ नगरिकन रित्तो हात फर्किएको थियो । अब यो विषयमा सबै अनुसन्धान छानविन समितिले गर्ने स्रोतको भनाइ छ । समितिले सुरुमा आन्तरिक छानविन गर्ने र आवश्यकता अनुसार भण्डारीलाई सोधपुछका लागि बोलाउने स्रोतले जानकार दियो ।

यसअघि कोटिहोममा भएको लफडाको विषयमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले पनि एक समिति बनाएको छ । जिप्रका काठमाडौंका सहायक सीडीओको संयोजकत्वमा ७ सदस्यीय समिती बनाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर