सरुवा भएका ५९ सहसचिवको नामावली सार्वजनिक, को कहाँ पुगे ?
काठमाडौं । सरकारले सरुवा गरेका ५९ सहसचिवको नामावली सार्वजनिक भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले उपलब्ध गराएको हो ।
सरुवा सूचीअनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीको प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश सरुवा भएको छ । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेर राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा खटाइएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।
यस्तै सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको राष्ट्रिय सूचना आयोगमा सरुवा हुँदा हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।
मन्त्रिपरिषद् बैठकले सरुवा गरेका अधिकांश सहसचिवले सरुवा भएको कार्यालयमा पुगेर जिम्मेवारी पूरा गरिसकेको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका सहसचिवको नामावली सार्वजनिक गरेको थिएन ।